ad ad

खेल


ए डिभिजन लिग : यो सिजनमा के के हुँदैछन् नयाँ अभ्यास?

ए डिभिजन लिग : यो सिजनमा के के हुँदैछन् नयाँ अभ्यास?

फाइल तस्वीर


लक्ष्मी जि.सी
मंसिर ३, २०७८ शुक्रबार ११:४८, काठमाडौँ

लिगलाई फुटबल विकासको मेरुदण्ड मानिन्छ। फुटबल विकासको न्यूनतम आधारमा रुपमा लिइने लिग नेपालका हकमा भने फरक फरक अनुभवका साथ आयोजना हुँदै आएको छ। नेपालमा धेरै खाले परीक्षण पनि लिगमै भएका छन्।

कहिले सिंगल, कहिले डबल, राष्ट्रिय लिग, सुपर एट, सुपर सिक्स हुँदै तीन वर्षअघि रेलिगेसन विनाको लिग पनि आयोजना भएको इतिहास छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले परीक्षणका रुपमा लिग आयोजना गर्दा शंकाको लाभ दिएपनि रेलिगेसन विनाको लिग गर्दा भने चर्को आलोचना खेप्नु परेको थियो।

सम्भवतः एन्फाले फेरि रेलिगसेन नराख्ने गल्ती गर्ने छैन। लिगमा घटुवा, बढुवाको प्रक्रिया भएन भने त्यो आयोजना हुनुको खास अर्थ रहँदैन। च्याम्पियनको प्रतिस्पर्धा र रेलिगेसनबाट जोगिनु दुवै लिगका लागि उत्तिकै रोचक हुन्छ। विना रेलिगेसनले त्यसको रौनकतालाई नै मारिदिन्छ।

कोरोना महामारीका कारण हुन नसकेको सहिद स्मारक ए डिभिजन लिग शुक्रबारबाट सुरु हुँदै छ। दुई टोली डेलिगेसनमा पर्ने लिगमा अघिल्लो संस्करणमा भन्दा केही नयाँ प्रयोग हुँदै छन्। विगतमा भन्दा लिग आयोजनाको मैदानको संख्या बढाएको छ, खेलाडीको स्वास्थ्य परीक्षण, फ्लडलाइटमा पहिलो पटक लिग र खेलाडीको स्वास्थ्य जाँच यसअघिको भन्दा फरक अभ्यास हुँदै छ।

लिग आयोजनाका लागि एन्फाले ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। विजेताले ७५ लाख रुपैयाँ पाउने लिगका लागि कतार एयरवेजले १ करोड ७८ लाख रुपैयाँ प्रायोजन गरेको छ।

ललितपुरका दुई क्लब फ्रेन्ड्स क्लब र सातदोबाटो क्लबबीच यसपटकको उद्घाटन खेल हुँदैछ। सातदोबाटोले पहिलो पटक ए लिग खेल्न लागेको हो। यो संस्करणको लिगमा एन्फाले केही नयाँ प्रयोग गर्दैछ त्यसमा एन्फा कति सफल हुन्छ त्यो भने समयले नै बताउनेछ।
 
लिग चार मैदानमा खेलाउने तयारी
 यसअघि दशरथ रंगशाला र सातदोबाटो एन्फा कम्प्लेक्समा रहेको कृत्रिम मैदानमा हुने गरेको थियो। यसपटक भने चार मैदानमा गर्ने एन्फाको तयारी छ। यसअघिका दुईसहित च्यासल फुटबल मैदान र पोखरा रंगशालामा लिग गर्ने एन्फाले बताएको छ। च्यासल मैदानमा पहिलो पटक ए डिभिजन लिग हुँदैछ।

राष्ट्रिय लिग यसअघि बुटवल र पोखरामा गरेको अनुभव भएपनि ए डिभिजन लिग भने पहिलोपटक पोखरा रंगशालामा पनि गर्ने एन्फाको योजना छ। पोखरा रगंशालालाई मनाङ मर्स्याङ्दी क्लबले घरेलु मैदानको रुपमा प्रयोग गर्ने गरि सम्झौता गरिसकेको छ। मनाङकै आग्रहमा पोखरामा लिग गर्ने तयारीमा एन्फा रहेको बताइएको छ। तर त्यसको लागि अन्य क्लब पनि तयार हुनुपर्ने लिग निर्देशक सञ्जीव मिश्र बताउँछन्। विगतमा जस्तै यसपटक पनि लिगका धेरै लिग भने दशरथ रंगशालामा नै हुँदै छ।

फ्लडलाइट र विकेन्ड लिग

पहिलो पटक ए डिभिजन लिग फ्लडलाइटमा हुँदै छ। लिगमा लगातार खेल हुने भन्दै विगतमा आलोचना गरेको थियो। खेलाडीले आराम नपाउने कारणले चोट लाग्ने र स्वभाविक प्रदर्शन गर्न नसक्ने भएकोले लिग लामो समयसम्म चल्नुपर्ने मत थियो।

त्यसैलाई ध्यानमा राख्दै एन्फा यसपटक शुक्रबार, शनिबार र आइतबार लिग गराउने तयारीमा छ। लिगका सुरुवाती दुई चरणका खेलहरु भने दशरथ रंगशालामा आयोजना गर्ने गरी एन्फाले खेल तालिका सार्वजनिक गरिसकेको छ। दिनमा दुई खेल भएका दिन पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल अपरान्ह साढे ४ बजे सुरु हुनेछ। दोस्रो खेल भने फ्लडलाइटमा हुनेछ।

दर्शक तान्ने उपाय
विगतमा लिगकै केही खेलमा दशरथ रंगशालाको क्षमताअनुसारको दर्शक पुग्ने गरेका थिए। तर, विस्तारै लिगमा दर्शकको आकर्षण घट्दै गएको छ। एन्फाले दर्शकको संख्या बढोस् भन्नका लागि अघिल्लो संस्करणमा विभिन्न प्याकेज ल्याएको थियो। तर, त्यसले पनि दर्शकको संख्या बढाउन सकेन। यसपटक एन्फाले प्याकेजका रुपमा टिकटको मूल्य घटाएको छ। साधारण प्यारापिटतर्फ १ सय र भिआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ।

लिगका निर्देशक मिश्र दर्शकको संख्या बढाउनकै लागि टिकट मूल्य सस्तो गरिएको बताउँछन्। उनले भने, पुनर्निर्माण भएको रंगशालामा फ्लडलाइटमा खेल हुने भएकाले पनि यसअघि भन्दा दर्शक बढी आउने आशा राखेका छौं।

कोरोना महामारीकै बीचमा वैशाख जेठमा भएको नेपाल सुपर लिग (एनएसएल) विना दर्शक भएको थियो। कोरोना संक्रमणमा कमी आएसँगै हुन लागेको ए डिभिजन लिगले दर्शकलाई कति आकर्षित गर्न सक्छ त्यसका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ। कोभिड–१९ को संक्रमण पूर्णरुपमा नियन्त्रण भइनसकेकोले त्यसविरुद्धको न्यूनतम मापदण्डलाई पनि पूरा गराउने एन्फाले जनाएको छ।

म्याच फिक्सिङ प्रमाणित भए जेल सजाय हुन सक्ने

खेल मिलेमतोलाई खेल विकासको सबैभन्दा बाधकका रुपमा मानिन्छ। मैदान बाहिरै नतिजाका बारेमा तय हुनु भनेको खेल विकासमा रोग नै मानिन्छ। लिगमा विगतमा पनि खेल मिलेमतोको पटक पटक आशंका गरिएपनि प्रमाणित भने हुन सकेन। 

यसपटक रेलिगसनसहितको लिग हुँदैछ। यसपटक खेल मिलेमतोका बारेमा छानबिन गर्न अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा कमिटी बनाइसकेको लिगका प्रमुख विज्ञान राज शर्माले बताए। उनले भने, यसका लागि हामीले लोकल प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) सँग मिलेर काम गछौँ। म्याच फिक्सिङ एक अपराध हो यो प्रमाणित भयो भने जेल सजाय हुन्छ। टेक्निकल रुपमा छानविन गछौँ, उस्तै परे एफसी र फिफासँग पनि सहयोग लिन्छौँ।

म्याच मनि
लिगका लागि सहभागी १४ टोली झन्डै दुई महिनादेखि तयारीमा जुटेका छन्। निर्देशक मिश्रको नजरमा सबै टोलीको स्तर लगभग उस्तै छ। उनले भने, यो वर्ष सबै टोली उस्तै छ। कसले कस्तो खेल्छ र जित्छ भन्ने छ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने आशा गरिएको छ। विगतमा भन्दा फरक यसपटक म्यान मनीको व्यवस्था गरिएको छ। खेल जित्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ भने बराबरीमा रोकिएको खेलमा दुवै टोलीले समान २५ हजार रुपैयाँ पाउनेछन्।
 
खेलाडीको स्वास्थ्य जाँच
यो पटकको ए डिभिजन लिग अघि सबै खेलाडीको अनिवार्य स्वास्थ्य जाँच गरिनेछ। युरो कप फुटबलमा डेनमार्क र फिनल्यान्डको खेल चलिरहँदा त्रिश्टियन एरिक्सन मैदानमा लडेपछि खेलाडीको स्वास्थ्यप्रति थप सजगता अपनाइएको छ। त्यसैको अनुशरण गर्दा नेपालमा पनि पहिलोपटक बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीको स्वास्थ्य जाँच गराइएको थियो।

सो क्रममा डिफेन्डर पुनम जर्गा मगरको मुटुमा प्वाल देखिएको थियो। त्यसपछि राष्ट्रिय टोलीबाट बाहिर राखेर एन्फाले पुनमको शल्यक्रियाको व्यवस्था मिलायो र अहिले उनी स्वास्थ्य लाभ गरिरहेकी छिन्।

यो स्वास्थ्य जाँचको प्रक्रियालाई एन्फाले लिगमा पनि निरन्तरता दिएको छ। सहभागी क्लबका खेलाडीले प्रि कम्पिटिशन मेडिकल असिसमेन्ट (पीसीएम) गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .