समाज


तिजको दिन पशुपतिनाथ जाँदै हुनुहुन्छ? यस्तो दर्शनको व्यवस्था

तिजको दिन पशुपतिनाथ जाँदै हुनुहुन्छ? यस्तो दर्शनको व्यवस्था

नेपालखबर
भदौ १५, २०७६ आइतबार १२:१४,

यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो।

पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।

यसैगरी तेस्रो लाम एयरपोर्टतर्फबाट–पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। वैकल्पिकरूपमा विसं २०६५ देखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि उपयोग गर्न लागिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताए।

कोषले लामो समयदेखि पूर्वी ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको हो।

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउनको सोमबार जस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो। भदौ १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गरी बढीमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लामको व्यवस्था गरिनेछ। सामान्यतया आधा घण्टामा भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिनेछ।

नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै शनिबारदेखि सादा पोशाकका प्रहरी खटाइसकिएको छ। मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन्। शान्तिसुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ। पशुपति परिसरमा कम्तीमा पनि सात लाख दर्शनार्थी प्रवेश गर्ने प्रारम्भिक अनुमान गरिएकाले बहुमूल्य सामग्री घरमै राखी दर्शनमा आउन अनुरोध गरिएको छ। साना बालबालिकालाई मन्दिरमा नल्याउन पनि अनुरोध गरिएको छ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी नम्बर प्लेटका सवारीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभाग एवं अन्यत्रका स्थलमा बाँकी सवारी पार्किङ गर्ने प्रबन्ध गरिएको छ।

जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायत स्थान छुट्याइएको छ। नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंशमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ।

सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ। कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ। ६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो।

तीजका अवसरमा भदौ १६ गते बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिनेछ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिनेछ। हरितालिका ९तीज० पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad