चीन ४६ अमेरिकी अधिकारीलाई आगामी महिना हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि भिसा दिन सहमत भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकाले कूटनीतिकरूपमा यो प्रतियोगिता बहिष्कार गर्ने निर्णय गरे पनि चीनले अमेरिकी अधिकारीहरुलाई भिसा दिने भएको हो।
गत महिना अमेरिकाले ओलम्पिकको लागि १८ जनाको तीन महिनाको भिसाको लागि आवेदन दिएको थियो। त्यसको एक साताअघि मात्र अमेरिकाले यो प्रतियोगिता कूटनीतिकरूपमा बहिष्कार गर्ने बताएको थियो।
पछि अमेरिकाले उक्त सूची बढाएर ४६ जनाको पुर्याएको हो। अमेरिकी अधिकारीमध्ये अधिकांश विदेश मन्त्रालयका कर्मचारीहरु छन्। स्रोतका अनुसार अमेरिकी र चिनियाँ अधिकारीहरुबीचको वार्ताको क्रममा अमेरिकी अधिकारीलाई भिसा दिने निर्णय भएको हो।
भेटमा चिनियाँ अधिकारीले अमेरिकाले कूटनीतिक बहिष्कारको नाममा खेलमाथि राजनीति नगर्न आग्रह गरेका थिए। डिसेम्बर ६ मा अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन भएको विरोधमा शीतकालीन ओलम्पिकमा आफ्ना प्रतिनिधिहरू नपठाउने बताएको थियो।
त्यसयता बेलायत, क्यानडा, अष्ट्रेलिया र जापानले पनि यो प्रतियोगिता कूटनीतिकरूपमा बहिष्कार गर्ने घोषणा गरिसकेका छन्। यो प्रतियोगितामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी हुनेछन्।
Shares
प्रतिक्रिया