ad ad

खेल


घरेलु क्रिकेटमा नयाँ विवाद

घरेलु क्रिकेटमा नयाँ विवाद

लक्ष्मी जि.सी
जेठ १०, २०७९ मंगलबार १२:४१, काठमाडौँ

घरेलु क्रिकेटमा नयाँ विवाद सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले गत साता नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने घोषणा गरेसँगै क्रिकेटमा अर्को विवाद सुरु भएको हो। क्यानले त्यति मात्रै भनेर अब घरेलु क्रिकेटमा एक मात्र फ्रेन्चाइज लिग हुने भनेपछि क्रिकेटमा विवादको नयाँ श्रृंखला सुरु भएको हो। 

क्यानको घोषणापछि यसअघि ४ संस्करण आयोजना भइसकेको फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को भविष्य अन्योलमा परेको छ। ईपीएलको आयोजक र त्यसका सहभागी ६ टोलीले संयुक्त रुपमा सोमबार पत्रकार सम्मेलन गर्दै ईपीएल नरोक्न आग्रह गरेका छन्। उनीहरुले त्यति मात्र भनेनन् ईपीएल आयोजना गर्न नदिए भविष्यमा क्रिकेटमा आफूहरुले प्रायोजन नगर्ने बताएका छन्। क्यानले भने त्यो अभिव्यक्तिलाई घरेलु क्रिकेटलाई बन्दी बनाउन खोजिएको आरोप लगाएको छ। 

फ्रेन्चाइज टोलीले स्पष्टरुपमा धम्की दिएको क्यानको बुझाइ छ। क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकेटको साझा संस्थालाई एउटा नीजि कम्पनीले बहिष्कार गर्छु भनेर दुष्प्रचार गरिएको छ त्यसपछि क्यानको ध्यानाकर्षण भएको बताएका छन्। उनले भने, यो धेरै चिन्ताको विषय हो। यसबारेमा हामी बसेर छलफल गर्नेछौँ।’

आईसीसीबाट क्यान निलम्बनमा रहँदा जसरी घरेलु क्रिकेट अघि बढे पनि अब क्यानको बोर्ड आइसकेपछि परिस्थिति फरक भएको कार्यवाहक सचिव मल्लको भनाइ छ। हिजो बोर्ड थिएन। कसले कहाँ कुन प्रतियोगिता गरे हामीलाई चासो भएन। आज बोर्ड भएको बेलामा बोर्डले गर्न पाउँछ कि पाउँदैन? मल्लले भने, क्यानले स्पष्ट रुपमा एउटा फ्रेन्चाइज लिग आयोजना गर्ने सार्वजनिक गरिसकेको छ। क्यानले गर्ने प्रतियोगिताको सबै फाइदा नेपाली क्रिकेटलाई नै हो।’

ईपीएलका संस्थापक अमिर अख्तरले भने क्यान निलम्बनमा हुँदा आफूहरुले प्रतियोगिता गरेर क्रिकेटलाई चलायमान बनाइराखेकाले भविष्यमा पनि त्यसको निरन्तर आयोजना गर्न पाउनुपर्ने माग गरेका छन्। 

‘क्यान निलम्बनमा हुँदा प्रतियोगिता गर्यौ जसको सहयोगले नेपाली क्रिकेटको वरीयतामा सुधार गर्न सहयोग मिल्यो’, अख्तरले भने, ‘हामीले आर्थिक रुपमा भन्दा पनि ईपीएल हुन पाउनुपर्छ भनेर नै पत्रकार सम्मेलनमार्फत माग गरेका हौँ।’ एपीएलको फ्रेन्चाइज टोलीका प्रतिनिधिले पनि ईपीएलमा करोडौं लगानी भइसकेको उल्लेख गर्दै क्यानको निर्णयले आफूहरु स्तब्ध भएको बताएका छन्। 

उता क्यानका सचिव मल्लले व्यक्ति र संस्थाले प्रतियोगिता गर्दा आएको रकम कहाँ जान्छ? भन्ने केही थाहा नहुने बताएका छन्। ‘ईपीएलको ४ वटा संस्करण आयोजना भयो त्यसबाट कति रकम आयो कसैलाई थाहा छैन’, उनले प्रश्न गरे, ‘प्रतियोगिताबाट कति रकम आयो, लाख, करोड वा अर्बमा भयो भनेर कसैले देखाएको छ र ? त्यो रकम क्रिकेटको कुन चाँही क्षेत्रमा खर्च भएको छ?’

मल्लले क्यानले रिजनल रुपमा आयोजना गर्ने अन्य कुनै प्रतियोगितालाई नरोक्ने समेत प्रष्ट पारेका छन्। मल्लले थपे, जसरी इपीएलले जुन अवरोध हाल्न खोजेको छ यो चिन्ताको विषय हो। 

ईपीएलका ६ टोली काठमाडौ किग्स इलाभेन, ललितपुर प्याट्रियट्स, पोखरा राइनोज, भैरहवा ग्लाडियर्टस्, चितवन एफसीका मालिकले ईपीएल रोक्न नहुने तर्क गरेका छन्। आफूहरु इपीएलसँग जोडिए पनि क्यानले गर्ने अन्य प्रतियोगितामा पनि आफूहरुले सहयोग गर्दै आएको फ्रेन्चाइज टोलीका प्रतिनिधिहरुको भनाई थियो। 

ईपीएलको फ्रेन्चाइज टोलीले पत्रकार सम्मेलन गरेर क्यानले गर्ने प्रतियोगितालाई बहिस्कार गछौँ भन्नुलाई धम्की दिएको बुझिएको र त्यसमा क्यानको ध्यानाकर्षण भएको मल्लले बताएका छन्। 

‘क्यानलाई जुन किसिमको धम्की दिइयो यो गम्भीर छ’, उनले भने, ‘एउटा व्यक्तिले आफ्नो लिगको संरक्षणका लागि जसरी नेपाली क्रिकेटको सर्वोच्च निकायलाई धम्की दिएको छ यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

एउटा देशमा एउटा मात्र फ्रेन्चाइज लिग हुने दाबीसहित क्यानले नेपाल टी-२० लिग आयोजना गर्ने घोषणा गरेको छ। तर, अख्तरले भने विगतमा नेपालमै तीनवटा फ्रेन्चाइज लिग आयोजना भएको दृष्टान्त दिएका छन्। क्यानका कार्यवाहक सचिव मल्लले क्यानले गर्ने फ्रेन्चाइज लिगमा ईपीएलका टोलीहरु जोडिन सक्ने बताएका छन्। ‘उहाँहरुलाई त्यो बाटो बन्द छैन।  फ्रेन्चाइजको लागि आह्वान गर्दैछौँ’, उनले थपे, ‘त्यसमा सहभागिता जनाउन सक्छन्। हामीले कसैलाई बन्दी र बन्धक बनाइएको छैन।’

क्यानले फ्रेन्चाइज लिग आयोजना गर्ने घोषणा गरेपछि ईपीएलसँग सम्बन्धित व्यक्तिले क्यानका जिल्ला र प्रदेशका जिम्मेवार पदाधिकारीलाई म्यासेजमार्फत धम्की दिएको आरोप मल्लले लगाएका छन्। ‘ती प्रमाण सुरक्षित छन्’, उनले भने, ‘त्यसको झण्डै २० दिनपछि आएर पत्रकार सम्मेलन गरिएको छ।’

क्यान नेपाल टी-२० लिग गर्नेमा दृढ रहेको पनि मल्लले प्रष्ट पारेका छन्। ‘हामी कसैको पछि लाग्दैनौँ, हाम्रो लिग गर्छौ’,उनले अन्त्यमा भने, ‘हाम्रो मोडालिटी स्वीकार गरेर आए जो कोहीलाई बाटो खुला छ। अहिलेसम्म जसरी ईपीएल भइरहेको थियो, त्यसरी अब हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .