गोरखाका विभिन्न ५ वटा स्थानीय तहहरुलाई कोरोना संक्रमणविरुद्ध जुध्न सहयोग पुर्याउने उद्देस्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री प्रदान गरिएको छ। ‘सम्भव छ नेपाल’ नामक संस्थाले स्थानीय तहहरुलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहहरुलाई उपलब्ध गराएका हुन्। गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
संस्थाले जिल्लाका विभिन्न अन्य स्थानीय तहहरुका लागि एम्बुलेन्स समेत गरी करिब १ करोड रुपैयाँ बराबर सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए। त्यस्तै संस्थाले कोरोना संक्रमणका विरुद्ध लड्न सहयोग पुर्याउन ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भीटीएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहहरुलाई उपलब्ध गराएको छ।
त्यस्तै ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर लगायत पीपीई सेट, फेससिल्ड पनि स्थानीय तहहरुलाई प्रदान गरिएको उनले बताए। गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा रु १२ लाख रुपैयामा खरिद गरिएको संस्थाले जनाएको छ। रासस

प्रतिक्रिया