समाज


जेनजी आन्दोलनका सहिद: चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

कल्कलाउँदो उमेरमा पति गुमाएकी पार्वतीको मन अझै सम्हालिएको छैन
जेनजी आन्दोलनका सहिद: चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै

सहिद देवकुमार सुवेदी


सिङ्घबहादुर थापा / रासस
मंसिर ८, २०८२ सोमबार १४:७, सर्लाही

छब्बिस वर्षीया पार्वती सुवेदीको मन अझै सम्हालिएको छैन्। उनलाई गत भदौ २४ गतेको त्यो दिनले अहिले पनि एक्लै बस्न दिँदैन। त्यो दिन सम्झँदा अहिले पनि उनी भक्कानिन्छिन्। सत्ताइस वर्षका श्रीमान् देवकुमार सुवेदीको जेन्जी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएपछि उनका हरेक दिनहरू पीडामा बितेका छन्। 

आफूनो जीवनको खुसी खोसिएको भदौ २४ गतेले आफूलाई बेलाबेलामा झस्काउने गरेको उनले बताइन्। “दिनभरि यताउता गरेर बित्छ, जब साँझ पर्छ, श्रीमान् अब कहिल्यै आउनु हुन्न भन्ने मनमा पर्दा मन भक्कानिएर आउँछ” उनले भनिन् श्रीमान्ले भएको ऋणधन तिरेर छोरीको भविष्य बनाउन देखेको सपनाले सताइरहेको छ। 

भदौको तेस्रो हप्ता जेन्जी आन्दोलन हुने हल्ला सुरु भयो। आन्दोलन कस्तो होला ? अन्योल थियो। देवकुमार श्रीमती र छोरीसहित ललितपुरको सानेपामा बस्थे। सडक डिभिजन कार्यालयमा ज्यालादारी कर्मचारीको रुपमा कार्यरत थिए। कार्यालय सहयोगी, चालकदेखि सुरक्षा गार्डसम्मको काम गर्ने भएकाले उनी कार्यालय परिसरमै रहेको क्वाटरमा बस्ने गर्थे। 

पहिलो दिनको आन्दोलनमा केही विद्यार्थीको गोली लागेर ज्यान गएपछि भोलिपल्टको अवस्था थप जटिल बन्यो। भदौ २३ गते आन्दोलन हुँदासम्म काठमाडौँका अधिकांश कार्यालय सञ्चालनमै थिए। त्यसकारण देवकुमार पनि कार्यालयमै व्यस्त थिए। तर, दिउँसो भएको आन्दोलन अनियन्त्रित भएपछि काठमाडौँमा कफ्र्यू आदेश जारी भयो। 

अधिकांश मानिस अघिल्लो दिनको बर्बरतापूर्ण दमनको प्रतिकारमा उत्रन आतुर देखिएका थिए। सोही हुटहुटीले देवकुमारलाई पनि सडकसम्म ल्यायो। “बिहानै अफिसको मोटामोटी काम सकेर उहाँ कोठामा आउनुभयो,” पार्वतीले भनिन्, “मैले आज अफिस खुल्छ त ? भनेर सोधेँ। उहाँले खै भन्ने जवाफ दिनुभयो।”

‘हामी कोठामा नियमित काममा लाग्यौँ। हाम्रो नौ वर्षकी छोरी छिन्। उनी मसँगै थिइन्। उहाँको कामबाट आएको तलबले मात्र हामीलाई खर्च कम हुन्थो। थोरै भए पनि सहयोग हुन्छ, भनेर मैले पनि बिहानको समयमा काम गर्ने गरेको थिएँ,’ उनले भनिन्, ‘यसरी पनि नहुने भयो भनेपछि उहाँले एकजना दाजुसँग मिलेर बिहान–बेलुका कालीमाटीमा तरकारी व्यापार गर्ने योजना बनाउनु भएको थियाे।’

सडक विभागको कार्यालय बन्द हुने भएपछि तरकारी व्यापार साझेदारसँग भेटेर फर्पिङमा लप्सीका लागि अपुग पैसा पु¥याउन जाने भनेर ३५ हजार रुपैयाँ बोकेर सुवेदी निस्किए।

‘उहाँले जाने बेलामा साझेदार दाजुकोमा खाना खाने योजना छ भनेर सुनाउनु भयाे,’ उनले भनिन्, ‘त्यसपछि हामी आमाछोरी खाना खान बस्यौँ । तर, उहाँले गाडी नपाएपछि घर फर्कनु भएछ। पैसा पठाई दिएँ तर जान मिलेन भनेर घर आउनु भएपछि मैले खान खानु न त भनेँ, उहाँले मान्नु भएन। आन्दोलन हेरेर आउँछु भनेर निस्कनुभयो। आन्दोलनमा होमिएकाहरूलाई उहाँले खाना फलफूल बाँडेर आउनुभएको रहेछ। मैले पनि त्यही खाएँ भनेर, खान खान मान्नु भएन। ब्याग र नयाँ जुत्ता कोठामै राखेर पुरानो जुत्ता लगाएर फेरि जान्छु भनेर हिँड्नु भएकाे थियाे।’

पार्वतीले नजानुस् भनिन्। हिजो त्यस्तो घटना भएको छ भनेर सम्झाइन्। तर पतिले बाहिर देश परिवर्तनको आँधीबेहरी चलेको छ। हामी जस्तो युवा घरमा लुकेर बसेर हुन्छ ? देश लुटेराहरुले भ्रष्टाचार गरेर आफू मात्र बने, देश खोक्रो पारे। म कालीमाटीसम्म पुगेर हेरेर आउँछु, भन्दै उनी काेठाबाट निस्के।

‘उहाँ गएपछि म र छोरी खाना खाएर बसेका थियौँ । एकैछिनमा बल्खु तर्फबाट ठूलो सङ्ख्यामा आन्दोलनकारीहरु आए। त्यो देखेपछि मेरो मनमा पनि चिसो पस्यो। त्यतिबेलासम्म मेरो दिदी पनिसँगै हुनुहुन्थ्यो,’ उनले भनिन् ‘दिदीलाई अनुरोध गरेर श्रीमान्लाई खोज्न हिँडेका हामी आन्दोलनकारीको भीडमा हराएपछि दिदीले सानो नानी बोकेर यस्तो भीडमा हिँड्नु हुन्न, उहाँ आउनुहुन्छ भनेपछि हामी कोठामा फर्कियौँ।’

कोठामा फर्किएको केही बेरमै कोठा नजिकै होटल चलाउने दाजुले आएर बहिनी अस्पताल जनुपर्‍याे भने। त्यसले उनकाे मनमा चिसो पस्यो। ‘म त्यसबेला नै बेहोस हुन्छु कि जस्तो भइसकेको थिएँ। मैले के भयो दाजु ? भनेर सोधेँ। 

‘उहाँले भाइलाई खुट्टामा गोली लागेको छ, जानुर्‍याे भन्नुभयो,’ उनले भनिन्, ‘उहाँले म सम्हालिन्न भनेर झुटो बोल्नुभएको रहेछ। यतिकैमा दिउँसोको ३ बजिसकेको थियो होला। हामी हस्याङफस्याङ गर्दै अस्पताल पुग्दा उहाँलाई शल्यक्रियाको लागि लैजाँदै रहेछन्। उहाँले हातको इसाराले मलाई केही हुन्न मलाई ठीक छ, तिमी जाउ भन्नुभयो।’

श्रीमान्को दायाँ कोखाबाट लागेको गोली बायाँ कोखाबाट निस्किएको थियो भन्ने सुनेपछि उनी आफैँ बेहाेस् भइन्। त्यसपछि उनलाई के भयो, केही थाहा छैन्।

भोलिपल्ट बिहान ९ बजेतिर पतिको मृत्यु भयो भनेर डाक्टरले भने त्यसपछि उनी फेरि मुर्छित भइन्। पछि जेठाजुहरु आएर अस्पतालबाट शव निकालेर पशुपतिमा अन्त्येष्टि गरी सर्लाहीको घरमा काजक्रिया गरेको उनी बताउँछिन।

यस घटनापछि टुटेको मन छोरीलाई हेरेर सम्हाल्ने गरेको पार्वतीको भनाइ छ। श्रीमान्ले आफूसँग कठोर दुःख गरेर भए पनि छोरीको भविष्य राम्रो बनाउने सपना देखेको सुनाउने गरेका थिए 

जेनजी आन्दाेलनमा आफूले श्रीमान् गुमाए पनि बलिदानी खेर जानु नहुने उनकाे माग छ।

‘उहाँ जस्ता धेरैको ज्यान गयो। देशको भ्रष्टाचार र बेथितीविरुद्ध उहाँहरूले आफ्नो ज्यान दिनुभएको हो। त्यो अन्त्य भए मात्र उहाँहरुको बलिदानीले सार्थकता पाउँछ,’ उनले भनिन्, ‘याे सरकारले जेनजीको एजेन्डाअनुसार नै काम गर्नुपर्छ।’

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुसँगै पीडित बनेका परिवारको अवस्था बुझेर व्यवस्थापन गर्न राज्यसँग उनको अनुरोध छ। ‘यहाँ एक व्यक्ति मरेको मात्र छैन्,’ उनले भनिन्, ‘बाआमाको सन्तान खोसिएको छ। श्रीमतीको सिउँदो पुछिएको छ। सन्तान टुहुरा बनेका छन्। राज्यले यति ठूलो क्षतिको नजरअन्दाज गर्न मिल्दैन। यो कसैलाई पद र प्रतिष्ठा प्राप्त गर्न बगेको रगत हैन।’

श्रीमतीसँगै कलकलाउँदो उमेरको सन्तान वियोगको वेदनाले देवकुमारका ८५ वर्ष उमेर पुगेका बुबा उजिरबहादुर र ६७ वर्षकी आमा यशोदाकुमारी पनि विक्षिप्त छन्। पाँच छोरा र दुई छोरीका मातापिता उजिरबहादुर र यशोदाको यो दोस्रो सन्तान वियोगको पीडा हो। २०७० सालतिर बिच्छीले टोकाइबाट काइलो छोरा बितेका थिए। 

सानैदेखि अति मिलनसार स्वभावका देवकुमारले कक्षा २ सम्मको पढाइ कटारी र एसएलसीसम्मको अध्ययन सिन्धुलीको दुधौलीमा पूरा गरेका थिए। हक्की स्वभावका उनी छिट्टै भावनात्मक र आक्रामक हुने गरेका साइला दाजु भानुभक्तले सुनाए।

जो कोहीसँग पनि छिट्टै घुलमिल हुनसक्ने स्वभावका देवकुमारलाई कार्यालयमा समेत सबैले रुचाउने गरेका उनको भनाइ छ । उदयपुर जिल्लाको कटारी नगरपालिका–११, हर्देनी पुर्खौली थातथलो रहेको सुवेदी परिवार आठ वर्षअघि मात्र सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित शान्तिटोलमा बसाइँ सरेर आएको हो। 

गत साउनमा कार्यालयको कामले देवकुमार घर आएका थिए। त्यसबेला भएको भेट नै उनका बुबा र आमासँगको अन्तिम भेट भयो। साउन अन्तिममा घर आएका देवकुमारले छानो चुहिएको देखे। झ्यालमा पल्ला नहुँदा हिउँद् वर्षामा बस्न निकै समस्या भएकाले माघमा आएपछि छानो छाउने र झ्यालमा पल्ला लाउने भनेर गएका बुबा उजिरबहादुर सम्झन्छन्। 

 हरेक पटक चुहिने छानो र झ्यालको पल्ला देख्दा छोरोको झझल्को आउने गरेको गहभरि आँसु पार्दै उजिरबहादुरले सुनाए। उजिरबहादुर कान सुन्दैनन् भने आमा यशोदाको फोक्सोमा समस्या छ। अहिले पनि नियमितजसो उपचारको लागि काठमाडौँ जाने गरेको उनले सुनाए। कान्छो छोरा बितेपछि पनि उनी काठमाडौँ पुगेका रहेछन्। तर छोराको सम्झनाले पुरानो ठाउँ र अस्पताल जान सकेनन्। 

‘यसपटक साइलो छोराले अर्कै अस्पताल खोजेर उपचार गराएर पठायो। यताको सबै कुरा छोराहरुले हेरिरहेका छन् । महिनाको छ÷सात हजार रुपैयाँसम्मको औषधि खानुपर्छ,’ उनले भने, ‘यो उमेरमा कलिला छोरा अघि लाएर बाँच्नु नै हाम्रो लागि ठूलो रोग भयो।’ 

कान्छो छोराले देशका लागि ज्यान बलिदानी दियो भनेर छिमेकीले सुनाउँदा आफूलाई कोख खाली हुँदै गयो भन्ने चिन्ता लागिरहेको उनको दुःखेसो थियो। 

 राष्ट्रका लागि ज्यान दिने श्रीमान्को कृति रहनेगरी राज्यले सम्मान गरिदिनुपर्ने पार्वतको माग रहेको छ। सङ्घ सरकारले सहिद घोषणा गरेको भन्दै स्थानीय सरकारले समेत उनको योगदानको कदर गर्दै सालिक निर्माण गरिदिन उनले आग्रह गरिन्।

राज्यले दिने राहतभन्दा पनि आफूहरुका लागि भाइले दिएको बलिदानीको उचित कदर सम्मान नै पीडित परिवारको मल्हमपट्टी हुने साइला दाजु भानुभक्त बताउँछन्। घटनापछि सरकारले गरेको घोषणअनुसार १५ लाख आर्थिक सहायता दिने निर्णयबमोजिम पीडित परिवारलाई उक्त रकम हस्तान्तरण भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad