समाज


यसपटक नेपालमा ‘धेरै वर्षा गराउने’ मनसुन आइपुग्यो केरला

यसपटक नेपालमा ‘धेरै वर्षा गराउने’ मनसुन आइपुग्यो केरला

नेपालखबर
जेठ २१, २०७८ शुक्रबार २:१,

नेपाल भित्रिने मनसुन (वर्षा याम सुरु गराउने मौसमी प्रणाली) भारतको केरला आइपुगेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बंगालको खाडीमा विकसित मनसुन हिजो (बिहीबार) बेलुका केरला आइपुगेको भारतीय मौसमविद्ले जानकारी दिएका हुन्।

‘अब त्यो बिस्तारै मास्तिर आउँछ,’ मौसमविद् मानन्धरले शुक्रबार बिहान नेपालखबरसँग भनिन्, ‘एक हप्ताभित्र नेपाल भित्रिन्छ कि भन्ने अनुमान छ।’

 उनका अनुसार यस वर्षदेखि नेपालमा मनसुन भित्रिने सामान्य मिति जुन १३ तारिखलाई तोकिएको छ। हरेक १०/१० वर्षमा मनसुन भित्रिने औसत मिति परिवर्तन हुने गर्छ। जसअनुसार सन् २०१० देखि गत वर्ष २०२० सम्म नेपालमा मनसुन भित्रिने सामान्य मिति जुन १० तारिख थियो भने मनसुन भित्रिन केही ढिला ढिला हुँदै गएकाले सन् २०२१ यता त्यो मिति जुन १३ लाई तोकिएको हो।

‘यही आसपास मनसुन नेपालमा भित्रिन्छ भन्ने अनुमान छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘तर कहिलेकाहीँ अलि चाँडै पनि हुन्छ, कहिलेकाहीँ अलि ढिला पनि हुन सक्छ, १०/१२ दिन पनि लाग्न सक्छ, तैपनि एक हप्ताभित्र भित्रिने अनुमान गरेका छौं।’

यस वर्ष अघिल्ला वर्षा याममा भन्दा अलि बढी नै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।

‘धेरै कुराको अध्ययनपछि हामीले त्यस्तो अनुमान गरेका हौं, यस वर्ष औसतभन्दा अलि बढी नै वर्षा हुने आकलन छ,’ मौसमविद् मानन्धरले भनिन्।

जसले गर्दा बाढी, पहिरो, डुबान, कटान यस वर्ष अलि बढी हुने अनुमान मौसमविद्ले गरेका छन्।

‘यो अहिलेसम्मको अध्ययनको निष्कर्ष हो,’ मौसमविद् मानन्धरले भनिन्, ‘तर पनि मनसुन आइसकेपछि यस विषयमा थप कुरा भन्न सकिन्छ।’

यस वर्षको मनसुनमा अलि बढी नै जोखिम हुने चेतावनी केही दिनअघि (जेठ १७ गते) राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिइसकेको छ।

यो पढ्नुहोस् : यो वर्षको मनसुनमा बढी जोखिम हुन सक्छ

आजको मौसम

अहिले भने देशमा प्रिमनसुन जारी छ। यस सिजनमा वर्षाभन्दा पनि मेघगर्जन र चट्याङको सम्भावना बढी हुन्छ।

मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भेगका एक–दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि छ।

यस्तै आज राति पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने हाम्रो देशको बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .