खेल


पुबुदुले सुधार्न नसकेको नेपाली ब्याटिङ

अहिले नै प्रशिक्षक फेर्ने पक्षमा छैन क्यान
पुबुदुले सुधार्न नसकेको नेपाली ब्याटिङ

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुद दासानायके


यज्ञराज जोशी
चैत ९, २०७८ बुधबार १८:५९, काठमाडौँ

डेभ ह्वाटमोर मुख्य प्रशिक्षकमा नियुक्त भएको चार महिनापछि नेपालले त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० श्रृृंखला खेलेको थियो। 

अप्रिल २०२१ मा भएको उक्त शृंखलामा परम्परागत नेपालको पुरानै समस्या ब्याटिङमा ‘चमत्कारिक’ सुधार देखियो। 

पाँचमध्ये चार खेल जित्दाका नतिजा पनि फराकिला थिए। कुशल भुर्तेल र आशिफ सेख जस्ता ब्याटरहरुको उदय यसै सिरिजबाट भएको थियो। 

नेदरल्यान्ड्सविरुद्ध तीनमध्ये दुई खेल जितेको नेपालले ९ विकेट र १४२ रनको फराकिलो नतिजा निकालेको थियो। मलेसियाविरुद्ध पनि दुई खेलमा नेपालले २१७ रन र ९ विकेटको सानदार जित निकाल्यो।

नेपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएका सर्वाधिक पाँच स्कोरमध्ये तीन उच्च स्कोर यही श्रृंखलामा निस्केको छ। नेदरल्याण्ड्सविरुद्धका २३८ र २०६ र मलेसियाविरुद्धका २०६ रन त्यही स्कोर हुन्। 

यही श्रृंखलामार्फत डेब्यू गरेका कुशल भुर्तेल खेलेका ५ मध्ये ४ खेलमा अर्धशतक प्रहार गर्दै सनसनी मच्चाएका थिए। 

सेप्टेम्बरमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र पीएनजीविरुद्ध त्रिकोणात्मक श्रृंखला खेलेको थियो। जसका ६ खेलमा नेपालले चार खेलमा जित हात पार्यो। 

दुवै श्रृंखलाका आधारमा ह्वाटमोरले नेपाली ब्याटिङमा सुधार ल्याएको भनी प्रशंसा भएको थियो। तर, त्यही महिना व्यक्तिगत कारण देखाउँदै ह्वाटमोरले नेपाली क्रिकेट प्रशिक्षकबाट राजीनामा दिए। 

ह्वाटमोरको राजीनामाको तीन महिनापछि नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदु दासानायकेलाई नेपाली टोलीको प्रशिक्षकमा पुनरागमन गरायो।  

दासानायकेको प्रशिक्षणमा १२ खेल्दा नेपालको ब्याटिङमा फेरि परम्परागत नै समस्या देखिएको छ। जसकारण नेपालले टी–२० विश्वकप खेल्ने सुनौलो अवसर गुमाइसकेको छ।

यो पनि: नेपालले गुमाएको स्वर्णिम अवसर

विश्वकप क्रिकेट लिग–२ को यूएई, पीएनजीसँगको शृंखलामा पनि आशातीत नतिजा निकाल्न नसकेपछि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) स्टाटस नै धरापमा परेको छ। 

पुबुदुको तीन महिने प्रशिक्षणकालमा नेपालले १२ खेल खेलेको छ। ७ खेल जित्दा नेपालले ५ मा हार व्यहोरेको छ। टी–२० विश्वकपको ग्लोबल छनोटअघि भएका चार दिवसीय शृंखलाका ३ मध्ये नेपालले २ खेलमा हार ब्यहोर्‍यो। 

लगत्तै सुरु भएको टी–२० विश्वकपको ग्लोबल छनोटमा समूहमा सबै तीन खेल जिते पनि सेमिफाइनलमा युएईसँग पराजित भएसँगै विश्वकपमा स्थान बनाउने अवसर गुमायो। तेस्रोपटक ओमानलाई हराउँदै नेपाल छनोटमा तेस्रो बनेको थियो। 

भर्खरै नेपालले युएईमा विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली युएई र पीएनजीविरुद्ध सिरिज खेल्यो। जसमा दुई खेल हारेको नेपालले दुई खेलमा जित हात पार्यो। 

ह्वाटमोरको कार्यकालमा सुध्रिएको नेपाली ब्याटिङमा पुबुदुको प्रशिक्षणकालमा खिया लागेको तथ्यांकले देखाउँछ। 

चार देशीयमा एकदिवसीय श्रृंखलामा आयरल्याण्डविरुद्ध नेपाल १११, यूएईविरुद्ध १६७ रनमै समेटिएको थियो। लगत्तै ग्लोबल छनोटमा यूएईले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १०७ रनमै समेटिँदा बाँकी खेलहरूमा भने बलरहरु नै उदाएका थिए। ब्याट्सम्यानकै खराब प्रदर्शनका कारण लिग–२ मा यूएईविरुद्धका नेपालले दुवै खेल गुमाएको थियो। 

नेपाल क्रिकेट संघ (क्यान)का पूर्वसचिव अशोकनाथ प्याकुरेल नतिजा नदिएपछि त्यसको जिम्मेवारी प्रशिक्षकले लिनुपर्ने बताए। 

‘ब्याटिङ पहिलेदेखि नै कमजोर थियो। त्यसमा पछिल्लो समय खासै परिवर्तन देखिएन। त्यसको जिम्मेवारी कोचले लिनैपर्छ’ प्याकुरेलले भने, ‘डेभ ह्वाटमोर हुँदा ब्याटिङमा केही सुधार जस्तो देखिएको थियो। फेरी उस्तै समस्या देखिएको छ।’

प्याकुरेलले दासानायके नियुक्त भएको तीन महिनामात्रै भएकाले त्यसको ‘बेनिफिट अफ डाउट’ उनलाई हुने बताए। तर टोली व्यवस्थापनको मुख्य जिम्मेवारी प्रशिक्षककै भएकाले नतिजाको जिम्मेवारी पनि उनले लिनुपर्ने प्याकुरेलको धारणा छ। 

‘कोचहरुको आ आफ्नो रणनीति हुन्छ। कुन रणनीति राम्रो भनेर छलफल गर्ने ठाउँहरु सधैँ भइराख्ला तर मूल कुरो प्रदर्शन नआएपछि उहाँले लिएको रणनीति असफल भयो भन्ने नै हो,’ प्याकुरेलले भने, ‘पुबुदुले परिवर्तन गराएको ब्याटिङ अर्डरमा पनि प्रश्न उठिरहेका छन। डेभ ह्वाटमोर जस्तो कोच आइसकेपछि उहाँभन्दा पनि हाईप्रफमेन्स कोच ल्याउन सकेको भए अझै राम्रो हुन्थ्यो।’

नेपाल क्रिकेट संघ (क्यान)ले भने दासानायकेले प्रयास गर्दागर्दै पनि नतिजा नआइरहेको जनाएको छ। क्यानका कार्यवाहक सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले दासानायकेप्रति क्यानले विश्वास राखेको बताए। 

‘पुबुदुले मैदानमा घण्टौँ खेलाडीसँग बिताउनु भएको छ। शतप्रतिशत रिजल्ट नआएको मात्रै हो। ब्याटिङमा प्रदर्शन नदेखिएपछि बलिङ र फिल्डिङमा राम्रै भएको छ,’ मल्लले भने, ‘उहाँले मिहिनेत गरिरहेको देखिरहेका छौं। नतिजा ढिलोचाडो आइहाल्छ। क्यानलाई पुबुदुप्रति विश्वास छ। उहाँले टिमलाई नेतृत्व गर्नसक्नुहुन्छ।’

ब्याटिङमा आशातीत सुधार नआए पनि क्यान अहिले प्रशिक्षक परिवर्तन गर्ने पक्षमा भने छैन। दासानायकेसँग २ वर्षका लागि सम्झौता भएको र अहिले अरु विकल्प नसोचिने मल्लले बताए। 

‘विकल्प हरेक चिजको हुन्छ। अहिले उहाँसँग दुई वर्षका लागि सम्झौता भएकाले अरु सोचिएको छैन,’ मल्लले भने, ‘पछिको कुरा अहिले भन्न सकिँदैन। हामीले हेर्ने उहाँको इफोर्ट हो। व्यवस्थापक तथा सर्पोटिङ स्टाफबाट बुझ्दा प्रशिक्षकले मैदानबाहिर भित्र उत्तिकै मिहिनेत गरिरहेको रिपोर्ट पाएका छौं।’

दासानायकेको प्रशिक्षणमा नेपालको नतिजा
जम्मा खेल –१२ 
जित –७ 
हार –५ 

चारदेशीय टी–२० शृंखला, ओमान
– तीन खेलमा एक जित २ हारसहित पुछारमा

टी–२० विश्वकपको ग्लोबल छनोट, ओमान
– समूहमा तीनमा तीन खेल जित्दै सेमिफाइनलमा, सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा छनोट हुन असफल। 

विश्वकप क्रिकेट लिग–२, यूएई
– दुई खेलमा हार, दुई खेलमा जित

 

ह्वाटमोरको प्रशिक्षणमा नेपाली नतिजा
जम्मा : ११
जित : ८ 
हार : ३

त्रिकोणात्मक शृंखला, अप्रिल २०२१
–४ खेलमा जित एक खेलमा हार

विश्व क्रिकेट लिग–२
– ६ खेलमा ४ मा जित, दुईमा हार

यो पनि: पुबुदुको दोस्रो इनिङ्सका दुई मुख्य चुनौती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .