कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता पुष पहिलो साता हुने भएको छ।
काठमाडौं ब्याडमिन्टन एकेडेमीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने शीर्ष ८ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो।
प्रतियोगितामा सहभागी हुने ८ कर्पोरेट हाउसहरुले एक जना राष्ट्रिय खेलाडी छनोट गर्नेछन्। प्रतियोगितामा सहभागी हुने टोलीको घोषणा भने केही दिनमा सार्वजनिक गरिने आयोजकले बताएको छ।
प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन ताम्राकार, नेपाल पुलिसका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठ वरियताको शीर्ष आठमा रहेर भाग लिनेछन्।
महिलातर्फ भने वरियताको शीर्ष ४ मा रहेका त्रिभुवन आर्मी क्लवका नङशल तामाङ, अमिता गिरी, अनुमाया राई र रशिला महर्जन, एपीएफकी शोभा गौचन छैठौ, सुनैना मुखिया सातौ, नवौ वरियताकी मोरङकी सिमा राजवंशी र १० औँ वरियताकी बाँँकेकी सम्झना शर्माले खेल्नेछन्।
पाँचौ वरियताकी जेसिका गुरुङ र आठौँ वरियतामा रहेकी भोजपुरकी सिता राईले भने प्रतियोगिता खेल्ने छैनन्।
प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र बुमेन्स डबल्स गरी पाँच इभेन्ट्स समावेश गरिएको छ। प्रतियोगिता आयोजना गर्न ४९ लाख ४६ हजार खर्च लाग्ने काठमाडौ ब्याडमिन्टन एकेडेमीकी अध्यक्ष रिता विष्टले बताईन्।
विजेता टिमका वरियताप्राप्त खेलाडीले ७५ हजार उपविजेताले ६० हजार, तेस्रो हुनेले ५५ हजार र चौथो स्थान हात पार्नेले ४७ हजार ५ सय रुपैयाँ पाउनेछन्।
त्यसैगरी वरीयता प्राप्त खेलाडीलाई दर्ता हुनेवित्तिकै २० हजार दिने र प्रत्येक खेलमा म्याच फि बापत २ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ।
Shares
प्रतिक्रिया