समाज


छोरीको विवाहका गहना आफ्नो पसलमा नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना

दुवै पक्षका ६ जना पक्राउ, विवाह प्रभावित
छोरीको विवाहका गहना आफ्नो पसलमा नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना

जिल्ला प्रहरी कार्यालय सर्लाही


नेपालखबर
जेठ ५, २०८२ सोमबार १०:२७, काठमाडौँ

सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै एक स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन्। घटनामा संलग्न दुवै पक्षका गरि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

छोरीको बिहेको तयारीमा रहेका पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनासहितका व्यक्तिले आफ्नो पसलमा गहना नकिनेको भन्दै सुँगुरको खोरभित्र थुनेर यातना दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।

डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको निहुँमा घटना भएको हो। सुन पसल सञ्चालन गर्दै आएका सुनारले अन्सारीलाई आफ्नो पसलमा गहना किन्नको लागि विभिन्न ढंगले दबाब दिँदै आएका प्रहरी अनुसन्धानबाट खुलेको छ।

‘त्यसरी दबाब दिएपछि गाउँमा छलफल पनि भएको रहेछ। त्यो छलफलमा अन्सारी र उनका दाइ दिल महमद अन्सारीले राजेन्द्र साहलाई थप्पड लगाएछन्,’ डीएसपी राईले नेपालखबरसँग भने, ‘त्यसको रिसमा राजेन्द्र र उनका छोरा कमलेशले गएको शनिबार अन्सारीलाई सुँगुरको खोरमा थुनेर यातना दिएको पाइएको छ। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

सुँगुरको खोरमा थुनेर अन्सारीलाई यातना दिने राजेन्द्र, उनका छोरा कमलेश, छोराका साथीहरु पप्पुकमार यादव र राहुलकुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

त्यसैगरि छलफलमा बसेको बेला राजेन्द्रलाई थप्पड लगाएको आरोपमा तस्लिम र उनका दाजु दिल महमदलाई पनि पक्राउ गरिएको डीएसपी राईले बताए। 

गएको शनिबार विवाहको लागि किनमेल गर्न भन्दै तसलिम भारततिर जाँदै गर्दा साह पक्षले बाटोमै उनलाई नियन्त्रणमा लिएर सुँगुरको खोरमा थुनेका हुन्। 

‘छोरीको विवाहको लागि आवश्यक गहना आफ्नो पसलमा नकिनेपछि साह पक्ष अन्सारीसँग रुष्ट भएको देखिन्छ,’ डीएसपी राईले भने, ‘छोरीको विवाहको लागि गहनासहितका सामान किन्न अन्सारी भारततिर जाँदै गरेको चाल पाएपछि साह पक्षले बाटोमै घेरेर सुँगुरको खोरमा थुनेर यातना दिएछन्। सुँगुरको खोरमा थुनेपछि उनीहरुले भिडिओ बनाएर समाजिक सञ्जालमा पोस्ट गरेकोसमेत पाइएको छ।’

यो घटनाका सम्बन्धमा दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन्। 

तसलिम पक्षले राजेन्द्रसहितको समूहलाई अधर्म र अमानवीय व्यवहार सम्बन्धी कसुरमा उजुरी दिएका छन् भने राजेन्द्रले पनि अभद्र व्यहार सम्बन्धी कसुरमा प्रहरीमा उजुरी गरेका छन्। 

अधर्म सम्बन्धी कसुरमा सात दिन र अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानमा दुवै पक्षबाट हातपात तथा कुटपिटसहितको अभद्र व्यवहार भएको देखिएको डीएसपी राई बताउँछन्। यो घटनाको कारण छोरीको विवाहको तयारीमा रहेका अन्सारी परिवार बढी समस्यामा परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad