ad ad

खेल


मछिन्द्रले मनाङ मर्स्याङ्दीसँगको अंकदूरी बढायो

मछिन्द्रले मनाङ मर्स्याङ्दीसँगको अंकदूरी बढायो

नेपालखबर
माघ २, २०७८ आइतबार १५:४८, काठमाडौँ

विमल घर्ती मगरको दुई गोल मद्दतमा शीर्ष स्थानको मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबसँगको अंकदूरी बढाएको छ। 

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै दोस्रो स्थानको मनाङसँगको अग्रता ४ अंकले बढाएको हो। 

मछिन्द्रको जितमा विमल घर्तीमगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बाँकी गोल दोस्रो हाफमा सम्भव भयो। 

खेलको ५६ औँ मिनेटमा विमलले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले बीबीसीका गोलरक्षक अगाडी बढेको अवस्थामा रेजिन सुब्बाको ओभरहेड किकमा विमलले हेडर गोल गरे। 

खेलको ६२ औँ मिनेटमा विमलले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। गोलरक्षक अघि बढेको अवस्थामा विमलले बललाई पोष्टको जाली चुमाएका थिए। 

खेलको ८४ औँ मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रको अग्रता फराकिलो पारे। किपर बिट भएको विमलको पासमा रेजिनले गोल गरेका थिए। 

कोरोना महामारी र चोटका कारण झण्डै दुई वर्ष मैदान बाहिर रहेका रेजिनले पहिलो हाफको इन्ज्युरी समयमा नुरलान जाहितको स्थान लिँदै मैदान प्रवेश गरेका थिए। 

दायाँ कुकुर्चाको चोट पूर्ण रुपमा ठिक नभएपछि व्यक्तिगत खर्चमा कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटार पुगेका रेजिन केही साताको उपचारपछि स्वदेश फर्केका थिए। उपचारपछिको पुनरागनम खेलमा नै रेजिनले गोल गरेका हुन्।  

इन्ज्युरी समयको दोस्रो मिनेटमा अविशेक रिजालले गोल गरे। किपर बिट भएको अवस्थामा रिजालले गोल गर्दै मछिन्द्रलाई ४–० को अवस्थामा ल्याए। 

जितसँगै मनाङले ९ खेलबाट २३ अंक बनाएको छ। लिगमा अपराजित रहेको मछिन्द्रले ७ खेलमा जित, २ खेलमा बराबरीको नतिजा निकालेको छ। 

पराजित बीबीसी ६ अंकमा तालिकाको १२ औँ स्थानमा यथावत छ। बीबीसीले ९ खेलमा १ मा जित, ३ मा बराबरी र ५ खेलमा हार भोगेको छ। 

यसैबीच आइतबारकै लागि तय नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल भने स्थगित भएको छ। 

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना सक्रमण पुष्टि भएपछि खेल स्थगित भएको लिग निर्देशक सञ्जीव मिश्रले बताए। स्थगित खेल दशौँ चरण अगावै गर्ने एन्फाले जनाएको छ।

नवौँ चरणका खेल सकिएपछि लिग १ महिनाको लागि स्थगित हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .