समाज


अम्बानीको घरमा विस्फोटक पदार्थ : निलम्बित प्रहरी अधिकारी वझेविरुद्ध ठूलो मुद्दा

अम्बानीको घरमा विस्फोटक पदार्थ : निलम्बित प्रहरी अधिकारी वझेविरुद्ध ठूलो मुद्दा

नेपालखबर
चैत ११, २०७७ बुधबार १३:४२,

भारतका उद्योगपति मुकेश अम्बानीको घर एन्टिलिया भवनबाहिर विस्फोट पदार्थ हालेर स्कार्पियो गाडी छाडिएको प्रकरणमा पक्राउ परेका मुम्बई प्रहरीका अधिकारी (हाल निलम्बित सहायक प्रहरी निरीक्षक) सचिव वझेको संकट कम हुने कुनै संकेत देखिएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार बरु उनीविरुद्ध राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) लगाएको छ।

यसअघि यस प्रकरणको अनुसन्धान महाराष्ट्र आतंकवादविरोधी दस्ता (एटीएस) ले गरिरहेकोमा ठाणेस्थित अदालतले अब यसको जिम्मा एनआईएलाई सुम्पिएको हो।

के हो यूएपीए ऐन?
यूएपीएअन्तर्गत देश तथा देशबाहिर हुने गैरकानुनी गतिविधि रोक्न कडा प्रावधान बनाइएको छ। सन् १९६७ मा बनेको यो कानुनमा सरकारले केही संशोधन गरेर अझ कडा बनाएको छ। यो कानुन देशभर लागू हुन्छ। यो कानुनले राष्ट्रिय अनुसन्धान एजेन्सी (एआईए) लाई कुनै पनि किसिमका आतंकवादी गतिविधिमा संलग्नलाई आतंकवादी घोषणा गर्न सक्ने अधिकार दिएको छ।

गत फेब्रुअरी २५ का दिन उद्योगी अम्बानीको घरबाहिर विस्फोटक पदार्थ जिलेटिनले भरिएको तथा अम्बानीको परिवारै सिध्याइदिने धम्की दिइएको पत्रसमेत राखिएएको एउटा स्कार्पियो गाडी बेवारिसे रूपमा फेला परेको थियो। जुन गाडी आफ्नो भएको र हराएको भन्ने व्यवसायी मनसुख हिरेनको पनि केही दिनपछि शव भेटियो। जसले गर्दा घटना झन् रहस्यमय भयो।

त्यसपछि हिरेनकी पत्नीले मुम्बईका तत्कालीन सहायक प्रहरी निरीक्षक सचिन वझेले आफ्ना पतिको हत्या गरेको हुन सक्ने आशंका व्यक्त गरिन्। यसैकारण सचिन वझेलाई गिरफ्तार गरिएको हो। पछि सीसीटीभी फुटेजमा पनि अम्बानीको घरमा विस्फोटक पदार्थसहितको स्कार्पियो छाडेर जाने व्यक्ति सचिन नै भएको ठहर अनुसन्धानकर्ता निकायले गरेको छ।

यही काण्डका कारण मुम्बई प्रहरी आयुक्त परमवीर सिंहसमेत सरुवा भइसकेका छन् भने उनले महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले वझेलाई मासिक सय करोड रुपैयाँ असुली गर्न लगाएको आरोप लगाउँदै मुख्यमन्त्रीलाई पत्र पठाएपछि अहिले महाराष्ट्रको सरकारै धरापमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

याे पनि : अम्बानी प्रकरण : फेला पर्‍यो महत्त्वपूर्ण डायरी, ठूलो रहस्य खुल्ने अपेक्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .