शहिद स्मारक ए डिभिजन लिगको छैटौँ चरणको पहिलो खेलमा संकटा क्लब र एफसी खुमलटार भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार छैटौँदेखि १३ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो।
सोमबारदेखि सुरु हुने छैटौँ चरणका खेल च्यासल र एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ। सातौँ चरणदेखिका खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ।
छैटौँ चरणको पहिलो दिन दुई खेल हुनेछ। सोही दिनको दोस्रो खेलमा विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लब भिड्नेछन्। यो खेल च्यासल मैदानमा दिउँसो दुई बजे सुरु हुनेछ।
मंगलबार एनआरटी र चर्च ब्वाइज च्यासल मैदानमा खेल्दा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब एन्फा मैदानमा हुनेछ।
बुधबार मछिन्द्र एफसीले हिमालयन शेर्पासँग एन्फा मैदानमा खेल्दा आर्मीले थ्रीस्टारसँग च्यासल मैदानमा खेल्नेछ। दुवै खेल दिउँसो २ बजे सुरु हुनेछ।
छैटौँ चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लवले फ्रेण्ड्स क्लबसँग च्यासल मैदानमा दिउँसो २ बजे खेल्नेछ।
प्रतिक्रिया