समाज


६६ वर्षमा ७ सयभन्दा धेरै पुगे धवलागिरि चुचुरोमा

६६ वर्षमा ७ सयभन्दा धेरै पुगे धवलागिरि चुचुरोमा

वासुदेव पौडेल,सन्तोष गौतम/रासस
बैशाख ३०, २०८३ बुधबार ८:३४, म्याग्दी

धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ।

आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ। संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण दिवस मनाउन थालिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

‘पहुँच र पहलको कमीले यसअघिका धवलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो’, उनले भने, ‘धवलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित स्थानमा आरोहण दिवस आयोजना गरिएको हो।’

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्जे पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए।

गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा धवलागिरिको फेदीमा रहेको मुदीमा दिवस मनाउन लागिएको हो।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमाल, म्याग्दी १ बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुन, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरिका उपाध्यक्ष रेशम पुनमगर, पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यसहितका अतिथिहरूलाई स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका थिए।

मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीले गाउँपालिकाको केन्द्र मुनासम्म गाडीबाट पुगेका अतिथिहरूले त्यहाँदेखि पदयात्रा गरेर मुदी पुगेका बताए। उनका अनुसार सम्बन्धित भूगोलमा धवलागिरि आरोहण दिवस मनाउनुपर्ने स्थानीयवासको माग पूरा भएकामा मुदीवासी खुसी भएका छन्।

आरोहण दिवसका अवसरमा बुधबार मुदीमा धवलागिरि आरोहीहरूलाई सम्मान र अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए।

‘धवलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त पनि मानिन्छ’, उनले भने, ‘यहाँको भूबनोट र हावापानी अनौठो किसिमको छ, आधाआधा घण्टामा मौसम बदलिइरहने भएकाले धवलागिरि आरोहणलाई पर्वतारोहण क्षेत्रमा साहसिक मानिन्छ।’

धवलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० सलामी दस्तुर सङ्कलन गरेको छ। यस यामका लागि कुल चार समूहमा १८ पुरुष र १२ महिला गरी ३० जनाले धवलागिरि अरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक निशा थापा राउतले बताए।

अघिल्लो याममा यो हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए। पर्यटन विभागका अभिलेखअनुुसार ६६ वर्षको अवधिमा सात सय जनाभन्दा बढीले धवलागिरि हिमाल आरोहण गरेका छन्।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले धवलागिरि हिमाललाई पर्यटकीय रूपमा अपेक्षित उपयोग हुन नसकेकोप्रति सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताए।

हिमालसहित जोडिएका गाउँहरूको पर्यटन प्रवर्द्धन होस् भन्ने उद्देश्यले ६६औँ धवलागिरि दिवस यहाँको मुदी गाउँमा मनाउन लागिएको उनले बताए। यस हिमालमा आरोहणसहित धवलागिरि चक्रीय पदमार्गको पदयात्रामा आकर्षण बढाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad