समाज


जलेश्वरको त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

जलेश्वरको त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो

नेपालखबर
असोज १२, २०७६ आइतबार ६:११,

बडा दशैँको घटस्थापनासँगै महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर आइतबार बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि सर्वसाधारणका लागि खुला गरिएको छ।

प्रत्येक वर्ष केवल दशैँको दश दिन मात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए।

दशैँभरिका लागि मात्रै खुला रहने यस मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ। त्रिशूल धारण गरेकी त्रिशूली देवी भवानीको मन्दिर वर्षभरि खोलिँदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैन। तर, दशैँमा पुजारीले उनको दश दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताए।

जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात रहेको छ भने यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दशैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्।

दशैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरुले पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ, त्यसैले दशैँभरि त्रिशूली देवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ।

त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एक पटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad