सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ। आगलागीमा परी ६ परिवारका वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्केको प्रहरीले जनाएको छ। आगोले उनका दुई वटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवका दुई वटा घर र एउटा गोठ, अनिल यादवका दुई वटा घर र एउटा गोठ जलेका छन्।
त्यस्तै, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक-एक वटा घर गरी नौ घर र तीन वटा गाईगोठ जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
Shares

प्रतिक्रिया