अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो।
जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने,“सम्बन्धित सबैले कोरोनाको उत्पत्तिको विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ। अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ।”
“यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ। वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ। भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ” उनी भन्छन्।
डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स–कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको बताएका छन्।
हाल अमेरिकाले डब्लूएचओको अनुसन्धानलाई विश्वसनीय नठानेर आफ्ना वैज्ञानिकलाई यसको उत्पत्तिबारे छुट्टै अनुसन्धान गर्न भनेको छ।
अमेरिकी संचारमाध्यममा चीनको प्रयोगशालामा कोरोना भाइरस निर्माण गरिएको आरोप लगाइएको छ। राष्ट्रपति जो बाइडेनले पनि डब्लूएचओको अनुसन्धान बेवास्ता गर्दै कोरोना चीनको ल्याबमै बनेको विषयमा अघोषित रुपमा जोड दिइरहेका छन्।
यसरी चीनलाई कोरोना फैलनुमा आरोप लगाउँदै आफ्नो अनुसन्धानमा प्रश्न उठाएपछि डब्लूएचओले भाइरसको विषय राजनीतिकरण नगर्न भनेको हो।
डब्लूएचओले भनेको छ, “कोरोनाको विषयमा भएको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।”
भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको निर्देशक रायन बताउँछन्।
प्रतिक्रिया