समाज


तीव्र गतिको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा पत्रकार विनय यादवको मृत्यु, अर्का युवक गम्भीर घाइते

तीव्र गतिको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा पत्रकार विनय यादवको मृत्यु, अर्का युवक गम्भीर घाइते

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ९:१४, जनकपुरधाम

धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिलिला नगरपालिका- ६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवालेले जानकारी दिए। 

‘गएराति करिब ३ बजे यादव आफैँले चलाएका मधेश प्रदेश ०२- ००६ नम्बरको मोटरसाइकल ढल्केवरबाट जनकपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो,’ डीएसपी अवालेले नेपालखबरसँग भने, ‘प्रहरीले उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो। उपचारकै क्रममा मंगलबार बिहान पौने ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।’

२८ वर्षीय यादवको घर धनुषाकै धनुषाधाम नगरपालिका- ५ मा पर्छ। उनी जनकपुरमा बसेर पत्रकारिता गर्थे। एक वर्षअघि मात्रै उनले विवाह गरेका थिए। उनी रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक थिए।

दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम- ५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते भएका छन्। उनी मोटरसाइकलको पछाडि सवार थिए। उनको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

ढल्केवरमा राति साथीलाई भेटेर जनकपुर फर्किदैँ गर्दा यादवले चलाएको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटनमा परेको स्थानीयले बताएका छन्। यादवको शव शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी अवालेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .