समाज


कहिले हट्ला छाउपडी बस्नै पर्ने सोच?

कहिले हट्ला छाउपडी बस्नै पर्ने सोच?

दिनेश बुढा
चैत २, २०८२ सोमबार १३:३१, सुर्खेत

कर्णाली प्रदेशमा अझै पनि प्रथाजनित हानिकारक सोचका कारण छाउपढी प्रथा हट्न नसकेको पाइएको छ। वीरेन्द्रनगरमा दुई दिनसम्म चलेको छाउपढी सम्बन्धिको एक कार्यशालाका सहभागिहरुले समाजमा अझै पनि महिनावारीको समयमा घरभित्र पस्दा देउता रिसाउछन् भन्ने मनोविज्ञान नहटेको बताए।

दैलेख आठबिस नगरपालिका–१ सातलाकी सविना बिष्टले महिनावारी हुँदाका शुरुका दिनहरु सम्झिदैं गोठमा एक्लै बस्नुपर्दा डर लाग्ने गरेको बताइन्। उनले परिवार र साथिभाइको माया लागे पनि भेट्न नपाउँदा निकै दुःख लाग्ने बताइन्। 

छाउपडी प्रथाको अन्त्यका लागि वीरेन्द्रनगरमा सञ्चालन भएको गोष्ठीमा विष्टले छाउपडी प्रथाका बारेमा तालिम प्राप्त गरेपछि घरपरिवार र व्यवहारमा परिवर्तन भएको बताउँदै अहिले खानेकुरादेखि लिएर हरेक व्यवहारमा सकारात्मक परिवर्तन देखा परिरहेको अनुभव सुनाइन्।

सातला स्वास्थ्य चौकीका नर्सिङ्ग स्टाफ श्वेता खड्काले स्वास्थ्य सेवा दिँदै शिक्षाको कमीका कारण र देवीदेवताको आस्था र विश्वासका कारण महिनावारीका बारेमा गलत बुझाइ रहेको बताइन्। महिनावारी भएका महिलाले दुध, दही खायो भने गाई, भैसीलाई असर पर्ने, भान्सा कोठा छुन नमिल्ने जस्ता विश्वासमा ग्रामिण भेगका महिलाले समस्या भोगिरहेको बताइन । यद्यपी  यस्तो बेला घरबाहिरका गह्रौ कामहरु जस्तै घास, दाउरा, भिरपाखामा गएर घाँस कटानी र गाईगोठमा बस्नुपर्ने जस्ता कारणले महिलाको स्वास्थ्यमा जोखिम देखिने सक्नेतर्फ पनि सबैको ध्यान जानुपर्ने बताइन। 

महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने डर र त्रासका कारण ग्रामिण भेगका महिलाले प्राकृतिक हुने महिनावारीलाई रोख्नका लागि औषधिको सेवन गर्ने जस्ता नकरात्मक कार्य समेत गर्ने गरेको अनुभव खड्काले जानकारी दिइन्।  
आठबीस नगरपालिका–१, सातलाका अधिकारी देवताका धामी तेजबहादुर विकले महिनावारी भएका महिलालाई घरमा राख्दा देवताले स्वीकार नगर्ने दावी गरे। ‘महिनावारी भएपछि सुरक्षित राख्ने कुरा ठिक हो। तर, घरमा सबैसँग राख्न मिल्दैन्’, धामी तेजबहादुरले भने, ‘देवताले स्वीकार्दैनन्, भनेको नमानेपछि उ ९महिनावारी भएको महिला० आफै बिरामी पर्छन।’

साथै उनले आफ्नो घरमा रहेका श्रीमति र तीन जना छोरीहरु महिनावारी भएको समयमा बाहिर बस्ने र सातदिनपछि मात्रै घरमा आउन दिने गरेको बताए।

प्रथाजनित हानिकारक सोच हटाउनुपर्नेमा जोड

कार्यशालाका सहभागीहरुले छाउपडी प्रथाको अन्त्यका लागि प्रथाजनित हानिकारक परम्परागत सोच हटाउनुपर्नेमा जोड दिए। ‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’ भन्ने सन्देशका साथ महिनावारी स्वास्थ्य प्रवद्र्धन कार्यक्रम ‘समिप’ अन्तरगत अमेरिकास्थित पिट्सवर्ग विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विकास स्रोत केन्द्र, एमएचएमपीए नेपाल लगायतका संस्थाको आयोजना र एनआईएच फोगार्टी इन्टरनेशनल सेन्टरको आर्थिक सहयोगमा कार्यशाला गरिएको थियो।

शनिबार र आइतबार गरी दुई दिन चलेको कार्यशालमा समिपले गत जेठमा दैलेखको आठबीस नगरपालिका–१, सातलाका विभिन्न टोलमा १० दिनसम्म अध्ययन तथा अनुसन्धान गरेर छाउपडी प्रथाका बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

आठबीस नगरपालिकामा गरिएको अध्ययन प्रतिवेदनको बारेमा त्रिभुवन विश्वविद्यालयका सुधा घिमिरे र अमेरिकाका अनुसन्धानकर्ता साराले चर्चा गरेकी थिइन । महिला समुदायका विषयमा रहेर १२ वर्षदेखि नेपालमा काम गर्दै आएकी अमेरिकाका अनुसन्धानकर्ता साराले ‘समिप’ कार्यक्रमले समुदायमा रहेका महिलाहरुलाई धामी, झार्की, विद्यालय, शिक्षक लगायतका बुद्धिजिवि व्यक्तिहरुलाई नजिक ल्याउने काम गरेको बताइन्।

‘सबैको आवाजलाई एक ठाउँमा ल्याउन सक्छौ भन्ने हाम्रो उदेश्य हो’, उनले भनिन्, ‘महिलाहरु महिनावारी भएर बाहिर बस्दाका पीडा तथा भोगाइहरुलाई सबै व्यक्तिहरु नजिक ल्याउने कुरामा हामीले ध्यान दिएका छौँ।’

कार्यशालामा बोल्दै दैलेखको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले प्रत्येक व्यक्तिका सोचका कारण छाउपडी प्रथाको अन्य गर्न नसकिएको बताए। उनले समाजमा जाने बुझेका शिक्षित व्यक्तिहरुले नै व्यवहारमा लागू नगर्दा छाउपडी अझै कायमै रहेको औलाए। प्रमुख बडुवालले महिनावारीलाई घरकै राख्दा देविदेवता रिसाउने पराम्परागत सोच समाजमा रहेको बताए।

‘महिनावारी भएको समयमा घरमा बस्दा देविदेवता रिसाउँछन् भन्ने छ। तर, त्यो होइन्’, उनले भने, ‘हाम्रा आस्थालाई मार्नुहुन्न, महिनावारी भएको बेला बाहिर पनि राख्नुहुँदैन्।’ 

त्यस्तै, आठबीस नगरपालिका–१, का वडाध्यक्ष बमबहादुर रावतलले छाउपडीले समाजमा जरा गाडेर बसेको बताउँदै यसलाई न्युनिकरणका लागि धेरै समय खर्चिनुपर्ने बताए।

आठबीस नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख देवराज तिमिल्सेनाले छाउपडी प्रथाको अन्त्यका लागि निरन्तर जनचेतना र अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

यस्ता छन् समस्या पहिचानदेखि समाधानका उपाय

दुई दिनसम्म चलेको कार्यशालाबाट छाउपडीको अन्त्यका लागि देखिएका समस्या र चुनौतीहरूको पहिचानसँगै समाधानका उपायबारे पनि छलफल गरिएको छ। 

कार्यशालाको पहिलो दिनमा सहभागीहरूले समुदायमा अझै कायम रहेका छाउपडीसँग सम्बन्धित समस्या र चुनौतीहरूको पहिचान गरिएका थिए। ती महिनावारीका समयमा महिलालाई गरिने विभेद, धार्मिक विश्वासका कारण हुने बहिष्कार तथा सुरक्षित संरचनाको अभावजस्ता विषयहरू उठाइएको थियो। 

कार्यशालामा सहभागी समुदायका मानिसहरूसँग छलफल गर्दै समस्याको समाधानका सम्भावित उपाय तथा उपलब्ध स्रोतहरूको पहिचान गर्ने काम गरिएको छ।

छलफलका क्रममा शिक्षा, पूर्वाधार, सामाजिक सञ्जाल र सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउने विभिन्न प्रस्तावहरू आएका त्रिभुवनविश्व विद्यालयका प्राध्यापक प्रा.डा. भीमसेन देवकोटाले जानकारी दिए।

उनका अनुसार स्थानीय तहहरुले विद्यालयको पाठ्यक्रममै महिनावारी र धार्मिक आस्थासँग सम्बन्धित जनचेतनामूलक विषय समावेश गर्ने, स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले विद्यालयमा पुगेर महिनावारी स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन गर्ने लगायतका समाधानका उपायहरु कार्यशालामा आएका छन्।

यस्तै, नयाँ घर निर्माण गर्दा छुट्टै शौचालयसहितको सुरक्षित ‘आराम कक्ष’ निर्माण गर्न अनुमति दिने व्यवस्था गर्ने, महिनावारीसम्बन्धी सकारात्मक सन्देशसहितका भिडियो सामग्री उत्पादन गरेर सामाजिक सञ्जालमार्फत प्रसारण गर्ने, गीत–संगीतमार्फत महिनावारीलाई सकारात्मक रूपमा बुझाउने सन्देश समुदायमा फैलाउने कार्यक्रम सञ्चालन गर्ने लगायतका समाधानका उपायहरु खोजिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad