भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ४ वर्ष मात्रै नाघेको छ।
अन्तर्राष्ट्रिय सफलता भन्दा देशभित्रको गतिविधि, सहज पहुँच, कम खर्चमा पनि आयोजना र भूगोल सुहाउँदो भएकै कारण भलिबललाई राष्ट्रिय खेल बनाइएको हो।
२०७४ जेठ ८ गते पहिलो पटक भलिबल राष्ट्रिय खेल घोषणा हुनु केहीअघि मात्रै नेपालको पुरुष भलिबल टोलीले एभिसी सेन्ट्रल जोनमा कास्य पदक जित्दै इतिहास रचेको थियो।
पुरुष टोलीले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक थियो। दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म पदक जित्न नसकेको पुरुष टोलीका लागि त्यो सफलता सर्वाधिक ठूलो नतिजा हो।
पुरुषको दाँजोमा महिला टोलीले अझै उल्लेख सफलता हात पारेको छ। राष्ट्रिय खेल घोषणा हुनुअघि नै महिला टोलीले सागका तीन संस्करण (सन् १९९९, २००६ र २०१६) मा कास्य पदक जितेको थियो। राष्ट्रिय खेल घोषणा भएपछि महिला टोलीको सफलता अझै चुलियो।
दुई वर्षअघि एक महिनाबीचमा नेपाली महिला टोलीले ठूलो सफलता पाएको थियो। २०७६ कात्तिकमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेर फर्कियो।
लगत्तै मंसिरमा स्वदेशमा भएको १३ औँ सागमा रजत पदक जितेको थियो। साग इतिहासमा नेपालले रजत जितेको त्यो नै पहिलो पटक थियो।
लगातारको सफलतापछि महिला टोलीबाट बढी नै अपेक्षा गर्न थालिएको छ। त्यही पृष्ठभूमिलाई आधार मान्दै नेपाल भलिबल संघले महिला टोलीलाई एसियन च्याम्पियनसिप खेलाउन प्रक्रिया अघि बढाएको थियो। यद्यपि फिलिपिन्समा हुने भनिएको उक्त च्याम्पियनसिप कोरानाका कारण स्थगित भयो।
महिलातर्फ नेपाल साविक विजेता रहेको सेन्ट्रल जोन च्याम्पियनसिप यसपटक पनि बंगलादेशमा आयोजना हुँदैछ। पुस ६ देखि १४ गते सम्म महिला र पुरुष च्याम्पियनसिप एकै समय हुँदैछ।
चुनौती
महिलातर्फ यसअघि नेपालसहित अफगानिस्तान, बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स सहभागी थिए। एकै सेट नहारी च्याम्पियन बनेको नेपालले यसपटक यसअघिका टोलीसहित श्रीलंका र उज्वेकिस्तानको चुनौतीको सामना गर्नुपर्नेछ।
कोरोनाकै कारण १३ औँ सागपछि अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन। त्यसकारण दुई वर्षपछि नेपाली टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि निस्कँदैछ।
महिला टोलीका लागि सबैभन्दा चुनौती यसअघिको सफलताको रक्षा हुनेछ। यसबीचमा भलिबलका घरेलु गतिविधि चलायमान हुन थालेको छ। केही साताअघि मात्रै एनभीए क्लब च्याम्पियनसिप आयोजना भएको थियो।
नेपाललाई एैतिहासिक सफलता दिलाएका जगदीश भट्टले नै यसपटक पनि महिला टोलीलाई प्रशिक्षण दिँदैछन्।
भिडियो
नयाँ दुई टोली थपिए पनि आफ्नो टोलीलाई उपाधि रक्षामा कठिन नहुने उनको विश्वास छ। प्रशिक्षण सुरु गरेको दोस्रो दिन भट्टले भने, 'पहिलेकोमा दुई टोली थपिने सुनेका छौँ। हामी उपाधि रक्षाकै लागि खेल्छौँ। थपिने टोलीहरू पनि हामी जस्तै हुने भएकाले पनि नेपाललाई ठूलो असर पर्दैन।'
