ad ad

खेल


नेपाली खेलकुदका ८ सफल महिला

नेपाली खेलकुदका ८ सफल महिला

फाइल तस्बिर


लक्ष्मी जि.सी
फागुन २४, २०७९ बुधबार १४:५०, काठमाडौँ

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस। 

लैंगिक समानता, प्रजनन अधिकार र महिलाविरुद्धका सबैखाले हिंसा र दुर्व्यवहारजस्ता सामाजिक मुद्दालाई महिला आन्दोलनले स्थापित गरेको दिनका रुपमा विश्वभर मनाइन्छ। 

पितृसत्तात्मक समाजकै बोलवाला रहेको नेपालमा यी विषय अहिले पनि उत्तिकै रुपमा उठाउनुपर्ने खाँचो छ। पुरुषलाई प्रधान मान्ने र महिलालाई कमजोर आँक्ने प्रवृत्ति नेपाली समाजमा कायमै छ। 

तर नारीहरु पनि अवसर पाए पुरुषभन्दा अब्बल हुन्छन् भन्ने उदाहरण हाम्रै समाजका केही अनुहारले प्रमाणित गरेका छन्। उनीहरुले अवसर पाएका ठाउँमा पुरुषभन्दा कमजोर नरहेको देखाएका छन्। नेपाली खेलकुद त्यसको बलियो उदाहरण हो। 

खेलकुदमा सफलताका हिसाबले हेर्ने हो भने पुरुषभन्दा महिला अगाडि छन्। त्यसका आधारमा नेपाली खेलकुदमा केही महिलाले आफ्नो सशक्त छवि स्थापित गरेका छन्। 

नेपाली खेलकुदमा महिला खेलाडीको अलग पहिचान बनाउने खेलाडीको सूची लामो छ। तेक्वान्दोकी सविता राजभण्डारीले एसियाली खेलकुदमा रजत पदक जित्नु नेपाली खेलकुदको व्यक्तिगत स्पर्धाको ठूलो सफलता हो। साढे दुई दशकअघि (सन् १९९८) मा उनले दिलाएको त्यो सफलता पुरुष खेलाडीले प्राप्त गर्नसकेका छैनन्।

तेक्वान्दोकै संगिना वैद्यले सन् २००४ मा ओलम्पिक छनोट पार गरेकी थिइन्। नेपाली खेलकुद इतिहासमै छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी नै महिला हुन्। 

महिला राष्ट्रिय फुटबल टोलीबाट ९ वर्षदेखि खेल्दै आएकी सावित्रा भण्डारी साम्बाले ४२ खेलमा ४२ अन्तर्राष्ट्रिय गोल गर्नु सानो उपलब्धि होइन। महिलाभन्दा पुरुष टोलीले धेरै वर्षअघिबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको थियो। तर, पुरुष खेलाडीले अहिलेसम्म सबैभन्दा बढी १३ अन्तर्राष्ट्रिय गोल गरेका छन्। त्यसको दाँजोमा महिला खेलाडी निकै अघि छन्। 

मिरा राई, सुनमाया बुढाजस्ता अल्ट्रा दौडमा अलग पहिचान बनाउने पनि नेपाली खेलाडी हुन्। १९९४ मा हिरोसिमा एसियाडमा सीता राईले करातेमा कांस्य पदक जितेकी थिइन्। उनी करातेमा अन्तर्राष्ट्रिय पदक जिताउने पहिलो नेपाली खेलाडी हुन्।

दक्षिण एसियाली खेलकुद (साग) को झण्डै ४ दशक लामो इतिहासमा एथ्लेटिक्समा सन्तोषी श्रेष्ठ स्वर्ण पदक जित्ने पहिलो महिला हुन्। उनले सन् २०१९ मा स्वदेशमा भएको १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्णपदक जितेकी थिइन्। 

८ सफल महिला खेलाडी जसले आफूलाई अब्बल प्रमाणित गरे 

सर्वाधिक सफल सविता राजभण्डारी (तेक्वान्दो)
सविता राजभण्डारी तेक्वान्दोकी अहिलेसम्मकै सर्वाधिक सफल खेलाडी हुन्। सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा उनले जितेको रजत पदक एसियाडमा अहिलेसम्मकै व्यक्तिगत ठूलो पदक हो। 

यसअघि सन् २०१८ मा नेपालले इन्डोनेसियामा भएको जकार्ता एसियाडमा टिम इभेन्टमा रजत पदक जितेको थियो। 

यद्यपि व्यक्तिगत स्पर्धामा अहिलेसम्म पनि राजभण्डारीको कीर्तिमान कुनै खेलाडीले तोड्नसकेका छैनन्। जब जब नेपाली खेलकुदमा एसियाली खेलकुदको चर्चा हुन्छ सविताको नाम सबैभन्दा पहिले लिइने गरिन्छ। 

किनकि एसियाली खेलकुदमा अहिलेसम्म नेपाललाई रजत पदक दिलाउने पहिलो नेपाली एक्ली महिला खेलाडी यिनै हुन्। 

एसियाडमा रजत पदक जितेपछि सविताले १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जितेकी थिइन्। 

अहिले नेपाली खेलकुदबाट टाढा भए पनि खेलाडीको आवश्यकता पूरा गर्न उनले सहयोग गरिरहेकी हुन्छिन्। 

ओलम्पियन संगिना वैद्य (तेक्वान्दो) 
नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिनथालेको थियो। तर नेपाली खेलकुदमा ओलम्पिकको चर्चा सन् २००४ को एथेन्स ओलम्पिकपछि हुने गरेको छ। 

कारण नेपालको इतिहासमा पहिलोपटक छनोट चरण पार गरेर नेपाली खेलाडी ओलम्पिकमा सहभागी थिए। त्यो गर्विलो इतिहास रच्ने तेक्वान्दो खेलाडी हुन्, संगिना वैद्य। 

त्यसअघि कुनै खेलाडीने छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिएनन्। त्यसअर्थ पनि आफ्नो पुस्ताकी सबैभन्दा सफल तेक्वान्दो खेलाडी हुन् संगिना। 

दक्षिण एसियाली खेलकुद (साग) को दुई पटकको स्वर्ण पदक विजेता संगिना, तेक्वान्दोको एसियन च्याम्पियनसिप जित्ने एक्लो नेपाली समेत हुन्। स्वदेशमा १९९९ मा भएको आठौँ सागमा स्वर्ण जित्नुअघि नै उनी एसियन च्याम्पियन भइसकेकी थिइन्। १९९६ मा अष्ट्रेलियाको मेलबर्नमा भएको एसियन च्याम्पियनसिपमा स्वर्ण जितेपछि उनी चर्चामा आएकी थिइन्। 

सन् १९९८ मा बैंकक एसियाडमा उनले पदक जित्छिन् भनेर धेरैले आशा गरेका थिए। तर त्योअघि नै दुर्घटनामा पर्दा उनले एसियाड गुमाउनुपर्यो। संगिनाकै समकालीन तेक्वान्दोकै सविता राजभण्डारीले देशका लागि पहिलो रजत पदक जितेर इतिहास रचिन्। 

पाकिस्तानमा भएको नवौँ सागमा उनले पुनः देशका लागि अर्को स्वर्णपदक जितिन्। तर सन् २०१० मा श्रीलंकामा भएको दशौँ सागमा भने त्यो सफलतालाई निरन्तरता दिन सकिनन्। जसको कारण स्वर्णमा ह्याट्रिक गर्ने उनको योजना पूरा हुन सकेन। त्यसपछि भने उनले खेल जीवन अन्त्य गरेर पूर्ण रुपमा प्रशिक्षकको रुपमा सक्रिय भइन्। 

२५ वर्षदेखि सक्रिय तारादेवी पुन (भारोत्तोलन) 
भारोत्तोलनकी तारादेवी पुन नेपाली खेलकुदमा अर्की सफल महिला खेलाडी हुन्। २०५४ नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदपछि उनी भारोत्तोलनमा लगातार नेपाल च्याम्पियन बनेकी छिन्। 

नवौँ राष्ट्रिय खेलकुदमा ३ राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी तारादेवी २५ वर्षदेखि लगातार सक्रिय खेल जीवन बिताइरहेकी छिन्। 

२०५८ सालदेखि भारोत्तोलनको प्रशिक्षण सुरु गरेकी उनको खेल जीवनने अझै उचाइ लिइरहेको छ। नेपाल पुलिस क्लबकी उनले भारोत्तोलन अघि भलिबल खेल्थिन्।  

म्याग्दीमा जन्मिएकी तारादेवीले १ सय केजीमाथि भार उठाउने पहिलो नेपाली खेलाडी समेत हुन्। 

२०१८ को एसियाडमा उनले ७६ केजी तौल समूहमा स्पर्धा गरेकी थिइन्। क्लीन एण्ड जर्कमा १०१ केजी भारवहन गरेकी उनले त्यसको भोलिपल्ट १०२ केजी भार वहन गरिन्। 

२०१९ मा घरेलु मैदानमा भएको १३औँ सागमा उनले लक्ष्मी वन विष्टको कीर्तिमान आफ्नो नाममा गरेकी थिइन्। 

जुम्लाकी देवु थापा (जुडो)
जुडोकी ओलम्पियन देवु थापाले दक्षिण एसियाली खेलकुद (साग)मा रजत र कांस्य पदक जितेकी थिइन्। हाल नेपाल पुलिसको प्रहरी निरीक्षकका सेवा निवृत्त भइसकेकी देवुले २०५२ सालमा खेल जीवन सुरु गरेकी थिइन्।

जुम्लामा जन्मिएकी थापाले खेल र प्रहरी जीवनलाई सँगै अघि बढाएकी छिन्। अहिले नेपाल पुलिस क्लबको प्रशिक्षक समेत रहेकी देवु १०औँ साग (श्रीलंका २००६) मा रजत जितेपछि असइमा बढुवा भएकी थिइन्। 

बंगलादेशमा ११औँ सागमा भाग लिने क्रममा बसेको होटलको लिफ्टबाट १० तलामाथिबाट खसेर घाइते भएकी देवुले चोटका बाबजुद कांस्य पदक जित्दै आफ्नो साहसको परिचय दिएकी थिइन्। त्यसपछि उनी छ महिना अस्पताल बस्नुपरेको थियो। थापाले सन् २००८ को बेइजिङ ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। 

नयाँ पुस्ताकी प्रेरणा आयशा शाक्य (तेक्वान्दो) 
नेपाली खेलकुद इतिहासमा सफल महिला खेलाडीको चर्चा गर्दा आयशाको नाम छुट्यो भने त्यो अपूरो हुनेछ। 

सन् २००६ मै एसियाली खेलकुद कांस्य पदक जितेकी आयशाले सागका यसअघिका संस्करणमा एक स्वर्ण र एक रजत पदक जितेर खेल जीवनलाई सफल बनाइसकेकी थिइन्। तर उनको खेल्ने इच्छा भने मरिसकेको थिएन। 

२ छोराकी आमा आयशाले १३औँ सागमा पुनरागमन मात्र गरिनन्, दुई स्वर्ण पदक समेत जितिन्। नयाँ पुस्ताको प्रेरणाकी स्रोत बनेकी आयशाले सागमा पहिलो पटक समावेश पुम्सेमा एकल र जोडीमा स्वर्णपदक जित्दै इतिहास रचिन्। १३औँ सागमा गौरिकापछि दोहोरो स्वर्ण पदक जित्ने आयशा एक्ली महिला खेलाडी हुन्। 

स्वर्ण जितेकी सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
घरेलु मैदानमा २०७६ मा भएको १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्णपदक जितेपछि सन्तोषी श्रेष्ठको विशेष चर्चा हुने गरेको छ। 

साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको त्यो नै पहिलो स्वर्णपदक हो। त्यसअघि सन् २००६ मा श्रीलंकामा भएको १०औँ सागमा कान्छिमाया कोजुले १० हजार मिटर दौडमा रजत पदक जितेकी थिइन्। 

उनै सन्तोषीले गण्डकी प्रदेशको पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पाँच हजार मिटर दौडमा स्वर्णपदक जितिन्। बागमती प्रदेशकी सन्तोषीले त्यसयताका घरेलु प्रतियोगितामा दोस्रो हुनुपरेको छैन। 

जलपरी गौरिका सिंह (पौडी) 
जलपरीको रुपमा परिचित गौरिका सिंह सानै उमेरमा सफलतालाई पछ्याउने अर्की महिला खेलाडी हुन्। 

१३औँ सागको पौडीमा गौरिकाले नेपाललाई पहिलोपटक स्वर्णपदक मात्र जिताइनन्, एकै संस्करणमा सबैभन्दा बढी पदक जित्ने इतिहास पनि रचिन्। 

सागमा उनले ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितिन्। पहिलो खेलमा नै राष्ट्रिय कीर्तिमान बनाएकी उनले त्यसपछि थप नयाँ—नयाँ कीर्तिमान थप्दै गइन्। एकै सागमा ४ स्वर्णपदक जित्ने एक्ली कीर्तिमानी खेलाडी समेत हुन् गौरिका। 

भारतको गुवाहाटीमा भएको १२औँ सागमा उनले चार स्पर्धामा उनले एक रजत र तीन कांस्य पदक जितेकी थिइन्। पौडीमा रजत जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन्।

सन् २०१६ कै रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडीको रुपमा गौरिकाले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। त्यति बेला उनले १३ वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाउने सबैभन्दा कम उमेरकी खेलाडीको कीर्तिमान समेत राखेकी थिइन्।

बेलायतमा बस्दै आएकी ओलम्पियन गौरिकाले २०७५–७६ मा नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा १२ स्वर्णपदक जितेकी थिइन्।

पोखरामा भएको नवौँ खेलकुदमा गौरिकाले ५ स्वर्ण र १ रजत पदक जितिन्। उनले अस्वस्थताका कारण धेरै इभेन्ट छाडेकी थिइन्।

 

गोलमेसिन सावित्रा भण्डारी साम्बा (फुटबल)
राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी पछिल्लो पुस्ताकी सफल खेलाडी हुन्। 

सावित्रा फुटबलमा भने साम्बा नामबाट परिचित छिन्। ४२ खेलमा ४२ गोल गर्दै राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान साम्बाकै नाममा छ। मैदानमा उनको दौडने शैली, विदेशी खेलाडीलाई गर्ने ‘ट्याकल’ कुनै पुरुष खेलाडीको भन्दा कम छैन। 

लमजुङमा मोजाको बल खेल्दै हुर्केकी साम्बाले जिल्ला र प्रदेशमा छनोट नखेली सिधै विभागीय टोली एपीएफ फुटबल क्लबमा आबद्ध भइन्। 

घरेलु फुटबल खेल्न थालेको छोटो समयमा नै उनले राष्ट्रिय टोलीको यात्रा तय गरिन्। सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बाले दक्षिण एसियाकै उत्कृष्ट फरवार्डको परिचय बनाएकी छिन्। 

सन् २०१८–१९ मा माल्दिभ्समा पुलिस क्लबबाट फुटसल खेल्दै व्यावसायिक खेल जीवन सुरु गरिन्। यस्तै सन् २०१८–१९ मा भारतमा भएको आई लिगमा सेथु एफसीलाई तथा २०१९–२० मा गोकुलम केरला एफसीलाई च्याम्पियन बनाउँदा उनी सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन्।  

यस्तै २०७८ सालमा नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्ट्स अवार्डमा दशक उत्कृष्ट महिला खेलाडी समेत बन्न सफल भएकी थिइन्। 

सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा साम्बाले १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भएकी थिइन्।

२०१६ मै भएको सातौँ राष्ट्रिय खेलकुद, २०१९ मा भएको साफ च्याम्पियनसिप तथा भारतमा भएको हिरो वुमन्स गोल्डकपमा समान ४ गोल गर्द सर्वाधिक गोलकर्ताको उपाधि समेत आफ्नो नाममा गरेकी थिइन्। 

पछिल्लो समय २०२१ मा भएको महिला लिगमा उनी आबद्ध एपीएफ क्लब च्याम्पियन बन्दा ४३ गोल गर्दै साम्बा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .