लमजुङको मर्स्याङदी गाउँपालिका-४, स्याँगेमा पहिरो जाँदा मनाङ जाने सडक बन्द भएको छ।
बेंसीसहर-चामे सडकअन्तर्गत स्याँगेको घुम्तीमा शनिबार बेलुका पहिरो गएको हो।
उक्त पहिरोमा परी काठमाडौंबाट बेंसीसहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बर स्करपियो जिप पुरिएको छ।
पहिरोले सवारी साधनमा क्षति पुर्याए पनि यात्रु भने भाग्न सफल भएका छन्।
जिपमा चालकसहित ५ जना थिए।उनीहरु पहिरोबाट जोगिएको प्रहरीले जनाएकाे छ ।
सडक माथिबाट एक्कासि आएको ढुंगासहितको पहिरोले जिपको अगाडिको भागमा हानेपछि जिपमा सवार सबै जना भागभाग भएका थिए।
स्याँगेका दुईवटा बजारको बीचतिर पर्ने माथिल्लो घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीयले बताएका छन्।
जसले गर्दा बेंसीसहरबाट मनाङ जाने र मनाङबाट बेंसीसर आउने सवारीसाधन रोकिएका छन्। डिभिजन सडक कार्यालय दमौलीसंगको समन्वयमा सडक खुलाउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया