समाज


आन्दोलनले चार दिनदेखि प्रादेशिक अस्पतालको सेवा प्रभावित

आन्दोलनले चार दिनदेखि प्रादेशिक अस्पतालको सेवा प्रभावित

सुभाष कर्ण
जेठ १२, २०८३ मंगलबार १९:२०, जनकपुरधाम

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्युपछि उत्पन्न विवादले चार दिनदेखि उपचार सेवा प्रभावित भएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–१२ की अञ्जिना यादव जेठ ४ गते अस्पताल भर्ना भएकी थिइन्। उनको उपचारका क्रममा जेठ ८ गते मृत्यु भएको थियो। 

मृतकका आफन्त र स्थानीय युवाले चिकित्सकको लापरवाहीका कारण अञ्जिनाको मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शनमा उत्रेका छन्। उनीहरूको दवावबीच मधेश स्वास्थ्य प्रतिष्ठान र अस्पताल प्रमुखले उपचारमा संलग्न चिकित्सक डा. धिरज साह र डा. श्रेयालक्ष्मी साहलाई निलम्बन गर्ने निर्णय गरेको थियो। चिकित्सकलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै उनीहरूले प्रदर्शन जारी राखेका छन्। 

त्यस्तै, असुरक्षित भएको भन्दै अस्पतालका चिकित्सकले काम गर्न छोडेका छन्। उनीहरू पनि सुरक्षाको माग गरी आन्दोलनमा उत्रिएका छन्। 

चिकित्सक र मृतक पक्षको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ। बिरामी विचल्लीमा परेका छन्। 

मधेसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलन रोक्न समन्वय गरे पनि सफल भएको छैन। चिकित्सकले सेवा सञ्चालन गर्नका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र काम गर्ने वातावरण बनाउनुपर्ने माग गरेका छन्।

मृतकका आफन्तले भने उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने र उपचारमा चिकित्सकलाई कारबाहीको माग गरेका छन्। त्यस्तै, मृतक परिवारलाई राहत उपलब्ध गराउन माग गवरेका छन्। 

अस्पतालका निर्देशक डा. जामुन सिंहले अस्पतालमा बिरामीको ज्यान जाने लगायतका कुनै घटना भए त्यसको विशेषज्ञ टोलीद्वारा छानबिन गरेर कारबाही गर्नुपर्ने प्रक्रिया रहेको बताए। तर बिरामी मृत्युको हरेक घटनामा चिकित्सकलाई दोषी करार गरी निलम्बन गर्ने लगायतका क्रियाकलापले चिकित्सकलाई काम गर्ने वातावरण नबन्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad