समाज


नेपालको अवस्थाबारे भारतीय दूतावासले आफ्ना नागरिकका लागि जारी गर्‍यो ‘एडभाइजरी’

नेपालको अवस्थाबारे भारतीय दूतावासले आफ्ना नागरिकका लागि जारी गर्‍यो ‘एडभाइजरी’

नेपालखबर
असोज ४, २०८२ शनिबार ८:१२, काठमाडौँ

भारतले जेनजी आन्दोलनयता बिग्रिएको नेपालको अवस्था केही सुधार भए पनि यात्रा गर्दा अझै सावधानी अपनाउन आफ्ना नागरिकलाई सुझाव दिएको छ। 

काठमाडौँस्थित भारतीय दूतावासले आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको हो। 

नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपालको स्थितिमा केही हप्ताको तुलनामा सुधार आएको छ। सडक यातायात र उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्।’

‘यद्यपि नेपाल यात्रा गर्ने भारतीय नागरिकलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीले जारी गरेका सल्लाह पालना गर्न सल्लाह दिइन्छ।’

भारतीय दूतावासले आफ्ना नागरिकलाई सहयोग गर्न हेल्पलाइन नम्बर, आपत्‌कालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ।

सञ्चार मन्त्रालयमा सूचीकृत हुन नआएको भन्दै तत्कालीन ओली सरकारले भदौ १९ गते फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। यसको ४ दिनपछि अर्थात् भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजी (२८ वर्षमुनिको पुस्ता) ले काठमाडौँसहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको थियो। त्यस दिन सरकारले हिंसात्मक दमनको नीति अपनाउँदै गोली हानेर १९ युवाको हत्या गर्‍यो। 

आफ्ना कलिला साथी र सन्तान मारिएपछि मर्माहत भएकाहरूले भोलिपल्ट अर्थात् भदौ २४ गते जेनजी आन्दोलन अझ चर्काए। उनीहरू बिहानैदेखि तोडफोड र आगजनीमा उत्रिए। तर पनि सरकारले दमन गर्न छाडेन। आन्दोलनकारी मारिने र घाइते हुने क्रम जारी रह्यो। 

आक्रोशित आन्दोलनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार मात्र आगो लगाएनन्, नेताहरूका घरसमेत जलाए।

यस क्रममा उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई घरभित्रै पसेर कुटपिट गरे। यसपछि मात्र बल्ल राजीनामा दिँदै ओली ज्यान जोगाउन सेनाको हेलिकप्टर चढेर शिवपुरी पुगेका थिए।

भदौ २४ देखि सेनाको सुरक्षामा रहेका ओली ९ दिनपछि असोज २ गते मात्र भक्तपुरस्थित डेरा (घर त आन्दोलनकारीले जलाइदिए) मा फर्किएका छन्।

जेनजी आन्दोलनका कारण ओलीको अहंकारसँगै सत्ता ढलेपछि मुलुकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ भने नयाँ सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् (प्रतिनिधि सभा) विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिसकेका छन्।

जेनजी आन्दोलनमा परी हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते अझै अस्पतालमा छन्। सार्वजनिक तथा निजी सम्पत्तिको क्षति त भनिसाध्य छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad