ad ad

खेल


एपिएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

एपिएफ क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

एपिएफ र बिवाइएससीबीचको खेल। तस्बिर : रासस


नेपालखबर
माघ ८, २०७८ शनिबार २१:३०, काठमाडौँ

सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ।

पोखरा रङ्गशालास्थित फुटबल स्टेडियममा आज वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रवि थिङको दुई गोलको मद्दतमा एपिएफले पाहुना टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा अमेरिकालाई ३-१ ले पराजित गर्दै सेमिफाइन प्रवेश गर्यो। 

आहा ! रारामा पहिलोपटक सहभागिता जनाएको मिनेसोटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा मेगल पलफक्सले ‘हेड’मार्फत गोल गरेपछि पाहुना टोली मिनेसोटाले खेलमा अग्रता बनायो । 

खेलमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफको २५औँ मिनेटमा एपिएफले आवास लामिछानेको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

एपिएफका नवीन लामालाई विपक्षी टोलीका गोलकिपर दिनेश थापा मगरले ‘फाउल’ गरेपछि रेफ्री नवीन्द्र मर्हजनले एपिएफलाई पेनाल्टीको अवसर दिँदा लामिछानेले गोल गर्दै एपिएफलाई खेलमा फर्काए।

खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रबि थिङले गोल गर्दै एपिफएलाई अग्रता दिलाए। 

थप गरिएको समयको चौथो मिनेटमा थिङले पुनः अर्को गोल गर्दै एपिफएको जित सुनिश्चित गराए। खेलमा दुई गोल गरे  थिङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै आठ हजार नगद पुरस्कार पाए।

खेलपछिको पत्रकार सम्मेलनमा एपिएफका प्रशिक्षक कुमार थापाले रक्षापङ्क्तिको गल्तीका कारण पहिलो गोल खान पुगेको बताए। 

उनले गोल खाएपछि सुधारिएको प्रदर्शन गरेर जित हासिल भएको बताए। आगामी खेलमा टोलीको प्रदर्शनमा थप सुधार गरिने उनले उल्लेख गरेका छन्।

बिवाइएससीका प्रशिक्षक प्रलयराज भण्डारीले विपक्षीले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बनेको बताए। 

उनले प्राप्त अवसरमा खेलाडी गोल गर्न असमर्थ हुँदा पराजित हुनपुगेको टिप्पणी गरे। 

प्रतियोगितामा आइतबार छपटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र पाँचपटकको उपाधि विजेता नेपाल पुलिस फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ।

मनाङले सिधै क्वारटफाइनलमा स्थान बनाएको हो। पुलिसले शुक्रबार सडन डेथमा हिमालयन शेर्पा क्लबलाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको हो। 

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ‘ए डिभिजन’का आठ क्लबसहित १० टोलीको सहभागिता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .