नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुनेबित्तिकै जाँच गराउन चिकित्सकले आग्रह गरेका छन्।
वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने? के नगर्ने?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा.सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे।
सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गर्न उनले आग्रह गरे। ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन्।
सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकहरुले बताएका छन्।
पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरिएको थियो। तर, दोस्रो चरणमा धेरै युवालाई यो संक्रमणले समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले जोड दिएका हुन्। बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिए।
जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ। प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले आग्रह गरे। छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव छ। दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासले बताएका छन्। दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ।
कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिकरूपमा कार्यक्रम आयोजना गरिएको बताए।
महाअभियानले प्रत्येक दिन बिहान साढे छ बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ। रासस
Shares

प्रतिक्रिया