ad ad

खेल


इपीएल फाइनल: दुवै कप्तानको उपाधि जित्ने दाबी

इपीएल फाइनल: दुवै कप्तानको उपाधि जित्ने दाबी

लक्ष्मी जि.सी
असोज २२, २०७८ शुक्रबार १७:११, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (इपीएल) को चौथो संस्करणको उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन्। 

पोखराले दोस्रो क्वालिफायरमा उपाधि दावेदार भैरहवा ग्लाडियर्टस्लाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो। यता चितवनले भने पहिलो क्वालिफायर खेलमा पोखरामाथि ९ विकेटको फराकिलो जित निकाल्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो। 

पहिलो पटक फाइनल पुगेका दुवै टोली उपाधि जित्न आतुर छन्। 

चितवनका कप्तान सोमपाल कामीले फ्रेन्चाइज क्रिकेटमा आफ्नो टोलीलाई दोस्रो पटक उपाधि नजिक पुर्याएका हुन्। यता विनोद भण्डारीले भने आफ्नो कप्तानीमा रहेको टोलीलाई कुनै पनि फ्रेन्चाइज प्रतियोगिताको उपाधि नजिक पुर्याएका हुन्। कप्तान भण्डारी मात्रै हैन पोखरा पनि पहिलो पटक इपीएलको फाइनलमा पुगेको हो। 

चौथो संस्करणको इपीएलमा पोखरा र चितवन तेस्रो पटक भिड्न लागेका हुन्। लिग चरणमा पोखरालाई ९ विकेटले हराएको थियो। 

लिग चरणमा एक खेलमा जित र ४ खेलमा जित निकाल्दै चितवनले क्वालिफायरमा स्थान बनाएको थियो। 

पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले हराउँदै फाइनल पुगेको चितवनका कप्तान सोमपाल कामीले भने, 'सुरुवातमा कसैले सोचेको चितवनले फाइनल खेल्छ भनेर किनकि हामीमा जुनियर खेलाडीहरु धेरै थिए तर मलाई उनीहरुमा विश्वास थियो। मैले टिम व्यवस्थापनलाई पनि भनेको थिए की यो पटक हामी फाइनल खेल्छौ भनेर। मेरो प्लानिङ अनुसार काम भयो भने हामीले उपाधि जित्न पनि सक्छौ।' 

'अब विगतलाई हेरेर हुँदैन, राम्रो खेल्ने हो। प्रेसरभन्दा जिम्मेवार भयो भने जित्न सकिन्छ। र मलाई मेरो टोलीमा विश्वास छ। दुई खेल खेलिसकेको भएर कमजोरी दुवै टोलीलाई थाहा छ। भोलि जित्छौ भन्ने छैन जति खेल्दैछौँ प्रेसर नसोची खेल्ने हो।' 

पोखराले भने ३ खेलमा जित निकाल्दा एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो। 

लिगको सुरुवातबाट नै वर्षाको साथ पाइरहेको पोखराले भैरहवासँगको पहिलो खेलमा नै अंक खोस्न सफल भयो। १० दशमलव १ ओभरमा ७ विकेट गुमाएर ६५ रनमा खेल चलिरहँदा पानी परेपछि पोखरा र भैरहवाले एक एक अंक बाँडे। 

दोस्रो खेलमा काठमाडौ किंग्स इलाभेनसँगको खेल जारी रहँदा पानी परेपछि पोखराले डिएल म्याथडका आधारमा १४ रनले जित निकालेको थियो। 

भण्डारी भन्छन्, 'हामी भाग्यले यहाँसम्म आएको हैन, मेहनत गरेर नै आएको हो। भाग्यले कुनै टिम आउँदैन, खेलाडीको मेहनत हुन्छ, त्यो मेहनतले नै टिम माथि आउने हो। पानीका कारण केही खेलहरु गाह्रो भयो, फाइनल सम्म पुगेका छौँ। फाइनल हो त्यो कारण पनि लिगको बारेमा धेरै सोचेर बस्न पर्दैन। फाइनलमा जुन टिमले राम्रो खेल्छ त्यसले जित्ने हो। फाइनलमा पुगेपछि राम्रो टिम पुगेको हो। फाइनल भनेपछि प्रेसर त हुन्छ नै तर कसरी खेल्ने भन्ने हो। पहिलो पटक फाइनल खेल्दैछु भन्यो भने झन् प्रेसर हुन्छ। ब्याटिङमा हामीले राम्रो गर्न सकेका छैनौ, चितवनको ब्याटिङ देखेका छौ हेरौँ अब फाइनलमा के हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .