रित गौतमको उत्कृष्ट ब्याटिङ र सन्दीप लामिछानेको घातक बलिङमा पोखरामा आज बिहिबारदेखि सुरु केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ।
पोखरा रगंशालास्थित क्रिकेट मैदानमा भएको समूह ए को खेलमा बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो १ सय ९ रनले पराजित भएको हो।
बागमतीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको एकेडेमी रातोले १४.२ ओभरमा ७५ रन बनाउँदा अलआउट भयो।
एकेडेमीका लागि ओपनर तथा कप्तान अमर मिश्रले १३ रन बनाएर क्याच आउट भए। विजय प्रजापतिले १३ रन थपे। सन्तोष यादव १२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लू धरापमा परे।निर्मल थापाले १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
आयोजक टोलीलाई कम स्कोरमा रोक्न सन्दीप एक्लैले चार विकेट लिए। ४ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चे।

सुवास खत्रीले ३ विकेट लिए। प्रतिश जिसीले २ तथा रिजन ढकालले एक विकेट आफ्नो नाममा गरे।
एकेडेमीको रातो टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।
बागमतीका ओपनर शुभ कंसाकार २७ रनमा रन आउट भए। अर्का ओपनर रित गौतम ७४ रन बनाउँदा रन आउट नै हुन पुगे। रितले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
विस्फोटक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले ४ बलमा ३ छक्का हान्दै १८ रन बनाउँदा क्याच आउटमा पुगे। प्रतीक श्रेष्ठले १४ रनमा बोल्ड गरे। गौरव खड्का १७ रनमा अविजित रहे।
एकेडेमी रातोका लागि बिप्रशन केसी एक्लैले ३ विकेट लिए। सन्देश थापा र सन्तोष यादवले समान एक विकेट लिए।
Shares

प्रतिक्रिया