सातौं धारा नेपालगन्ज म्याराथनमा सबै विधामा पुरस्कार राशीमा वृद्धि गरिएको छ।
म्याराथन (पुरुष) तथा हाफ म्याराथन (महिला)मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने आयाेजकले जनाएका छन्।
पर्सि शनिबार हुने नेपालगञ्ज म्याराथनको विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ ।
त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन्। १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन्।
त्यसैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन्। ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन्।
कार्यक्रममा मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्ज म्याराथनसँग निरन्तर साझेदारी गर्न आफुहरु तयार रहेको बताउँदै यसका विजेतालाई अन्तर्राष्ट्रिय सहभागि हुन लायक खेलाडीका हकमा वर्षभरिको प्रशिक्षण खर्च व्यवस्थापन गर्न आफूहरु सदैव तत्पर रहेको घोषणा गरे।
आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई नगद २५ हजारले अलग पुरस्कृत गर्ने र विदेशी भूमिमा राष्ट्रिय रेकर्ड बनाउने खेलाडीलाई नगद ५० हजारले पुरस्कृत गर्ने घोषणा गरे।
शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथराले सातौं धारा नेपालगन्ज म्याराथनको विजेता अन्तर्राष्ट्रिय सहभागिता हुने हकमा आफ्नो ब्रान्डबाट यथाशक्य सहयोग हुने बताए।
राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले पवित्र उद्देश्य बोकेको अभियानलाई निरन्तर साथ दिने वचन दिए।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले नेपालगन्ज म्याराथनको व्यवस्थापकीय विशेषता र स्तरीकरणको अभ्यास हेर्दा आठौं बर्षमा पुग्दा अन्तर्राष्ट्रिय धावक ल्याउन सफल हुनेमा विश्वस्त रहेको बताए।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए। त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्।
पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन्।
Shares

प्रतिक्रिया