नासिर याह्या हुसेन नयाँ राष्ट्रिय किर्तिमान १५ औँ फिना विश्व च्याम्पियनसिप २०२१ मा छनोट भएका छन्।
नेपाल पौडी संघले आइतबार आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन्।
यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर शाहको नाममा २ मिनेट ००.०४ सेकेण्डको किर्तिमान थियो। शाहले सो किर्तिमान २ वर्षअघि काठमाडौंमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा बनाएका थिए।
दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनौट भएका छन्।
ओलम्पियन शाह र गौरिका सिंह छनोट प्रतियोगितामा सहभागी हुन नसकेपछि नेपाल पौडी संघले ओलम्पिकको प्रर्दशनलाई हेरेर छनोट गर्ने निर्णय गरेको थियो। सो अनुसार शाहको फिना अंक र मापदण्ड पुगेपछि छनोट भएका छन्। तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेकाले सहभागी हुन नसकेको संघले जनाएको छ।
महिला तर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपका लागि छनोट भए। अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनोट भएका छन्।
छनौट प्रतियोगितामा पुरुष १०० मिटर बटरफ्लाइमा ५९.१० सेकेण्डमा दूरी पुरा गर्दै अनुभव सुब्बाले पनि राष्ट्रिय किर्तिमान कायम गरे। सो दूरीको किर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको रहेको थियो। शाहले सो किर्तिमान नेपालगञ्जमा आयोजना भएको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा बनाएका थिए।
Shares

प्रतिक्रिया