समाज


भारतीयले बनाउँदैछन् चिनियाँ राष्ट्रपतिका लागि काठमाडौंमा स्वागतद्वार

भारतीयले बनाउँदैछन् चिनियाँ राष्ट्रपतिका लागि काठमाडौंमा स्वागतद्वार

कृष्ण आचार्य
असोज २३, २०७६ बिहिबार १२:३,

चिनियाँ राष्ट्रपति सी चिङफिङको स्वागतका लागि नेहाल यादवले काठमाडौंका पर्खाल रंगाउन थालेको ६ दिन भयो। नेपालीले दशैँको उल्लास मनाइरहँदा उनी त्रिपुरेश्वर–थापाथली खण्डको रेलिङमा पेन्ड गर्दै थिए। उनी भारतीय नागरिक हुन्।

वीरगञ्ज पारिपट्टिको सीमावर्ती सहर रक्सौल स्थायी घर भएका उनी केही महिनादेखि काठमाडौंमा छन्। उनीसँगै ३५ जनाको टोलीले सी स्वागतका लागि रेलिङ तथा पर्खालमा पेन्ट गरिरहेको छ।

निकै मिहिनेतपूर्वक काम गरिरहेका नेहाललाई काठमाडौंमा को आउँदैछ भन्ने जानकारी छैन। ‘चिनियाँ प्रधानमन्त्री आउँदैछन् भन्ने सुनेको हो’, उनी भन्छन्, ‘हामीलाई ६ घन्टा काम गरेबापत ५ सय रुपैयाँ दिइएको छ।’

gate3
चिनियाँ राष्ट्रपति सीको स्वागतद्वार बनाउन परिचालन भएका भारतीय नागरिक दीपक जैसवाल र उनका साथी। तस्विरः प्रविन कोइराला

काठमाडौं बनेश्वरको बिजुलीबजार पुल नजिकै स्वागत गेट बनाउने तयारी भइरहँदा भेटिए अर्का भारतीय नागरिक दीपक जैसवाल। उनको टोलीका सबै ८ जना नै भारतीय नागरिक हुन्। दीपक र उनको टोली बुधबार रातिदेखि चिनियाँ राष्ट्रपतिको स्वागतका लागि गेट निर्माण गर्ने काम गरिरहेको छ।

‘हामी रातभर नै काम गरिरहेका छौं, करिब आधा घन्टा जति सुतियो होला त्योभन्दा बढी सुत्न पाएको छैन’, उनी सुनाउँछन्।

चिनियाँ राष्ट्रपतिको तस्विर अंकित फेलेक्स प्रिन्ट हातमा बोकेका उनलाई के उद्देश्यका लागि गेट बनाउन लागिएको हो भन्नेमा खासै चासो छैन।

‘चीनबाट नेपालमा कोही ठूलै मान्छे आउँदैछन्’, उनी यति मात्र भन्छन् उनी।

नेपालखबर टिमले बिहिबार दिउँसो उनको टोलीलाई भेट्दा सबै गेट बनाउने काममै केन्द्रित भइरहेका थिए।

‘आज राति पनि सुत्न पाइँदैन, रातभरि काम गर्नुछ, भोलिसम्म सक्नुपर्छ भनेका छन्’, उनी भन्छन्।

xi visit indian4विगत ६ दिनदेखि रंग लगाउने कार्यमा खटिएका रक्साैल (भारत) का नेहाल यादब। तस्विर: प्रविन कोइराला

दशैँ त्यागेर पार्क बनाए
सल्यानका विष्णु कुँवर महाअष्टमीदेखि नै तीनकुनेमा बन्न लागेको अस्थाई पार्क निर्माण गरिरहेका छन्। पार्कमा फूल, बोटविरुवा रोप्ने, दुबो बिछ्याउने र चिटिक्क पार्ने उनको जिम्मेवारी छ।

यो वर्ष उनलाई दशैँमा घर जान मन थियो। घरमा रहेका आमा र बहिनीले बाटो हेरेका थिए। तर एकाएक दैनिक पाँच सयका दरले एक महिनासम्म काम पाउने भएपछि उनले दशैँ छोडे। काम रोजे।

‘परिवारको सम्झना मनमा राखेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम गरिरहेको छु’, नेपालखबरसँग कुराकानी गर्दा गाउँ र परिवार सम्झेर उनी निकै भावुक भए।

दशैँको यो समय काठमाडौंको मौसम राम्रो हुन्छ। यही बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा काठमाडौंका मुख्य सडक सिंगारिएका छन्। दुई दिने नेपाल भ्रमणका लागि शनिबार सी काठमाडौं उत्रँदै छन्। उनको स्वागतका लागि सडकका दुई छेउमा नेपाल र चीनका झन्डा फहराइरहेका छन्। सधैँ धुलो, धुँवा र कुरुप देखिने काठमाडौंको स्वरुप एकाएक फेरिएको देख्दा सर्वसाधारण दंग छन्।

अस्थाई पार्क बनाउने, सडकका पर्खाल रङ रोगन गर्ने, सडक मर्मत गर्ने, फूलबिरुवा रोप्ने, सरसफाई गर्ने, स्वागतद्वार बनाउने, सडक छेउमा नेपालको कला संस्कृति झल्कने पोस्टर र दुई देशका राष्ट्रपतिका तस्बिर टाँग्ने काम भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटलसम्मको सडक छेउछाउ दिनरात काम भइरहेको छ।

gate2

कपन घर भएका ६७ वर्षीय लोकनाथ भट्टराई बेल्चा बोकेर सरसफाईमा खटिएका छन्। सडक डिभिजन काठमाडौंमा कार्यरत उनी दशैँ अघिदेखि सरसफाईका काम गरिरहेका छन्।

लोकनाथसहितको तीन जनाको टोलीले कुपण्डोलस्थित बागमती पुलदेखि जय नेपाल हलसम्म तथा गौशाला चोकदेखि जमलको आकाशे पुलसम्म सरसफाई गर्नेछ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाले काठमाडौं सिंगार्न ६० कर्मचारी खटाएको छ।

सडकका भित्तामा रङरोगन गर्ने, खाल्डाखुल्डी पुर्ने र पिच गर्ने कामका लागि सडक विभाग र काठमाडौं सडक डिभिजन कार्यालयले सबै कर्मचारीलाई परिचालन गरेका छन्।

‘दशैँजस्तो महान चाडमा पनि उनीहरू विदा नबसी आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेका छन्’, सडक विभागका प्रवक्ता शिवहरि सापकोटा भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .