ad ad

खेल


भारतविरुद्ध सनसनी मच्चाएका रोहितको पीएनजीविरुद्धको यो इनिङ

भारतविरुद्ध सनसनी मच्चाएका रोहितको पीएनजीविरुद्धको यो इनिङ

यज्ञराज जोशी
भदौ २५, २०७८ शुक्रबार १९:५०, काठमाडौं

शुक्रबारमात्रै पपूवा न्यूगिनी(पीएनजी)विरुद्धको जारी दोस्रो ओडिआईमा रोहितले ८६ रनको कीर्तिमानी इनिङ खेले। १२३ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे। 

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट(ओडिआई)मा नेपाली मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलको सर्वाधिक व्यक्तिगत स्कोर हो।  

यसअघि २०१९ जनवरीमा भएको यूएईविरुद्धको ओडिआई खेलमा रोहितले व्यक्तिगत ५५ रन बनाएका थिए। त्यसबेला उनले ५८ बलमा ७ चौकाको मद्दतमा ५५ रन बनाएका थिए।

२०७३ मा यू–१९ एसिया कपको तेस्रो संस्करणबाट रोहितको नाम नेपाली क्रिकेटमा उदाएको हो। क्यान निलम्बनमा रहेका कारण कोलोम्बोमा भएको उक्त प्रतियोगिताका लागि नेपाली युवा टोली निर्माण गर्न देशका विभिन्न क्षेत्रमा ट्यालेन्ट हन्ट आयोजना गरिएको थियो। 

सोही ट्यालेन्ट हन्टबाट नेपाली टोलीमा नवलपरासीका १५ वर्षीय रोहित पौडेलले स्थान बनाएका थिए। 

श्रीलंकामा उक्त संस्करणमा नेपालले पहिलो खेलमा आयोजक श्रीलंका विरुद्ध एक रनको झिनो अन्तरले हार ब्यहोर्‍यो। 

दोस्रो खेलमा नेपालले भारतसँग थियो। अनुभवी भारतीय बलर सामू नेपाली ब्याट्सम्यानहरु धेरैबेर टिक्न सकेनन्।

नेपालले ८६ रनको स्कोरमा सुरुवाती ६ विकेट गुमाइसकेको थियो। २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गर्दै डेब्यू गरेका रोहितले स्मरणिय प्रदर्शन गरेका थिए। 

श्रीलंका विरुद्धको पहिलो खेलमा उनलाई मौका दिइएको थिएन। भारतविरुद्ध भने खेलका बाँकी पूरै ओभर सम्हालिएर ब्याटिङ गर्दै रोहितले ६८ रनको अर्धशतकीय पारी खेले। अन्तिम ओभरमा उनले तीन चौका र दुई छक्का प्रहार गर्दै सनसनी मच्चाएका थिए। 

अन्तिम ओभरमा आक्रामक बनेका उनले भारतका कमलेस नगरकोटीको पहिलो बलमा कुनै पनि रन लिएनन्। दोस्रो बलमा छक्का प्रहार गरे। तेस्रो र चौथो बलमा चौका प्रहार गरेका उनले पाचौं बलमा पुनः छक्का हाने। र, छैटौं बलमा फेरि चौका हान्दै नेपाललाई सम्मानजनक स्थितिमा पुर्याए।

बलियो टोली भारतका लागि नेपालले दिएको १ सय ७२ रनको लक्ष्य ठूलो थिएन। तर पनि नेपाली बलरहरुले भारतलाई सजिलो जित दिएनन्। संघर्षपूर्ण खेलमा भारत छ विकेटले विजयी भयो भने नेपाल प्रतियोगिताबाट बाहिरियो।

अर्को वर्ष मलेसियामा यू–१९ एसिया कपको अर्को संस्करण आयोजना भयो। जहाँ रोहित सम्मिलित नेपाली युवा टोलीले क्रिकेटको पावर हाउस भारतलाई कुनै पनि स्तरको प्रतियोगितामा नेपालले पहिलोपटक पराजित गरेको थियो। सोही संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गर्दै नेपालले सनसनी समेत मच्चायो। 

०००

सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेल्यो। सारा नेपालीको ध्यान उक्त विश्वकपले तानेको थियो। उक्त विश्वकपमा नेपाली टोलीको प्रदर्शनले निकै चर्चापनि बटुल्यो। त्यसले धेरै नेपाली युवालाई क्रिकेट तर्फ आकर्षित गरेको थियो। त्यसमा एक थिए, रोहित।

त्यसता रोहित नवलपरासीमा स्थानीय साथीभाईहरुसँग रमाइलोका लागि टेनिस बलले क्रिकेट खेल्थे। विश्वकप खेलेपछि नेपाली टोलीले पाएको चर्चाबाट रोहित पनि आकर्षित भए र उनमा पनि क्रिकेटर बन्ने रहर पलायो।

‘विश्वकपले म भित्रको क्रिकेटरलाई जगाई दिएको थियो’ रोहित भन्छन्, ‘त्यसपछि मात्रै मैले नियमित क्रिकेट खेल्न थालेको हुँ।’

क्रिकेटप्रति उनको लगाव यति बढ्दै गयो कि, उनको ध्यान पढाईमा कम र क्रिकेटमा ज्यादा हुन थाल्यो। सबैध्यान क्रिकेटमै केन्द्रित हुँदा पढाईमा मन लाग्न छाड्यो। ‘पढ्ने समय पनि हुँदैन थियो र मैले कक्षा आठमा नै पढाई छाडें’, उनले भने।

रोहितका बुबा (कुमार पौडेल) र दाजु (राजु पौडेल) मा पनि क्रिकेटप्रति रुचि रहेछ। कतिपटक दाजुले रोहितलाई टेनिस बल ल्याएर दिँदै क्रिकेट खेल्न हौस्याउने गरेको रोहित बताउँछन्।

क्रिकेटप्रतिको लगाव बढ्दै गएपछि परिवारले रोहितलाई राम्रो प्रशिक्षणको लागि काठमाडौं पठाउने निर्णय गर्यो।

दुई वर्षअघि नवलपरासीबाट काठमाडौं हिँड्दाको क्षण सम्झदै उनी भन्छन्,‘म निकै खुशी थिएँ, यो मेरो क्रिकेटर बन्ने सपनाको पहिलो खुड्किलो थियो र त्यसमा परिवारको पनि साथ थियो।’

काठमाडौंमा रोहित दिदी (शिल्पी अधिकारी) र भिनाजु (सुरेश अधिकारी) कहाँ बस्थे। भिनाजुले नजिकैको बालुवाटार क्रिकेट एकेडेमीमा रोहितलाई प्रशिक्षणमा जाने व्यवस्था मिलाइदिए।

बालुवाटारमा उनले सुनिल लामा तथा रिकेश लामा गुरुको प्रशिक्षकत्वमा हुर्किंदै गए। झण्डै एक वर्ष भन्दा धेरै समय एकेडेमीमा नियमित अभ्यास गरे। त्यसबेला क्लबस्तरीय केही प्रतियोगिताहरु खेल्दै म्याच एक्सोजर बढाउँदै लगे।

‘बिहान र बेलुका दैनिक एकेडेमीमा नियमित प्रशिक्षण गर्थें,’ रोहित भन्छन्, ‘दिउँसो गेम खेल्न निस्कन्थें। काठमाडौं आएपछि म ‘फूल टाइम’ क्रिकेट मै लागें। पढाई अगाडि बढाउने समय नै भएन। घरमा पनि मेरो ब्यस्तता र इच्छा दुवै बुझ्नु भएको थियो र पढाईका लागि त्यति कर गर्नु भएन।’

सुशील पाण्डे नामका दाईको सहयोगमा क्रिकेटमा थप अभ्यस्त बन्न रोहित दिल्ली हिँडे। यो एकेडेमीमा अभ्यास गर्दैगर्दाको कुरा थियो। दिल्लीमा तीन महिनाको प्रशिक्षण र त्यस दौरान खेलेको अभ्यास खेलहरुले आफूमा ‘कन्फिडेन्स’ डेन्ट’ झनै बढेको उनी बताउँछन्।

टर्निङ प्वाइन्टस् ‘ट्यालेन्ट हन्ट’

दिल्लीमा तीन महिनाको प्रशिक्षण पछि रोहित नवलपरासीस्थित घर फर्किएका थिए। त्यहीबेला २०१६ को यू–१९ एसियाकपका लागि राष्ट्रिय टोली तयार पार्न देशभरि ट्यालेन्ट हन्ट आयोजना गरिँदै थियो।

नेपाली क्रिकेटको आधिकारिक निकाय क्यान निलम्बनमा परेपछि नेपालमा घरेलु प्रतियोगिताहरु भएका थिएनन्। जसको प्रभाव, नयाँ प्रतिभाहरु आउने बाटो पनि बन्द थियो।

त्यही बेला यू–१९ टोलीका प्रशिक्षक विनोद दास लगायतले देशभरिबाट प्रतिभावान खेलाडीहरु समेट्दै यू–१९ को राष्ट्रिय टोली निर्माण गर्ने उदेश्यले ‘ट्यालेन्ट हन्ट’ को आयोजना गर्ने निधो गरेका थिए।

‘भैरहवामा ट्यालेन्ट हन्ट क्याम्प थियो,’ रोहित सम्झन्छन्, ‘म लगायत त्यस क्षेत्रका थुप्रै खेलाडीहरु राष्ट्रिय टोलीको सपना देख्दै क्याम्पमा ट्राइल दिन पुगेका थियौं। भैरहवाको क्याम्पमा खेलाडीहरु निरिक्षण गर्न स्वयं यू–१९ टोलीका प्रशिक्षक विनोद दास, सिनियर टोलीका प्रशिक्षक जगत टमटा लगायत स्थानीय प्रशिक्षकहरु उपस्थित थिए।’

Rohit Paudel profile and biography, stats, records, averages, photos and  videos

रोहितको क्रिकेटर बन्ने सपनामा ‘ट्यालेन्ट हन्ट’ पहिलो खुड्किलो बन्न सक्थ्यो। रोहितले पनि त्यो कुरा बुझेका थिए। झण्डै पाँच ओभर नेटमा गुरुहरुले ब्याटिङ गर्न mर्षर त्यसक्रममा उनले शतप्रतिशत दिँदै क्रिकेट प्रतिको मोह झल्काए।

पाँच ओभर ट्राइल दिइसकेपछि आफूलाई गुरुहरुले ‘राम्रो खेल्छौ, अझै मेहनत गर्दै जानु’ भनेको अहिले पनि सम्झन्छन्।

देशभरि ‘ट्यालेन्ट हन्ट’ सकिएको दुई दिनपछि पहिलो चरणको बन्द प्रशिक्षणको लागि ५२ जना खेलाडी छनोटमा परेका थिए। त्यसमा रोहित पनि अटाए। त्यसपछि २४ हुँदै उनी अन्तिम १४ को सुचीमा परे। अर्थात्, पहिलोपटक उनी उमेर समूहको राष्ट्रिय टोलीमा छानिए।

‘अन्तिम सुची प्रकाशित भएको खबर मैले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अभ्यास गरिरहका बेला थाहा पाएको थिएँ’ राष्ट्रिय टोलीमा परेको अनुभव साँट्दै रोहित भन्छन्, ‘पहिलोचोटी राष्ट्रिय टोलीमा परेको खबर सुन्दा आफू त निकै खुशी भएँ नै, लगत्तै घरमा पनि खबर गरें। दाईलगायत सबैजना निकै खुशी हुनुभयो।’

त्यसपछि लगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका रोहितले २०७४ माघमा नामिबियाविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। 

त्यसयता रोहितले ६ वटा एकदिवसीय र ११ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .