एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७ को मंगलबार हुँदै छ।
नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी गर्दै आएको स्पोर्ट्स अवार्डको १८ औँ संस्करणलाई दशक अवार्डको रुपमा वितरण गर्न लागिएको छ। अवार्ड समारोह मंगलबार कमलादीस्थित प्रज्ञा भवनको हलमा हुनेछ।
पल्सर स्पोर्ट्स अवार्डको यो संस्करणमा नौ विधामा अवार्ड वितरण गरिनेछ। काभिड–१९ को महामारीका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गर्ने जनाएको छ।
यो पटक पिपुल्स च्वाइस अवार्डको मनोनयन मात्र सार्वजनिक गरिएको छ। यो संस्करणको पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र टेबलटेनिसकी एलिना महर्जन मनोनयनमा परेका छन्।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा आज नै गरिने छ ।
यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
Shares

प्रतिक्रिया