विद्युतीय चुरोटमार्फत् मानिसहरु भेपिङ गर्दछन्। (विद्युतीय चुरोटमार्फत् धुवाँ तान्ने र फ्याँक्ने कार्यलाई भेपिङ भनिन्छ।)
अमेरिकामा हालै भेपिङ गर्ने बानी परेका एक १८ वर्षका किशोरको झन्डै ज्यान गयो। गत महिना अमेरिकी राज्य इलिनोइका आडम हर्जेनरेडर्स अस्पताल भर्ना भएका थिए।
उनले विद्युतीय चुरोटको सेवन गरेको डेढ वर्ष भएको थियो। उनी भेपिङ गर्न रुचाउँथे। यतिबेला उनको फोक्सो ७० वर्षका वृद्धको जस्तो भएको चिकित्सकहरुले बताएका छन्।
डाक्टरले उनको बिमारको बारेमा भनेका कुरा सम्झँदै आडम भन्छन्,‘यो सानो बस्तुले मेरो फोक्सोलाई यति ठूलो असर गर्यो भनेर सम्झँदा अझै निकै डर लाग्छ।’

आडम अमेरिकाका हजारौं युवाजस्तै विद्युतीय चुरोटको सेवनकर्ता थिए। भेपिङबाट फोक्सो सम्बन्धी रोगी विशेषगरी युवाहरु बढ्दै गएको अमेरिकी अधिकारीहरुको भनाइ छ।
अनुसन्धानमा के कारणले यति ठूलो असर गर्छ भन्ने पत्ता लाग्न नसकेको जनाइएको छ।
विद्युतीय चुरोट पड्किएर अमेरिकामा दशभन्दा बढीको ज्यान गइसकेको खबर छ। हाल यसले फोक्सोलाई नै असर गर्ने खबरहरु आएपछि अमेरिकामा सरकारले विद्युतीय चुरोट नियन्त्रण गर्ने योजना बनाएको छ।
विभिन्न स्वादका विद्युतीय चुरोटहरु अमेरिकामा पाइन्छन्। ट्रम्प प्रशासनले भने सुर्तीको स्वादको विद्युतीय चुरोटमात्र प्रयोग गर्न पाउने नीति ल्याउन लागेको बताइएको छ।
आडम आफ्नो फोक्सो पहिलाजस्तो हुनेमा ढुक्क छैनन्। उनी एथ्लेटिक्सका विद्यार्थी हुन्। उनको चाहना रेस्लर बन्ने हो।
तर फोक्सोको रोग लागेपछि उनी यतिबेला उपचार गराइरहेका छन्। सीएनएन

प्रतिक्रिया