खेल


नेपाली सेनाका रेफ्री पाकिस्तान तथा फ्रान्सका प्रतियोगिताको निर्णायक मण्डलमा छनोट

नेपाली सेनाका रेफ्री पाकिस्तान तथा फ्रान्सका प्रतियोगिताको निर्णायक मण्डलमा छनोट

नेपालखबर
असोज २०, २०७८ बुधबार १०:५१, काठमाडौँ

नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन्।

फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि पनि ढकाल निर्णायकमा छनोट भएका नेपाली सेनाले जनाएको छ। 

एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए।

चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायकमण्डलमा बसेर काम गरेका थिए। 

चीनकै उसि सहरबाट विसं २०७४ मा अन्तर्राष्ट्रिय रेफ्री कोर्ष प्राप्त गरेका ढकाल काभ्रेको कुशादेवीका बासिन्दा हुन्। स्थानीय लालीगुराँस तेक्वान्दो डोजाङबाट यस विधामा प्रवेश गरेका ढकाल नेपालको खेलकुद क्षेत्रमा स्थापित अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन्।

काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि उनले रेफ्री भएर काम गरिसकेका छन्। छोटो समयको तीव्र प्रतिष्पर्धाको खेलमा भीडन्तलाई ठिक ढङ्गले नियालेर सही निर्णय सुनाउनुपर्ने भएकाले रेफ्रीका लागि तटस्थता, निष्पक्ष, साहसिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक बरियता नजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बन्न सफल भएका छन्। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद विधामा च्याम्पियनसीप विभागीय टोली हो।

स्पेन, अमेरिका, जापान, पोर्चुगललगायत मुलुकबाट यसबीचमा रेफ्रिका लागि निम्ता आए पनि कोभिड–१९ का कारण प्रतियोगितामा सहभागी हुन नसकेको ढकालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad