ad ad

खेल


इपीएल क्रिकेट : महँगा विदेशी खेलाडीको फिक्का प्रदर्शन

इपीएल क्रिकेट : महँगा विदेशी खेलाडीको फिक्का प्रदर्शन

लक्ष्मी जि.सी
असोज २२, २०७८ शुक्रबार १८:४५, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (इपीएल)को शनिबार हुने फाइनलमा चितवन राइनोज र पोखरा राइनोज भिड्दैछन्।

यसपल्ट इपीएल विदेशी खेलाडीका कारण चर्चामा रह्यो। विदेशी खेलाडीका लाग फ्रेन्चाइज टोलीले लाखौँ रकम खर्च गरेका छन्। इपीएलमा सहभागी ६ टोलीले यसपटक झण्डै ३० विदेशी खेलाडी मैदान उतारे।

जति महँगो मुल्यमा विदेशी खेलाडीलाई टोलीले भित्र्याएको थियो त्यो अनुसार उनीहरुको प्रदर्शन भने मैदानमा देख्न पाईएन। हाइ प्रोफाइल विदेशी खेलाडीको प्रदर्शन कमजोर हुँदा केही स्वदेशी खेलाडीले भने राम्रो प्रदर्शन गरे।

नाम चलेका विदेशी खेलाडी मैदानमा उत्रँदा उनीहरु सम्मिलित टोलीले इपीएलमा दमदार प्रदर्शन गरे। तर, सबैको हकमा त्यो लागु हुन सकेन। इपीएलमा अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन गर्ने केही विदेशी खेलाडीको चर्चा यहाँ गरिएको छ।

 शाहिद अफ्रिदी (काठमाडौं किंग्स इलाभेन)
पाकिस्तान क्रिकेटका पुर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको इपीएलका लागि काठमाडौ किंग्स इलाभेनमा अनुबन्ध भए। काठमाडौंबाट दुई खेल खेल्ने बताएपनि उनले एक खेल मात्र खेल्न पाए।

सोमबार विराटनगर वारियर्सविरुद्धको खेल खेलेर स्वदेश फर्किने कार्यक्रम भएपनि आइतबारको वर्षाको कारण आउट फिल्ड भिजेका कारण खेल स्थगित भयो।

ललितपुरसँगको पहिलो खेलमा छैटौँ ओभरमा बलिङमा आएका अफ्रिदीले १४ रन दिए। आठौँ ओभरमा ३, १४ औँ ओभरमा १० तथा १६ औँ ओभरमा ६ रन दिए। पहिलो ओभरको दोस्रो बलमा नै पवन सर्राफले छक्का प्रहार गर्दै अफ्रिदीको स्वागत गरेका थिए। ४ ओभर बलिङ गरेका अफ्रिदीले ३२ रन खर्चिँदा कुनै विकेट लिन सकेनन्। उनको दोस्रो खेल हेर्ने क्रिकेट प्रेमीको आशामा वर्षा बाधक रह्यो।
 
चन्द्रपउल हेमराज (विराटनगर वारियर्स)
इपीएलमा विराटनगर वारियर्स यो संस्करणमा लिग चरणबाटै बाहिरिने पहिलो टोली बन्यो। इपीएलका ५ खेलमध्ये १ मा जित निकालेको विराटनगरले ४ खेलमा हार भोग्यो।

विराटनगरले यो संस्करणमा वेष्ट इन्डिजका ओपनर ब्याटर चन्द्रपउल हेमराजलाई टोलीमा अनुबन्ध गरेको थियो। इपीएलमा चल्न नसकेका खेलाडी मध्ये हेमराज पनि पर्छन्। उनले खेलेका ४ खेलमा ३० रन मात्र बनाउन सके।

चितवन टाइगर्ससँगको पहिलो खेलमा २ रनमा बोल्ड आउट भएका उनले भैरहवा ग्लाडियर्टससँगको दोस्रो खेलमा ४ बलमा शुल्य रनमा क्याच आउट हुँदै पवेलियन फर्के। साविक विजेता ललितपुर प्याट्रियट्ससँगको खेलमा भने उनले केही सुधारिएको प्रदर्शन गरे। १३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाए। इपीएलमा उनले बनाएको सर्वाधिक रन नै २८ हो।

पोखरा राइनोजसँग आफ्नो अन्तिम खेल खेलेका हेमराजले ६ बलमा २ रन जोड्दा बोल्ड भए। बलिङतर्फ पोखरासँगको खेलमा १ ओभर बलिङ गरेका उनले ६ रन खर्चिए।

 तमिम इकवाल (भैरहवा ग्लाडियर्टस)
बगंलादेशका ओपनर ब्याटर तमित इकवाल यो संस्करणको इपीएलमा भैरहवा ग्लाडियर्टसबाट खेले। उनले खेलेका कुल ६ खेलमा कुल ७५ रन जोडे। भैरहवा र पोखरा राइनोजबीचको खेल १०. १ ओभर हुँदा पानी परेपछि दुवै टोलीले अंक बाँडेका थिए। दोस्रो खेलमा विराटनगर वारियर्ससँगको खेलमा उनले १२ रन जोड्दा क्याच आउट हुँदै पवेलियन फर्के।

साविक विजेता ललितपुर प्याट्रियट्सँगको खेलमा भने उनले १४ रन थपेका थिए। तमिम ललितपुरसँगको खेलमा पनि क्याच आउट भएका थिए। लिग चरणको अन्तिम खेलमा चितवन टाइगर्ससँग भने उनले ४० रन जोडेका थिए। ३० बलको सामना गरेका उनले ५ चौका र १ छक्का मद्दतमा ३० रन बनाउँदा भिम सार्कीको बलमा बोल्ड आउट भए। 

इपीएलको एलिमिनेटर खेलमा काठमाडौ किंगस इलाभेनविरुद्ध तमिमले ९ रन जोडे। ९ बलको सामना गरेका तमिमले १ चौका हाने। क्वालिफायर खेलमा भने चोटका कारण उनी टोली बाहिरै रहे। 

रिचार्ड लेवी (पोखरा राइनोज) 
इपीएलमा पोखराले खेलेको ६ खेलमा नै ओपनरको रुपमा मैदान आएका साउथ अफ्रिकाका ओपनर ब्याटर रिचार्ड लेवीले कुल १ सय ५५ रन मात्र जोड्न सके। पछिल्लो संस्करण पनि पोखराबाट खेल्दा उत्कृष्ट प्रदर्शन गरेका उनले यो संस्करण अपेक्षाकृत रुपमा प्रदर्शन गर्न सकेनन्। 

इपीएलको पहिलो खेलमा पहिले ब्याटिङ गरेको पोखराले १०.१ ओभरको खेल जारी रहँदा पानी परेपछि भैरहवासँग अंक बाँडेको थियो। सो खेलमा रिचार्ड २ बलमा शुन्य रनमा क्याच आउट भएका थिए। 

साविक विजेता ललितपुरसँगको खेलमा भने उनी ३८ रनको नटआउट इनिङ्ग खेले। चितवनसँगको खेलमा २० रनमा क्याच आउट भएका उनी विराटनगर वारियर्ससँग ४७ रनमा क्याच आउट भए।  विराटनगरविरुद्ध रिचार्डले बनाएको ४७ रन नै इपीएलमा उनले बनाएको सर्वाधिक रन हो। लिग चरणको अन्तिम खेलमा काठमाडौं किङ्स इलाभेनसँग १७ रन बनाएका थिए। 

इपीएलको पहिलो क्वालिफायर खेलमा रिचार्डले १९ रन बनाएका थियो। ६६ रनमा नै प्याक अप भएको पोखराका लागि रिचार्डले सर्वाधिक १९ रन बनाएका थिए। सो खेलमा ३ खेलाडीले दोहोरो अंकको स्कोर छुँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। इपीएलको दोस्रो क्वालिफायर खेलमा रिचार्डले १४ रन जोड्दा रन आउट भए। 

सेकुके प्रसन्न (चितवन टाइगर्स)
श्रीलंकाका अलराउन्डर सेकुगे प्रसन्नले इपीएलमा ३ खेल खेल्ने मौका पाए। विराटनगर वारियर्ससँगको आफ्नो पहिलो खेलमा उनले ब्याटिङ बलिङ दुवैको मौका पाए। पहिलो खेलमा ३ बलमा ३ रन बनाउँदा रनआउट भएका प्रसन्नले बलिङतर्फ भने १ ओभरमा १७ रन खर्चे। 

काठमाडौ किङ्स इलाभेनसँगको खेलमा ३ बलमा १ चौका हान्दै ५ रन बनाउँदा जितेन्द्र मुखियाको बलमा एलबीडब्लु धरापमा परे। बलिङतर्फ ३ ओभरमा २० रन खर्चेर १ विकेट झारे। 

भैरहवा ग्लाडियर्टसविरद्धको खेलमा ११ बलमा ३ छक्का प्रहार गर्दै २४ रन बनाए। अभिनास बोहोराको बलमा चिम सार्कीबाट क्याच आउट हुँदै पवेलियन फर्केका थिए। बलिङतर्फ चुटिएका सेकुगेले ४ ओभरमा ५३ रन खर्चिँदा कुनै विकेट झार्न सकेनन्। 

पोखरा राइनोजसँगको पहिलो क्वालिफायर खेलमा चितवनले ९ विकेटले जित निकाल्दा ब्याटिङ, बलिङ दुवै गर्नु परेन। 

समग्रमा उनले इपीएलमा ३७ रन जोड्दा १ विकेट मात्र लिए। 

ओसादा फर्नान्डो (ललितपुर प्याट्रियोट्स) 
श्रीलंकाका टप अर्डर ब्याटर ओसादा फर्नान्डोले इपीएलमा कुल ३ खेल खेल मात्र खेले। उनले खेलेका ३ खेलमा जम्मा ३४ रन मात्र बनाए। काठमाडौ किंग्स इलाभेनसँगको पहिलो खेलमा ४ रनमा एलबीडब्लु  धरापमा परे। 

दोस्रो खेलमा पोखरा राइनोजसँगको खेलमा १० रनमा नटआउट रहे। भैरहवा ग्लाडियर्टस्सँगको आफ्नो तेस्रो खेलमा उनी २० रन जोड्दा बोल्ड आउट भए। १९ बलमा २ चौका र १ छक्का हानेका ओसादाले इपीएलमा जोडेको सर्वाधिक रन नै यही रह्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .