समाज


जेनीको साहस : एसिड आक्रमणको पीडा बिर्सँदै मोडल हन्टमा

जेनीको साहस : एसिड आक्रमणको पीडा बिर्सँदै मोडल हन्टमा

यज्ञराज जोशी
फागुन २, २०७७ आइतबार १५:५०,

दुई वर्षअघि एसिड आक्रमणमा परेपछि जेनी खड्का आफूजस्तै पीडितहरुको मनोबल उच्च बनाउन प्रयासरत छन।

एसिड आक्रमणमा परेकाहरुले आफ्नो जीवन बर्बाद भयो भन्दै आत्मविश्वास गुमाउने गरेको अनुभव उनी स्वयंको छ। त्यसैकारण उनी सामाजिक कार्यक्रममा खुलेरै उपस्थित भई ‘जीवन अझै बाँकी छ’ भन्ने सन्देश दिन्छिन।

यस्तै एक कार्यक्रमका लागि केही समयअघि उनले फोटोसुट गरेकी थिइन। जसको उद्देश्य थियो– एसिडपीडितहरु पनि समाजमा खुलेर बाँच्न सक्छन भनेर देखाउनु।

त्यसबेला उनको फोटोसुटले उनीजस्तै पीडितहरुको आत्मबल बढेको उनलाई महशुस भयो। उनीसँगै अन्य पीडित पनि खुलेर आउन थालेका थिए।

त्यतिबेलादेखि नै उनलाई पीडितहरुको आत्मबल बढाउन थप केही पहलकदमी लिने मन पलायो। उनलाई सशक्तरुपमा आवाज पस्कन मनोरञ्जन क्षेत्र उपयुक्त हुने लागेको थियो। त्यसैअनुसार उनी उचित अवसरको खोजीमा थिइन्।

Jenny ModelHunt 2

उनका लागि त्यो अवसर ‘मोडल हन्ट’ बन्यो। एसिड आक्रमणविरुद्ध जुटेका अभियन्ता उज्जवलविक्रम थापाले उनलाई मोडेल हन्टमा सहभागी हुन् प्रोत्साहित गरे। त्यसलाई उनले सहर्ष स्वीकार्दै शनिबार पहिलो अडिसन पनि दिएकी छन।

‘फोटोसुटले फरक पार्नसक्छ भने अझै अघि बढे मजस्ता पीडितहरुको आत्मविश्वास बढ्छ भन्ने पहिलैदेखि लागेको थियो,’ जेनीले भनिन्, ‘हामीलाई अगाडि बढ्न एसिड आक्रमणले रोक्न सक्दैन भन्ने सन्देश दिन मैले मोडलहन्टमा अडिसन दिएकी हुँ।’

२०७६ जेठमा काभ्रे फुलबारीकी जेनीमाथि काठमाडौंको कालोपुलमा उनकै श्रीमानले एसिड प्रहार गरेका थिए। एसिडले उनको हात, घाँटी र शरीरको भाग जलेको छ। दाहिनेतर्फ घाँटी र शरिरको तल्लो भाग जलेकाले छाला तन्किएर दुख्छ। उनले चाहेको जस्तो सबै लुगा लगाएर हिड्न सक्दिनन्।

मोडलहन्ट यस्तो कार्यक्रम हो जहाँ आकर्षक युवा युवतीहरुले प्रतिस्पर्धा गर्छन्। उनीहरुको सुन्दरता, बौद्धिकता जाँचिन्छ। त्यसैका आधारमा विजेता उपविजेता घोषणा गरिन्छ। विजेता तथा आकर्षक प्रस्तुति गर्ने सहभागीले फिल्म चलचित्रमा पनि सहभागिताको मौका पाउँछन।

पहिलोपल्ट शनिबार अडिसन दिन गएकी जेनीलाई आयोजकले अरु प्रतियोगीजस्तै सामान्य व्यवहार नै गरेको थियो। पहिलो चरणको अन्तर्वार्तापछि उनी दोस्रो चरणमा छनोट भएको खबर आइतबार पाइसकेकी छिन।

अब उनले शारीरिकरुपमा आकर्षक देखिने युवायुवतीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। एसिडले जलेको शरिर नै आफ्नो बलियो पक्ष रहेको उनी बताउछिन।

Jenny ModelHunt 3

‘बौद्धिकता वा सुन्दरताबारे हरेकको सोच फरक हुनसक्छ,’ उनी भन्छिन्, ‘म मेरो जलनलाई ब्युटी मान्छु। यो मेरो बलियो पक्ष पनि हो। यसले मानिसहरुलाई मप्रति आकर्षित गर्न सहयोग पुर्याउँछ।’

मोडलहन्टमा जेनीको स्पष्ट लक्ष्य छैन। उनी जे आउँछ त्यो गर्ने मुडमा छिन। हरेक चरणबाट आफूजस्तै पीडितहरुको आत्मविश्वास जगाउने प्रयास रहने उनको भनाइ छ।

‘एसिड पीडितहरु हाम्रो समाजमा खुलेर अघि बढ्न समेत सक्दैनन। उनीहरुलाई बाहिर निस्कन गाह्रो परिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘उनीहरुलाई उप्रेरित गर्न म यसरी पब्लिक इभेन्टमा आएकी हुँ।’

एसिड आक्रमणविरुद्ध सक्रिय अभियन्ता उज्ज्वलविक्रम थापा यस घटनासँगै अब तेजाब आक्रमणमा परेकाहरु लुकेर बस्ने दिन गएको बताउछन।

‘सौन्दर्यता पुनः परिभाषित हुनुपर्छ भन्ने सकारात्मक सन्देशका साथ तेजाब आक्रमणविरुद्धकी योद्धा जेन्नीले मोडल हन्ट प्रतिस्पर्धामा भाग लिएकी छिन,’ थापाले भने, ‘जित हार प्रतिस्पर्धाको एउटा स्वाभाविक पक्ष हो। तर सहभागी हुने उनको हिम्मत र अठोट देख्दा गर्व लागेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .