पानी पार्ने मौसमी प्रणाली- मनसुन बाहिरिएपछि देशभर क्रमिक रूपमा मौसम सफा हुँदै गएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ।
महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिकदेखि समान्यसम्म र बाँकी क्षेत्रमा आंशिक बदली भएको छ।
मौसमविद्का अनुसार आंशिक भनेको आधाभन्दा कम बादल र सामान्य भनेको आधाभन्दा बढी बादल लाग्नु हो।
मनसुन बाहिरिएपछि देशभरको मौसम क्रमशः सुधार हुँदै गएको मौसमविद् मञ्जु बासीले बताइन्।
‘तर मनसुन बाहिरियो भन्दैमा पानी नै नपर्ने भन्ने हुँदैन,’ नेपालखबरसँग उनले भनिन्, ‘स्थानीय वायुको प्रभावले क्षणिक वर्षा हुन सक्छ।’
तर त्यो वर्षायाको जस्तो ठूलो वर्षा नहुने उनको भनाइ छ।
आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना छैन।
यस वर्षकाे मनसुन नेपालबाट शनिबार बाहिरिसकेकाे छ। यस वर्ष पूर्वी नेपालमा जुन २० मा भित्रिएकाे मनसुन अक्टोबर १२ मा बाहिरिएको हाे।
मनसुन यो आगमन औसतभन्दा १० दिन ढिलो हो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो हो। औसतमा पूर्वी नेपालमा १० जुनमा र काठमाडौंमा १२ जुनमा मनसुनी वायु आइपुग्ने गर्छ।

प्रतिक्रिया