एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)सहित तीनजना युवामाथि गएराति आक्रमण भएको छ।
आक्रमणबाट तीनैजना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ।
गएराती १ बजेतिर एक समूहले बोलाएर उनीहरुमाथि आक्रमण गरेको आएको प्रहरीको भनाई छ।
आक्रमणबाट आङ्देम्बे, विश्वदिप राजवंशी र अजय खवास घाइते भएका छन्। घाइतेमध्ये आङ्देम्बेको अवस्था गम्भीर छ। अन्य दुईजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
धारिलो हतियार प्रहारबाट आङ्देम्बेको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको उनले बताए। आङ्देम्बेको हाल आईसीयूमा उपचार भइरहेको छ।
आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको घाइते खवासले बताए। ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ,’ खवासले भने, ‘मेरो हातको ४ वटा औँला काटिएको छ। यो आक्रमण योजनाबद्ध रुपमा भएको हो।’
अर्का घाइते, राजवंशीका अनुसार भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका ४ जनाको समूहले आक्रमण गरेका हुन्।
घटनाको जानकारी भएपश्चात् संलग्नहरूको खोजी भइरहेको डीएसपी खड्काले जानकारी दिए। आक्रमण कसले गरेको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।
Shares

प्रतिक्रिया