अहिले बन्द प्रशिक्षणमा २० खेलाडी छन्। एशियन च्याम्पियनसिपका लागि प्रशिक्षण गरे पनि बीचमा चाडबाडका कारण सबैजना घर गएकाले फिट्नेसमा ध्यान दिइरहेको भट्टले बताए।
'बीचमा कोरोना नभएको भए थुप्रै अन्तराष्ट्रिय प्रतियोगिता खेल्थ्यौँ, अहिले सहभागी हुने टोली पनि कोरोनाले गर्दा प्रशिक्षण नहुँदा उस्तै हुन्छ', भट्टले थपे, 'तर पहिलाको भन्दा चुनौतीपूर्ण छ, उपाधि जोगाउनु त छ नै, पहिलाको भन्दा बलिया टोली आउने भएकाले प्रशिक्षण र रणनीतिलाई ध्यान दिनुपर्छ। खेलाडी पनि उपाधि रक्षा गर्न लागेका छन्। नेपाललाई फेरि स्वर्ण पदक दिलाउने विश्वास छ।'
तयारी नपुग्ने
अघिल्लो संस्करणमा भन्दा यसपटक तयारी पर्याप्त नहुने भएको छ। अघिल्लो पटक नेपाली टोलीले थाइल्याण्डमा तयारी गरेको थियो।
जहाँ आफूभन्दा बलिया टोलीहरूसँग मैत्रीपूर्ण खेलको अवसर पाएको थियो। यसपटक महिला टोलीसँग त्यो मौका छैन।
अभ्यास खेलका रुपमा यसपटक स्वदेशकै पुरुष टोलीसँग खेलाउने तयारी भइरहेको भट्टले बताएका छन्।
टोलीकी कप्तान अरुणा शाही पनि भट्टकै भनाइमा सहमति जनाउँछिन्। उपाधि रक्षाको लक्ष्यका साथ बंगलादेश जाने उनी बताउँछिन्।
'भर्खरै प्रशिक्षण सुरु भएको छ', उनले भनिन्, 'उपाधि रक्षा गर्नु हाम्रो लागि महत्वपूर्ण हो। हामी उपाधिका रक्षाकै लक्ष्यसहित जानेछौँ।'
टोलीको कप्तानी गर्दा त्यसको दबाब पनि रहने शाही सुनाउँछिन्। 'कप्तान हुनुको नाताले केही दबाब महसुस त हुन्छ नै। नयाँ टोली कस्तो होला भन्ने छ। उनीहरुबारे जान्न भिडियो पनि हेरिरहेका छौँ', उनले भनिन्, 'यो पटक अझ धेरै मिहिनेत गरेर उपाधिका लागि खेल्नुपर्ने छ।'
टोलीकी स्पाइकर सरस्वती चौधरी उपाधि रक्षाको दबाब रहेको स्वीकार्छिन्। 'समर्थकलाई निराश हुन नदिन मिहिनेत गरिरहेका छौँ', उनले भनिन्, 'गुरुहरूले पनि त्यति अनुसार मेहनत गरिराख्नु भएको छ। उपाधि रक्षा गर्नेमा आशावादी छौं।'
एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडीसँगै विभागीय टोली नेपाल पुलिसका तीन खेलाडी (कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ) लाई थपेर प्रशिक्षण भइरहेको छ।
उज्वेकिस्तान नेपालका लागि नौलो प्रतिद्वन्द्वी भए पनि श्रीलंका दक्षिण एशियामा नेपाललाई चुनौती दिने टोली हो।
एकै सेट नहारि उपाधि जितेर फर्केको नेपाली टोलीका लागि यसपटक विगतको प्रदर्शन दोहोर्याएर उपाधि जित्नु चुनौतीपूर्ण हुने देखिन्छ।
प्रशिक्षणमा सहभागी खेलाडी
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, निरुता ठगुन्ना, उषा भण्डारी, रेश्मा भण्डारी, सफिया पुन, मनिषा चौधरी, कविता भट्ट, उषा विष्ट, सुनिता खड्का, सलिना श्रेष्ठ, सरस्वती जैसी, अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी, लक्ष्मी चन्द, कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङ।
Shares
प्रतिक्रिया