ad ad

खेल


एसियन च्याम्पियनसिप छनोटमा बलियो टोलीविरुद्ध उत्रिँदै नेपाल, प्रशिक्षक फिलिप्स उत्साहित

एसियन च्याम्पियनसिप छनोटमा बलियो टोलीविरुद्ध उत्रिँदै नेपाल, प्रशिक्षक फिलिप्स उत्साहित

उज्बेकिस्तानमा छनाेट खेलकाे तयारी गर्दै नेपाली खेलाडी।


लक्ष्मी जि.सी
असोज १, २०७८ शुक्रबार १४:११, काठमाडौँ

नेपालले दुई दशकपछि खेल्न लागेको महिला एएफसी एसियन च्याम्पियनसिप छनोटको तयारी पूरा भएको छ। 

योसँगै नेपालले उज्बेकिस्तानमा भोलि शनिबार फिलिपिन्ससँग खेल्दै छनोट खेलको सुरुवात गर्नेछ। 

खेल उज्बेकिस्तानको ताश्केतस्थित जेएआर स्टेडियममा हुनेछ। 

छनोटमा नेपाल फिलिपिन्स र हङकङ रहेको समूह ‘एफ’मा छ। 

फिलिपिन्सपछि नेपालले असोज ५ गते हङकङसँग खेल्नेछ। फिलिपिन्स र हङकङबीचको खेल भने असोज ८ गते हुनेछ। 

छनोट खेलका लागि नेपाली टोली उज्बेकिस्तान पुगिसकेको छ। 

फिफा वरीयतामा नेपालभन्दा फिलिपिन्स र हङकङ माथि छन्। 

नेपाल एक सय एक स्थानमा छ भने फिलिपिन्स फिफा वरीयताको ६८औँ र हङकङ ७६औँ स्थानमा छ। वरीयतालाई आधार मान्ने हो भने नेपालका लागि छनोटको यात्रा चुनौतीपूर्ण छ। 

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टोलीका लागि एसियन च्याम्पियनसिपको छनोट खेललाई अवसरको रुपमा लिएको बताएका छन्। 

छनोट खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक फिलिप्सले छनोट खेल खेलाडीलाई प्रतिभा देखाउने अवसर रहेको बताए। 

‘टोलीमा नयाँ र युवा खेलाडीको सहभागिताले नयाँ ऊर्जा थपिएको छ। यसले पनि हामी राम्रो खेल प्रस्तुत गर्नेमा विश्वस्त छौँ’, उनले भने। 

यस्तै फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले टोलीमा उत्कृष्ट खेलाडी समावेश नभए पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए। 

उनले भने, ‘कोभिड १९ का कारण धेरै टोलीहरुलाई कठिनाइ भएको छ। हाम्रा खेलाडीहरु पनि व्यावसायिक खेलका लागि जापान, अमेरिकालगायत देशमा रहेकाले सामेल हुन सकेनन्। तर पनि पर्याप्त अनुभव भएका युवा खेलाडीहरु भएकोले राम्रो खेल प्रर्दशन गर्नेछौँ।’ 

हङकङका प्रशिक्षक जोसे रिकार्डो राम्बोले आफूहरुको तयारी राम्रो रहेको सुनाए। 

उनले भने, ‘कोरोना महामारीका बीचमा पनि हामीले प्रशिक्षणलाई निरन्तरता दिएका थियौँ। अधिकांश खेलाडी एकेडेमीका भएकाले पनि हामीसँग बलियो टोली छ।’ 

यसअघि घरेलु मैदानमा प्रतियोगिता आयोजना गर्ने अवसर पाए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण नेपालले आयोजनाको अवसर गुमाएको थियो। 

सोही कारण नेपालले तटस्थ भूमिका रुपमा उज्बेकिस्तानमा छनोट खेल खेल्न लागेको हो।  

छनोट खेलमा समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष भारतमा हुने एसियन च्याम्पियनसिपमा स्थान बनाउनेछ। 

एसियन च्याम्पियनसिप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। सन् २०२३ मा हुने विश्वकपका लागि पनि यही प्रतियोगिता छनोटको एक चरणका रुपमा रहेको छ।  

नेपाली टोलीले सन् १९९९ पछि एएफसी एसियन च्याम्पियनसिप छनोट खेल्नलागेको हो। 

छनोटको तयारीकै लागि नेपाली टोलीले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। 

पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले हराएको नेपालले दोस्रो खेल गोलरहित बराबरीमा टुंग्याएको थियो।

बंगलादेशसँगको दुई खेलबाट ५ खेलाडीले डेब्युको अवसर पाएका थिए। 

प्रशिक्षक फिलिप्सले ७ नयाँ अनुहारलाई टोलीमा समेटेका थिए। 

सिनियर टोलीमा डेब्यु गर्नेमा सविता रानामगर, प्रीति राई, रश्मी कुमारी घिसिङ, सिर्जना सिंह ठकुरी र रजनी ठोकर रहे। 

अब डिफेन्डरद्वय विमला विक र निशा थोकरले सिनियर टोलीमा डेब्यु गर्न बाँकी छ। सम्भवतः उनीहरुले छनोट खेलबाट डेब्यु गर्न सक्नेछन्। 

एसियन छनोटमा नेपालको स्थिति
एसियन च्याम्पियनसिप छनोटमा नेपाली महिला टोलीले यसअघि तीन पटक भाग लिएको छ। जसमा नेपालले अहिलेसम्म जित निकाल्नसकेको छैन। 

पहिलो पटक सन् १९८६ मा हङकङमा भएको छनोट खेलमा नेपाली टोली हङकङसँग १–०, थाइल्यान्डसँग ५–० र इन्डोनेसियासँग ६–० ले पराजित भएको थियो।

सन् १९८९ मा हङकङमा नै भएको अर्को छनोट खेलमा नेपाल आयोजक टोलीसँग ३–०, इन्डोनेसियासँग ८–० र जापानसँग १४–० ले स्तब्ध भएको थियो।

पछिल्लो पटक सन् १९९९ मा फिलिपिन्समा भएको छनोटमा आयोजक टोलीसँगको खेल  ५–० ले गुमाउँदा थाइल्याल्डसँग ५–० र जापानसँग १४–० को फराकिलो हार व्यहोरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .