समाज


नेपाल–भारतका अधिकारीको बैठकमा सीमा सुरक्षाबारे छलफल

नेपाल–भारतका अधिकारीको बैठकमा सीमा सुरक्षाबारे छलफल

सुभाष कर्ण
जेठ ९, २०८३ शनिबार २१:३०, जनकपुरधाम

नेपाल–भारतको सीमा सुरक्षा तथा समन्वय सम्बन्धनमा भारतको सीतामढीमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। 

सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक घटना नियन्त्रण, सीमा सुरक्षाको उपाय, सूचना आदान प्रदान, अपराधविरुद्ध गरिएका कारबाही र सीमा स्तम्भको सुरक्षाबारे दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारीबीच विस्तृत छलफल भएको जनाइएको छ। शनिबार सम्पन्न दुई देशीय बैठकमा नेपालतर्फबाट महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो भने  भारतीय पक्षबाट सीतामढीका डीएम संजीव कुमारले नेतृत्व गरेका थिए। 

बैठकमा रौतहटका प्रजिअ दिनेश सागर भुसाल, सर्लाहीका प्रजिअ रामुराज कडरियासहित विभिन्न सुरक्षा निकाय र भन्सार कार्यालय लगायतका सरोकारवाला कार्यालयका प्रमुखको सहभागिता रहेको थियो। बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षाका उपाय, अवैध सवारी साधन तथा हतियारमाथि निगरानी, शान्ति, सुरक्षा तथा कानुनी व्यवस्थाको अनुगमन र आतंकवादी तथा सशस्त्र समूहको गतिविधिमाथि निगरानीबारे छलफल भएको महोत्तरीका प्रजिअ यादवले जानकारी दिए।

उनका अनुसार बैठकमा सीमा क्षेत्रमा आपराधिक घटना नियन्त्रणका लागि आपराधिक अभिलेखको आदान–प्रदान, अपराधिमाथि तत्काल कानुनी कारबाही, पक्राउ परेकाको छिटो हस्तान्तरण प्रक्रिया र प्रहरी अधिकारीबीच समन्वयबारे छलफल भएको छ। त्यस्तै, लागूऔषध तस्करी, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, अवैध तस्करी र मदिराको कारोबार नियन्त्रणमा गर्न सकिने उपाय तथा कारबाहीबारे छलफल गरिएको छ।

यस्तै सीमा स्तम्भ तथा अतिक्रमणका विषयमा पटक पटक उठ्दै आएको आवाजबारे संयुक्त स्थलगत सर्वेक्षण गर्ने, क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत सम्भार र अतिक्रमण हटाउने विषयमा छलफल भएको जानकारी उनले बताए। 

रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त समन्वय र सहकार्यलाई थप सुदृढ गर्नेसहित डुबान समस्याबारे दुवै पक्षबीच सहमति बनेको बताए। 

सीमाक्षेत्रमा निर्माण भइरहेको बाँधका कारण गौरसहित करिब एक दर्जन सीमावर्ती गाउँ डुबानको उच्च जोखिममा परेको भन्दै नेपाली पक्षले भारतीय पक्षको ध्यानाकर्षण गराएको छ।

बैठकले नेपाल–भारतबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। बैठकमा सहभागी अधिकारीले पनि सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनी व्यवस्था कायम गर्न संयुक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad