ad ad

खेल


बेइजिङ विन्टर ओलम्पिक खेल्ने सफलरामको यात्रामा धक्का, छनोट खेल्न युरोप जाने टिकट रद्द

बेइजिङ विन्टर ओलम्पिक खेल्ने सफलरामको यात्रामा धक्का, छनोट खेल्न युरोप जाने टिकट रद्द

लक्ष्मी जि.सी
मंसिर ८, २०७८ बुधबार ७:५९, काठमाडौँ

ग्रीष्मकालीन (समर) ओलम्पिक नेपाली खेलाडीको सहभागिता ​जति सम्भाव छ, त्यति शीतकालीन (विन्टर) मा छैन। त्यसो त ओलम्पिकमा नेपालको सहभागिता नै ठूलो उपलब्धी हुने गरेको छ। विन्टरको अवस्था त्यो भन्दा पनि पर छ।

एक त नेपालमा शीतकालीन खेल नै हुँदैन। त्यसमा यदाकदा सहभागी हुने गरेको छ। विदेशमा बस्ने नेपाली खोजेर पनि शीतकालीन ओलम्पिकमा खेलाडी पठाएको इतिहास छ। केही वर्षयता शीतकालीन खेलाडी उत्पादन प्रयास भए पनि पर्याप्त छैन।

बेइजिङ विन्टर ओलम्पिक सुरु हुन साढे दुई महिना कम समय छ। माघ २१ देखि फागुन ८ गते सम्म शीतकालीन ओलम्पिक हुँदैछ। तर, त्यो ओलम्पिकमा सहभागिता जनाउने अपेक्षा गरिएका सफलराम श्रेष्ठलाई केही दिनअघि चोट लागेपछि नेपालको सहभागिता अनिश्चित बनेको छ।

हिउँमा हुने ओलम्पिकमा यसपटक ७ खेलका १५ विधामा १ सय ९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछन्। युरोपमा अब हिउँ पर्ने समय सुरु हुँदैछ।

नेपाली खेलाडीले शीतकालीन ओलम्पिक छनोट तयारी युरोपमै गर्छन्। यसपटक सफलराम श्रेष्ठले स्कीको अल्पाइन विधामा प्रतिस्पर्धा तयारी गरेका थिए। उनले भाग लिने सम्भावना भएको यो विधाको प्रतिस्पर्धा माघको २३ गते हुने तालिका छ।

स्कीको सम्भाव्यता अध्ययन गरिए पनि नेपालमा हिउँमा हुने खेल औपचारिकताका लागि मात्रै आयोजना भएका छन्। प्रतिस्पर्धात्मक वा खेलाडी उत्पादनका हिसाबले हुन सकेको छैन।

त्यस्तोमा विदेशमा बसोबास गरेर खेल्दै आएका नेपाली खोजेर नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विगतमा सहभागिता गराएको थियो। सहभागी जुटाउन मुस्किल भएपछि खेलाडी उत्पादनको केही प्रयास भएको छ, तर सन्तोषजनक छैन।

सफलराम स्की खेलाडी भन्दा पनि एनओसी अध्यक्ष समेत रहेका संघिय संसद जीवनराम श्रेष्ठका छोराका रुपमा बढी परिचित छन्।

उनले नै यसपटकको विन्टर ओलम्पिक खेल्ने सम्भावना थियो। तर, त्यसका लागि उनले न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। चोटका कारण सहभागिताको सम्भावना कम हुँदै गएको सफलराम आफैँ बताउँछन्।

‘अहिले नै सहभागिता हुँदैन त नभनौं’, नेपालखबरसँग उनले भने, ‘तर यो पटक सहभागिताको सम्भावना एकदम कम छ।’

यसपटक विन्टर ओलम्पिकमा भाग लिन खेलाडीले माघ २ गते सम्म छनोट चरण पार गरिसक्नुपर्ने हुन्छ। तर, चोटका कारण छनोटमा जाने सम्भावना कम रहेको सफलरामले बताए।

दुई हप्ताअघि उनको खुट्टामा चोट लागेको थियो। अहिले दुखाई कम भए पनि पूर्ण ठीक भइनसकेको उनले बताए।

‘कहिले ठिक भएर खेल्न सकिन्छ एकिनसँग भन्न सक्दिनँ। छनोट खेल्न जाने तयारी त हो। चोट नलागेको भए आज भोलिमा नै जाने थिएँ’, उनले भने, ‘चोट नलागेको भए नोभेम्बरबाट जनवरीसम्म छनोट खेल्ने तयारी थियो। अहिले टिकट पनि क्यान्सिल गर्यौं।’

२३ वर्षे सफलरामले स्की खेल्न थालेको ८ वर्ष भइसकेको छ। सन् २०१६ मा नर्वेमा भएको युथ ओलम्पिकमा उनले नेपालको प्रतिनिधित्व गरेका थिए। त्यति बेलाको अनुभव सुनाउँदै उनले भने, ‘स्की नेपालमा नै नयाँ खेल हो, त्यो बेला पहिलो पटक सहभागी भएको थिएँ। त्यहाँ सिक्ने मौका पाएँ।’

सफलरामले विन्टर ओलम्पिकमा भाग लिन ८० प्वाइन्ट घटाउनु पर्ने हुन्छ। स्कीको अन्तर्राष्ट्रिय महासंघले मान्यता दिएको प्रतियोगिता खेल्दै जाँदा रेटिङ घटाउँदै जाने सम्भावना रहन्छ।

‘सुरुमा ९ सय प्वाइन्टबाट घटाउँदै जाने हो’, उनले भने,  ‘अहिले मेरो २ सय ४० प्वाइन्ट छ। १ सय ६० भन्दा कम भएका खेलाडीले मात्रै विन्टर ओलम्पिक खेल्न पाउँछन्’, सफलरामले अब ४ वटा खेल खेल्न मिलेको अवस्थामा आफ्नो स्कोर १६० भन्दा कम हुने सम्भावना रहेको बताए।

कोरोनाका कारण विगतमा युरोपियन मुलुकले स्की प्रतियोगिता स्थगित गरेपछि त्यसको असर सफलरामको स्कोरमा परेको छ। आफू जस्तै अन्य खेलाडी पनि कोरोनाका कारण प्रतियोगिता नहुँदा मारमा परेको सफलराम सुनाउँछन्।

ओलम्पिक खेल्ने मौका गुम्ला भन्नेमा सफलराम निराश छन्। उनले भने, ‘छनोटका लागि कम समय बाँकी छ। पहिला जुन जोश थियो, चोटपछि समय कम हुँदै जाँदा त्यो पनि बिस्तारै कम हुँदै गएको छ।’

विन्टर ओलम्पिकका लागि एनओसीले दुई जना खेलाडी तयार पारिरहेको थियो। तर अहिले सफलराम मात्र त्यो दौडमा छन्।

एनओसीले क्रस कन्ट्रीका लागि एक जना महिला खेलाडीलाई तयारीमा राखे पनि उनले पूरा गर्न नसकेर बीचमा छाडेको एनओसी अध्यक्ष श्रेष्ठले जानकारी दिए।

उनले भने,‘पहिला दुइ जनालाई स्कोलरसिप दिएका थियौँ एक जनाले छाडेपछि अहिले एक जनामात्र प्रशिक्षणमा छन्।’

‘नेपालमा हिउँमा प्रतियोगिता हुँदैनन्। त्यसैले यहाँ खेलाडी उत्पादन सम्भव छैन। यसअघि नेपाल बाहिर  बसेका खेलाडीलाई खोजेर पठाउँथ्यौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले बाहिर खेलाडी खोज्यौँ पनि तर पाएनौँ। सफलराम नेपाल स्की संघले नै प्रशिक्षण दिएर तयार पारेको खेलाडी हो। केही अन्य खेलाडी पनि हामीसँग छन्।’

देशभित्र खेलाडी उत्पादन कठिन रहेको स्वीकार गर्दै उनले भने, ‘खेलाडी उत्पादन मुख्य समस्या भनेको नेपालमा खेल्ने ठाउँ छैन। हिउँ परेको बेला बल्ल राष्ट्रिय खेल गराउँछौ। त्यहीकारण खेलाडी बाहिर पठाएर तयार पार्नुपर्छ।’

‘स्की खेल मँहगो पनि छ​। त्यसैले यो सबैको पहुँचमा छैन। सफलरामले अहिले ओलम्पिक स्कोलरसिप पाएर प्रशिक्षण गरिरहेको छ’, श्रेष्ठले थपे, ‘एनओसीको सोलिडारिटी अन्तर्गत छात्रवृत्ति पाएको छ। त्यसले गर्दा सपोर्ट पुग्छ। त्यो बाहेक नेपाल स्की संघले पनि बाहिरबाट सहयोग लिने गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .