ad ad

खेल


खेलाडीको स्वास्थ्यमा कति गम्भीर छ एन्फा?

खेलाडीको स्वास्थ्यमा कति गम्भीर छ एन्फा?

लक्ष्मी जि.सी
फागुन ४, २०७८ बुधबार ७:३४, काठमाडौँ

टाउकोमा चोट लागेर घाइते भएका मछिन्द्र फुटबल क्लबका फरवार्ड मनिष डाँगी खतरामुक्त भएर घर फर्केका छन्।

सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबसँगको खेलमा घाइते भएका मनिषलाई समान्य अवस्थामा रहेको भन्दै चार दिनपछि मंगलबार डिस्चार्ज गरेको थियो। अर्को साता एउटा परीक्षणपछि उनी कहिलेबाट मैदान फर्किन्छन् भन्न सकिने बताइएको छ। 

सम्भवतः मनिषले लिगका बाँकी खेल भने गुमाउनेछन्। टाउकोमा लगाइएको टाँका खोलिएपछि मात्र कहिले मैदान फर्कने भन्ने जानकारी गराउन सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) डाक्टर राजु डंगोलले बताए। 

च्यासलविरुद्धको खेलको ६६ औँ मिनेटमा विपक्षी खेलाडीसँग ठोक्किएर टाउकोमा चोट लागेर मनिष मैदानमा ढलेका थिए। मनिष घाइते भएको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारले केही निराश बनाएको एन्फाकी फिजियोथेरापिष्ट नवीन वैद्या श्रेष्ठले त्यस्तो नभएको बताइन्। 

मनिष अस्पतालबाट डिस्चार्ज भएकै दिन एन्फाले गरेको पत्रकार सम्मेलनमा फिजियो वैद्यले उनको चोट र डेनमार्क क्रिस्टियन इरिक्सनको युरोकपमा भएको घटनासँग तुलना गर्न नमिल्ने बताइन्। इरिक्सनलाई कार्डियाक अरेष्ट भएको थियो। मनिषको सिभिएर ब्रेन इन्ज्युरी भएको वैद्यले प्रष्ट पारिन्। 

लामो समयको अनुभवका कारण आफूहरुले तत्काल उनलाई होसमा ल्याउन सफल भएको उनले सुनाइन्। ‘खेलका क्रममा खेलाडी अचेत भएर मैदानमा लडेको खण्डमा रेफ्रीको इसारालाई नपर्खीकन फिजियोहरु गएर उपचार गर्न पाउनेछन्’, उनले भनिन्, ‘खेलका बीचमा खेलाडीहरुमा काडिर्याक एरेष्ट र कन्कसन हुँदा रेफ्रिीको ह्वीसेल कुर्न पर्दैन। मनिष मैदान ढलेको २१ सेकेण्डमा मिडिकल टिम त्यहाँ पुगिसकेको थियो।’ 

घटनाको दिन स्मरण गर्दै उनले भनिन्, ‘मनिष मैदानमा ढलेपछि मछिन्द्रका फिजियो सुरज भुषाल सबै भन्दा पहिला मैदान भित्र पुगिसकेका थिए। उहाँ पुगेको ५ देखि ७ सेकेण्डमा म पनि पुगिसकेको थिएँ। उनको अवस्थालाई हेरेर पनि होसमा ल्याउन सक्ने विश्वास थियो।’

वैद्यले मैदानमा पुगेपछि आफूहरुले मनिषको टाउको र छालामा मात्र चोट लागेको छ छैन पहिला त्यो जाँच गरेको बताइन्।

‘त्यो समय मनिष होसमा थिएनन् र उसको पोस्चर पनि उस्तै भएकाले सिभिएर इन्ज्युरी हो भनेर फिजियोहरुले छुट्याइसकेका थियौं’, उनले थपिन्, ‘टाउकोको चोटमा आँखाको माथि निलो हुन्छ तर मनिषको त्यस्तो केही थिएन। विपक्षी खेलाडीसँग सिधै टाउकोमा ठोक्किएको र लड्दा फेरि टाउको मैदानमा ठोक्कियो। दुईपटक ठोक्किँदा सीपीएर ब्रेन इन्ज्युरी हो भनेर छुट्याइसकेका थियौँ।’

श्रेष्ठले मिडिकल टोली र खेलाडीको सामूहिक प्रयासमा मनिषलाई होसमा ल्याउन सफल भएको सुनाइन्। ‘उनी घाइते भएर ढल्दा मैदानमा फेरि टाउको ठोकिएको थियो। मैदान पुग्दा उनी अचेत अवस्थामा थिए। हातखुट्टा तनक्क पारेका थिए। दाँत किटेका थिए। होस थिएन’, उनले थपिन्, ‘च्यासलका खेलाडीले मुखबाट सास फेर्न मिलोस् भनेर तल र माथिको दाँतलाई फट्याउने कोशिस गरे। सुरज भुषालले छाती थिच्दै सीपीआर दिन थाल्नु भयो। श्वासप्रश्वास सजिलो होस् भने मैले मनिषको टाउको उठाए। त्यो अवस्थामा जे जे गर्नुपर्ने थियो त्यो प्रक्रिया पूरा गरेका थियौं।’

‘त्यो घटनामा मनिष ३ मिनेट अचेत भएका थिए। होसमा आएपछि ध्यानपूर्वक एम्बुलेन्समा राखेको पनि श्रेष्ठले बताइन्। त्यस्तो बेलामा धेरै ध्यान दिनपर्ने हुन्छ, हामीले त्यसमा सबै ध्यान पुर्याएका थियौं’, उनले भनिन्। 

एन्फा महासचिव इन्द्रमान तुलाधरले  एन्फा खेलाडीको स्वास्थ्यलाई गम्भीरता पूर्वक लिने गरेको बताए।

‘एन्फाले स्कुलको प्रतियोगिता र सी डिभिजनदेखि नै खेलाडी र दर्शकको सुरक्षामा हामीले  निकै महत्व दिएको छौँ’, उनले भने, ‘ए डिभिजनमा खेल्ने खेलाडीको सबै खेलाडीको बिमा र लिग अघि स्वास्थ्य परीक्षण गरिएको छ। अहिले पनि दुईवटा सुविधा सम्पन्न एम्बुलेन्स राखिएको छ।’

मनिषको उपचारलाई लिएर एन्फाको व्यवस्थापनप्रति धेरैले प्रश्न उठाएको भन्दै आफूहरुले पारदर्शी तरिकाले काम गरेको बताए। विश्व फुटबलको अभिभावक संस्था फिफाबाट पनि पारदर्शिताको बारेमा कुरा आएपछि लिगका लागि आवश्यक स्वास्थ्यकर्मीका लागि टेन्डर आव्हान गरेर इसारा भन्ने कम्पनीलाई जिम्मा दिएको उनले सुनाए। 

इसाराले डाक्टरहरु पठाए पनि एन्फाले आफ्नो अलग्गै मेडिकल टिमलाई पनि परिचालन गरिरहेको तुलाधरले बताए। एन्फाको मेडिकल टिममा डा. राजु डंगोल, फिजियो नविना वैद्य र आविष्कार पुडासैनी छन्। हामीसँग भएका मेडिकल टिमसँग एएफसीको प्रशिक्षण पनि गरेका छन्। 

एन्फाले स्वास्थ्यमा केही कमजोरी गरेको छैन। त्यसमा इसारासँग पनि त्यो बेलामा उनीहरुले दिएको डाक्टरको सेवाको बारेमा जानकारी मागेका छौँ। र मेडिकल डिपार्टमेन्ट टिमलाई पनि रिपोर्ट दिन भनेका उनले बताए। आफूहरु मनिष, मछिन्द्र क्लब, र मनिषको परिवारसँग सम्पर्कमा रहेको सुनाए। 

लिग निर्देशक विज्ञान राज शर्माले आफूहरु खेलाडीको स्वास्थ्यप्रति सजक भएकाले लिगअघि नै बेसिक लाइफ सर्पोट प्रशिक्षण दिएको बताए। उनले भने, ‘केही कमीकमजोरी भएका आफूले जिम्मा लिने भन्दै खेलाडीको स्वास्थ्यलाई महत्व दिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .