कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा सार्वजनिक सवारीसाधान सञ्चालन तथा यात्रामा नयाँ नियम लागु गरिएको छ।
सरकारले देशभरका लागि व्यवस्था गरेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार काठमाडौं जिल्ला प्रशासनले जारी गरेको आदेशमा काठमाडौंभित्र सञ्चालन गरिने तथा बाहिर जाने सार्वजनिक सवारीसाधनका लागि ८ नियम अनिवार्य पालना गर्न भनिएको हो।
जारी सूचनाअनुसार सार्वजनिक सवारीसाधन सञ्चालन तथा प्रयोग गर्दा पालना गर्नुपर्ने ८ नयाँ नियम यस्ता छन् :
१. सिट क्षमताभन्दा बढी यात्रु नराख्ने
२. सबै यात्रुलाई मास्क अनिवार्य गराउने
३. सवारीसाधनको ढोकामा र भित्र सेनिटाइजर व्यवस्था गर्ने
४. चालक र सहचालकले मास्क र भाइजर लगाउने
५. सवारीसाधनलाई दैनिक रूपमा निसंक्रमित (संक्रमणरहित) गर्ने
६. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा रु. १० लिई मास्क उपलब्ध गराउने
७. मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश गर्न नदिने
८. लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंलाई उपलब्ध गराउने।
अन्यथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
यो पनि : काठमाडौंमा पालना गर्नुपर्ने १३ बुँदे निर्देशन जारी, नगरे कारबाही हुने

प्रतिक्रिया