ad ad

समाज


नेपालमा गैँडाको संख्या ७५२ पुग्यो, पछिल्लो ६ वर्षमा १०७ थपिए

नेपालमा गैँडाको संख्या ७५२ पुग्यो, पछिल्लो ६ वर्षमा १०७ थपिए

नेपालखबर
चैत २८, २०७७ शनिबार १३:४१,

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ।

पछिल्लो ६ वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्यांकले देखाएको छ। राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको संख्या ७५२ पुगेको जानकारी दिए। यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैँडा थिए।

शुक्रबार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन्। यो संख्या सन् २०१५ मा ६०५ मात्रै थियो। पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन राष्ट्रिय निकुञ्जमा गैँडाको संख्यामा वृद्धि भएको ओलीले बताए। ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैँडा भेटिएको छ।

त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैँडा भेटिएको ओलीले बताए। पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन मात्रै गैँडा फेला परेको ओलीले बताए। अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो। राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ गैँडाको लिंग पहिचान हुन सकेको छैन।

पाँच सय २० वयस्क गैँडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैँडा भेटिएको ओलीले जानकारी दिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताए। गणना सकिएपछि शुक्रबार र शनिबार तथ्यांक संकलन तथा प्रविष्ट गर्ने काम भएको उनको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिए। गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको तथा एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार हुँदै गरेको उनले बताए।

हात्तीले आक्रमण गरेपछि एक दिन र होलीको दिनमा गैँडा गणना हुन नसकेको भन्दै खरालले अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको जानकारी दिए। पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .