खेल


नेपालले विश्वकप खेल्नेमा विश्वस्त छन् ‘फिनिसर’ शरद

नेपालले विश्वकप खेल्नेमा विश्वस्त छन् ‘फिनिसर’ शरद

यज्ञराज जोशी
माघ २४, २०७८ सोमबार १६:४०, काठमाडौँ

सन् २०१३ नोभेम्बर २७ को दिन। आईसीसी विश्व टी–२० छनोटको क्वार्टरफाइनलमा हङकङले दिएको १४४ रनको लक्ष्य नेपाल पछ्याइरहेको थियो। 

त्यो खेल जित्दा नेपाल अर्कोवर्ष बंगलादेशमा हुने टी–२० विश्वकपमा छनोट हुन्थ्यो। पारस खड्का (४६), ज्ञानेन्द्र मल्ल (३०), सागर पुन (२२), सुवास खकुरेल (१६)ले नेपाली इनिङ्स अगाडि बढाए। 

१९ औं ओभरको तेस्रो बलमा क्रिजमा जमेका पारस खड्का आउट भएपछि धेरैको ढुकढुकी बढ्यो। किनकि नेपाललाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो र क्रिजमा भर्खरैमात्रै मैदान प्रवेश गरेका शरद भेषावकर थिए। 

पहिलो दुई बलमै शरदले हसिब अजमदलाई छक्का र चौका प्रहार गर्दै दबाब हटाए। तर, नेपालले विश्वकप खेल्छ भन्ने शतप्रतिशत विश्वास गर्ने वातावरण अझै थिएन। अन्तिम बलमा एक रन आवश्यक बन्यो। अजमदले फालेको योर्करमा अगाडि बढ्दै शरदले सट लगाएपछि नेपाल पहिलोपल्ट विश्वकपमा पुग्यो। 

अहिले पनि शरद भेषावकरको नाम लिँदा हङकङविरुद्धको त्यो अन्तिम बलमा उनले प्रहार गरेको विजयी रन धेरैले स्मरण गर्छन्।

‘हङकङविरुद्ध विजयी स्कोर गर्दै हामी विश्वकपमा पुगेकाले होला, अझै पनि धेरैले मलाई त्यहीकारणले सम्झन्छन्,’ शरद भन्छन्। 

सो विश्वकप छनोटमा शरदको चर्चा हङकङविरुद्धको खेलमा मात्रै सीमित छैन। उत्कृष्ट लयमा रहेका शरदले केन्या र यूएईविरुद्ध समेत विजयी रन बनाए। त्यही बेलादेखि नेपाली क्रिकेटमा ‘फिनिसर’को नामबाट उनको परिचय स्थापित भयो। 

केन्याले नेपाली टी–२० कै इतिहासकै ठूलो १८३ रनको लक्ष्य पस्किएको थियो। लक्ष्यको पिछा गर्ने क्रममा नेपाललाई अन्तिम ६ बलमा १७ रन आवश्यक थियो। शरद भेषावकर तीन छक्का बर्साएपछि नेपालले दुई बलअघि नै लक्ष्य भेट्टायो। त्यसलाई नेपाली क्रिकेटको इतिहासको एक अभूतपूर्व जित मानिन्छ। 

यस्तै, तेस्रो स्थानका लागि भएको यूएईविरुद्धको खेलमा पनि शरदले अन्तिम ओभरमै खेल नेपालको पक्षमा पारे। अन्तिम ओभरमा ११ रन आवश्यक परेका बेला सुरुवाती दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै शरदले खेल जिताए। 

यसपल्ट पुनः नेपाल विश्वकप छनोट खेल्ने तयारीमा छ। अस्ट्रेलियामा वर्षको अन्त्यमा टी–२० विश्वकप हुँदैछ। त्यसका लागि ओमानमा फेब्रुअरी १८ देखि ग्लोबल छनोटका खेलहरु हुँदैछन। आठ टोलीमध्ये फाइनलमा पुग्ने दुई टोली विश्वकपमा पुग्नेछन्। यसपल्ट २००४ देखि राष्ट्रिय टोलीमा खेल्दै आएका अनुभवी ब्याटर शरदबाट टोलीले राखेको पहिलो अपेक्षा नै फिनिसिरको हुनेछ। र, सो भूमिकामा आफू पुनः खरो उत्रिनेमा शरद ढुक्क छन्।

‘म आफ्नो फिनिसिङ भूमिकालाई लिएर ढुक्क छु,’ उनी भन्छन्, ‘दबाबका बेला कस्तो अवस्थामा कसरी खेल्नुपर्छ भनेर यत्रो वर्षको अनुभवका कारण राम्रोसँग थाहा छ। म आफ्नो खेल योजनामा विश्वस्त छु। अहिले पनि जोसजाँगर घटेको छैन। यत्रो अनुभवबाट सिकेका कुराले आगामी खेलमा अझै राम्रो गर्नसक्छु भन्ने विश्वासका साथ अगाडि बढिरहेको छु।’

नेपाललाई विश्वकप छनोटमा पुर्याउँने जिम्मेवारी पाएको यसपल्टको टोलीमा अधिकांश युवा खेलाडी छन्। शरदसँगै ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, जितेन्द्र मुखिया टोलीका अनुभवी खेलाडी हुन्। विश्वकप छनोटमा कप्तान सन्दीप लामिछानेले पहिलोपल्ट नेपाली टोलीको नेतृत्व गर्दैछन्। 

व्यक्तिगत प्रदर्शनसँगै शरदको काँधमा युवा टोलीलाई पनि सँगसँगै अगाडि बढाउने जिम्मेवारी छ। 

‘ज्ञानेन्द्र र मैले तीनचार वटा विश्वकप छनोट खेलिसकेका छौं। अनुभव सेयरिङदेखि लिएर खेलमा आफूले पनि योगदान दिएर टिमलाई जिताउने हाम्रो भूमिका रहन्छ,’ शरद भन्छन्, ‘अवस्थाअनुसार आफ्नो उत्कृष्ट दिएर टोलीलाई जिताउन हामी केन्द्रित हुनेछौं।’

यसपल्ट टोलीमा ब्याटिङतर्फ तीव्र प्रतिस्पर्धा छ। प्रशिक्षक पुबुदु दासानायकेले घोषणा गरेको १६ सदस्यीय टोलीमा युवा ब्याटरद्वय कुशल भुर्तेल र आसिफ सेखले ओपनिङ जिम्मेवारी सम्हाल्ने आशा गरिएको छ। 

तेस्रो नम्बरमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, चौथोमा दीपेन्द्रसिंह ऐरीपछि फिनिसरको रुपमा पाँचौँमा शरद भेषवाकरले स्थान बनाउन सक्छन। सोही स्थानका लागि आरिफ सेखसमेत तयार छन। त्यसपछिको स्थानका लागि अलराउन्डर विवेक यादव, कुशल मल्ल तथा हार्डहिटर लोकेश बमलाई पनि तयार पारिँदैछ।

यसपल्ट टोलीमा अधिकांश युवा खेलाडी भए पनि सबै तयार रहेको शरदको विश्वास छ। पहिले नेपाली बलिङ बलियो भनिए पनि यसपालि पहिलोपटक ब्याटिङ बलियो देखिएको उनको अनुभव छ। 

‘युवा खेलाडी छन्। तर सबै तयार अवस्थामा छन। पावर हिटरहरु छन्। खेलका दिन योजनाअनुसार खेलेर आफ्नो उत्कृष्ट दिनसक्यौँ भने नतिजा हाम्रो पक्षमा हुनेमा विश्वास छ,’ उनी भन्छन्, ‘विश्वकप खेल्नेमा विश्वस्त छु। दुई वटा खेलको कुरा हो। दुई वटा खेलमा आफ्नो बेस्ट दिएर खेल्यौँ भने हामी विश्वकपमा हुनेछौं।’ 

ग्लोबल छनोटमा नेपालको मुख्य प्रतिस्पर्धा आयोजक ओमानसँगै आयरल्यान्ड, यूएईसँग हुनेछ। यस्तै क्यानडाले पनि बलियो टोली घोषणा गरेपछि नेपाललाई चुनौती थपिएको छ। शरद विपक्षी टोलीको नाम ठूलो भए पनि आफूले बनाएको योजना सही कार्यान्वयन भएमा विश्वकपमा पुग्न सकिने बताउँछन्। 

‘उनीहरुको नाम ठूलो छ। त्यसमा हाम्रो फोकस छैन। हरेक टिमको बलियो र कमजोर पक्षमा काम गरेर योजनाका साथ उत्रिनेछौं,’ शरद भन्छन्, ‘सबैको साथ र प्रार्थना भएपछि र हाम्रो योजनाको सही कार्यान्वायन भएमा यसपल्ट अवश्य विश्वकपमा पुग्छौं।’ 

आयोजक ओमानसँगै बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, नेपाल, फिलिपिन्स र यूएई गरी ८ टोलीले ग्लोबल छनोट खेल्नेछन्। आठ टोलीलाई चार–चार गरी समूह ए र समूह बीमा विभाजन गरिएको छ। नेपाल रहेको समूह एमा क्यानडा, ओमान र फिलिपिन्स छन्। अर्को समूहमा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। 

एउटा टोलीले समूहका अन्य तीन टोलीसँग खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा आयोजक ओमान, फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडाविरुद्ध खेल्नेछ। दुवै समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उक्त सेमिफाइनलबाट फेब्रुअरी २४ मा हुने फाइनलमा पुग्ने दुई टोली विश्वकपमा छनोट हुनेछ। 

यो पनि: फेरि विश्वकप खेल्ने नेपालको सपनामा यी तीन टोली मुख्य बाधक

यो पनि: मिसन विश्वकपः सुधारिएको ब्याटिङले बढाएको आशा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .