ad ad

खेल


साफ च्याम्पियनसिप : नेपालले हटाउला ‘स्थायी उपविजेता’को छवि?

नयाँ च्याम्पियन बन्ने दाउमा नेपाल र बंगलादेश
साफ च्याम्पियनसिप : नेपालले हटाउला ‘स्थायी उपविजेता’को छवि?

लक्ष्मी जि.सी
असोज २, २०७९ आइतबार १८:५, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको छैठौँ संस्करण काठमाडौंमा जारी छ। 

यसपटक फाइनल पुगेका नेपाल र बंगलादेश जसले जिते पनि प्रतियोगिताले नयाँ च्याम्पियन पाउँदै छ। 

फाइनल खेल सोमबार साँझ ५ः०० बजे दशरथ रंगशालामा हुँदै छ। नेपालले पाँचौँ र बंगलादेशले दोस्रो पटक फाइनल खेल्नलागेको हो।  

साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतको यात्रा यसपटक सेमिफाइनलमा टुंगिएपछि प्रतियोगिताले नयाँ च्याम्पियन पाउनलागेको हो। 

नेपालले १–० ले हराउँदै यसअघिको सबै संस्करणको विजेता भारतको चुनौतीलाई समाप्त पारेको थियो। त्यसअघि समूह चरणमा भारत बंगलादेशसँग ३–० ले पराजित भएको थियो। 

अपराजित टोलीबीच रोमाञ्चक भिडन्तको पर्खाइ
भारतमाथि जित निकाल्न सफल दुई टोलीबीच हुने यसपटकको फाइनल रोमाञ्चक हुने देखिएको छ। 

फाइनलसम्मको यात्रा तय गर्दा यी दुई टोलीले निराश हुनुपरेको छैन। सबै खेल जितेको मात्र होइन दुवै टोलीले अहिलेसम्म गोल खाएका छैनन्। 

फाइनलको अघिल्लो दिन शुक्रबार भएको प्रि–म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीका मुख्य प्रशिक्षक र नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले उपाधिका लागि तयार रहेको बताएका छन्। 

‘हामीले नौ हप्ताको तयारी गर्यौँ। सुरुवातबाट नै एउटा अर्जुनदृष्टिमा छौँ। समर्थकले राम्रो साथ दिनुभएको छ। सूर्यले ताप दिएजस्तै दर्शकले हामीलाई न्यानो साथ दिनुभएको छ। त्यसलाई हामी न्याय दिनेछौँ’, नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले भने। 

उपाधि रच्ने संघारमा हुँदा ताराझैँ चम्किने उनको दाबी छ। यसका लागि नेपाली टोली शारीरिक, मानसिक र भावनात्मक सबै कुराले सकारात्मक रहेको उनले बताए। 

थापाले थपे, ‘टिम ब्यालेन्समा राख्दै मैदानमा खेलेर उपाधि बाहिर जान दिने छैनौँ।’ 

नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो। सेमिफाइनलमा बलियो भारतमाथि १–० को ऐतिहासिक जित निकालेको थियो। साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको त्यो नै पहिलो जित हो। 

अर्कोतर्फ सेमिफाइनलमा भुटानलाई ८–० ले हराउनुअघि बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो।

भारतसँग समूह चरणको अन्तिम खेलमा बंगलादेशले ३–० को शानदार जित निकालेको थियो। भारतमाथि बंगलादेशको त्यो पहिलो जित थियो भने साफ च्याम्पियसिपकै इतिहासमा भारतको त्यो पहिलो हार थियो। 

‘उपाधि जित्ने मौका खेर फाल्दैनौँ’
घरेलु मैदानमा दोस्रो पटक उपाधि जित्ने मौकालाई खेर जान नदिनेमा कप्तान एञ्जिला पनि दृढ छिन्। पाँचौं संस्करणको फाइनल नेपाल र भारतबीच विराटनगरमा भएको थियो। 

एञ्जिालाको कप्तानीमा नेपालले पहिलो पटक साफ च्याम्पियनयिसप खेलिरहेको छ। उनले फाइनलका लागि तयार रहेको र यस अघिका संस्करणमा भएका गल्तीलाई सुधार्दै खेल्ने बताइन्। 

‘पहिलो पटक घरेलु मैदानमा भारतलाई पराजित गर्दा उत्साहित छौँ’, उनले थपिन्, ‘हामी बोलेर भन्दा खेलेर मैदानमा देखाउने उत्साहित छौँ।’ 

विगतभन्दा बलियो रहेको बंगलादेशविरुद्ध खेल्न पनि आफ्नो टोली तयार रहेको एञ्जिलाको भनाइ छ। 

उनले भनिन्, ‘बगंलादेश पहिलाभन्दा बलियो भएर आएको छ। तर हामी जित्नका लागि खेल्छौँ किनकी हामी शारीरिक र मानसिक दुवै रुपले तयार छौँ।’ 

डेंगीका कारण टोलीकी मुख्य खेलाडीमध्येकी मञ्जली कुमारी योञ्जन च्याम्पियनसिप खेल्न पाएकी छैनन्। टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बालाई भुटानसँगको खेलपछि डेंगी संक्रमण भएको थियो। 

सेमिफाइनल साम्बा र मञ्जली दुवैलाई प्रशिक्षक थापाले बेन्चमा राखेका थिए। उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले फाइनलमा खेल्ने आशा गरिएको छ। 

बगंलादेशका मुख्य प्रशिक्षक गोलाम रोब्बानी छोटोनले नेपालसँग खेल्न केही गाह्रो भए पनि आफूहरु उपाधिका लागि तयार रहेको बताएका छन्। 

‘उमेर समूहदेखि नै सँगै खेल्दै आएका खेलाडी भएका कारण अनुभवले खेलमा सहज हुनेछ,’ उनले भने, नेपाल बलियो टोली हो। तर पनि हामी उपाधिका लागि नै स्पर्धा गर्छौँ, नेपालको मिडफिल्ड राम्रो छ।’ 

नेपालले हटाउला ‘स्थायी उपविजेता’को छवि?
दक्षिण एसियाली खेलकुद (साग) होस् वा साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पिनयसिप नेपालले स्थायी उपविजेताको छवि बनाएको छ। 

सन् २०१९ मै भएका साग र साफका दुवै प्रतियोगितामा नेपाल फाइनलमा पराजित भएको थियो। साग पोखरा र त्यसअघि साफ विराटनगरमा भएको थियो। तर यो पटक नेपाल त्यो छवि मेटाएर नयाँ च्याम्पियन बन्ने दाउमा छ। 

साफ च्याम्पियनसिपको इतिहासमा ४ पटक  भारतसँग नै पराजित हुँदै उपाधि विमुख भएको थियो। यसपटक त्यही भारतलाई सेमिफाइनलमा हराउँदै नेपाल उपाधि नजिक पुगको छ। 

दोस्रो प्रयासमै साफ जित्ने योजनामा बंगलादेश
बंगलादेश भने दोस्रो प्रयासमा साफ जित्ने योजनामा छ। सन् २०१६ को चौथो संस्करणको फाइनलमा बगंलादेश भारतसँग ३–१ ले पराजित भएको थियो। 

यो पटक बलियो बनेर आएको बंगलादेश नेपाली टोलीसँग पनि हार मान्ने पक्षमा छैन। नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि लैजाने तरखरमा छ। 

साफ च्याम्पियनसिपको यी दुई टोलीको इतिहास हेर्दा भने नेपाल बलियो छ। साफ च्याम्पियनसिपका यसअघिका तीन भेटमा बंगलादेशले नेपाललाई हराउन सकेको छैन।

बंगलादेशको चुनौतीलाई पार गर्न यसअघिको नतिजा, घरेलु मैदान, समर्थक र मुख्य पक्ष जारी च्याम्पियनसिपको उच्च प्रदर्शनलाई निरन्तरता नेपाली टोलीको मनोबल उच्च पार्ने आधार हुन सक्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .