इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गराएको छ।
क्रिस्टियानो रोनाल्डोले पुनरागमन गरेको खेलमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोलअन्तरले हराएको हो।
घरेलु मैदानमा वर्ल्ड ट्राफोर्डमा युनाइटेडलाई शानदार जित दिलाउने क्रममा रोनाल्डोद्ये दुई गोल गरे।
यस्तै यो खेलमा रोनाल्डोका पोर्चुगिज सहकर्मी ब्रुनो फर्नान्डेजले एक गोल गरे। अर्को गोल जेसे लिंगार्डको नाममा रह्यो।
पराजित न्युकासलका लागि जाभियर मानक्विइलोले एक गोल फर्काउन सफल भए।
म्यान युलाई जिताउने क्रममा खेलको पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले पहिलो गोल गरेका थिए।
१२ वर्षपछि वर्ल्ड ट्राफोर्डमा उत्रिएका रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरे। उनी यसै सिजन इटालियन क्लब युभेन्ट्सबाट आएका हुन्।
रोनाल्डोले पहिलो हाफमाा गोल गरेपछि लिएको अग्रतालाई खेलको ५६ औं मिनेटमा न्युक्यासलका जाभियरले गोल गर्दै तोडेका थिए।
तर खेलको ६२ औं मिनेटमा लुक श को पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड २-१ ले अघि बढ्यो।
खेलको ८० औं मिनेटमा पाउल पोग्बाको पासमा फर्नान्डेजले गोल गरेपछि युनाइटेड ३-१ ले अघि बढेको थियो।
युनाइटेड त्यतिमै रोकिएन। उसका लागि खेलको इन्जुरी समयमा लिंगार्डले गोल गर्दै ४-१ को जित पक्का गरे। उनले जाडोन सान्चोको स्थानमा दोस्रो हाफमा मैदान छिरेर गोल गरेका हुन्।
यो जितसँगै युनाइटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। युनाइडले ४ खेलमा १० अंक जोडेको छ। न्युकासल १ अंक जोडेर १९ औं स्थानमा छ।
Shares

प्रतिक्रिया