खेल


छनोट भएर पनि एसिया कप खेल्न नपाएको त्यो बेला

छनोट भएर पनि एसिया कप खेल्न नपाएको त्यो बेला

यज्ञराज जोशी
फागुन १६, २०७६ शुक्रबार १३:५१,

सन् १९९६ मा भएको एसियन क्रिकेट काउन्सिल(एसीसी)ट्रफीबाट नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो।

एसीसीले आफ्नो एसोसियट र एफिलिएटेड सदस्यबीच यो प्रतियोगिता आयोजना गर्थ्यो। यसको महत्व के थियो भने शीर्ष दुईमा पुग्ने टोली टेस्ट राष्ट्रसमेत सामेल हुने एसिया कप खेल्न पाउथेँ।

नेपालले २००२ मा भएको एसीसी ट्रफीको शीर्ष दुईमा रहँदै पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको थियो। दश टोली सहभागी प्रतियोगिताको फाइनल पुगेका नेपाल र यूएई एसिया कपमा सामेल भएका थिए।

तर, बिडम्बना भारत–पाकिस्तानबीचको राजनीतिक समस्याका कारण २००३–४ मा हुनुपर्ने एसिया कप भएन र नेपालको पहिलो एसिया कप खेल्ने सपना अधुरै रह्यो।

त्यसयता एसियाली क्रिकेटको यो शीर्ष प्रतियोगिता खेल्ने नेपालको प्रयास हरेक पटक असफलतामा टुंगिने गरेको छ। पछिल्लो पटक दुई वर्षअघि नेपालले एसिया कप छनोट खेलेको थियो। ६ मध्ये शीर्ष स्थानमा रहने टोली एसिया कपमा छनोट हुने प्रावधान थियो। तर, चौथो भएपछि नेपाल एसिया कपमा छनोट हुन सकेन।

नेपालले फेरि एसिया कप खेल्ने अभियान शनिबारबाट थाल्दैछ। त्यसको पहिलो खुड्किलो हो, थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगिता। बिहीबार राति नै बैंकक पुगिसकेको नेपाली टोलीले शुक्रबार त्यहाँ अभ्यास गरेको थियो।

87762656_3231826743547559_81795792431480832_o.jpg

५ टोली रहेको यस प्रतियोगिताका शीर्ष दुईमा रहने टोलीले अगस्टमा मलेसियामा हुने एसिया कप छनोट खेल्नेछन्। सो प्रतियोगतामा इस्टर्न रिजनका शीर्ष दुई र वेस्टर्न रिजनबाट आएका कुवेत र यूएईसँग खेल्नुपर्नेछ। त्यसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ।

उद्घाटनकै दिन नेपालले मलेसियासँग खेल्दै इस्टर्न रिजनको उद्घाटन गर्दैछ। २००२ मा छनोट भएर पनि भारत–पाकिस्तान तनावका कारण एसिया कप खेल्न नपाएका पूर्व कप्तान विनोद दास भविष्यको क्रिकेटका लागि भएपनि यस प्रतियोगितामा राम्रो गर्नुपर्ने मान्छन्।

‘अगाडि बढ्ने हो भने हामीले यो प्रतियोगितामा राम्रो गर्नुको विकल्प छैन,’ दासले भने, ‘टिमले त्यही हिसाबले तयारी गरेको होला भन्नेमा म ढुक्क छु। हामीले अघिल्लो संस्करण राम्रो गरेका छैनौं। आशा छ यसपाला राम्रो नतिजा आउनेछ।’

यसै प्रतियोगितामार्फत थाइल्यान्डमा औपचारिक टी–२० अन्तर्राष्ट्रिय खेल पहिलोपटक हुन लागेको हो। बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा शनिबारदेखि एकहप्ता यो प्रतियोगिता चल्नेछ। जसमा एसियाको पूर्वी क्षेत्रका पाँच प्रतिस्पर्धी टोली थाइल्यान्ड, नेपाल, सिंगापुर, हङकङ र मलेसिया आपसमा भिड्नेछन्।

प्रतियोगितामा सहभागी देशमध्ये नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को टी–२० वरियतामा सबैभन्दा माथि छ। नेपाल १२औं स्थानमा रहँदा हङकङ २०, सिंगापुर २१, मलेसिया ३९ र थाइल्याण्ड ६५औं स्थानमा छन्।

87991046_3231829320213968_4082715337991127040_o.jpg

पूर्वकप्तान दास भने वरियतामा अरु टोली नेपालभन्दा कमजोर देखिएपनि टी–२० फम्र्याटमा नतिजाको आकलन गर्न नसकिने बताउँछन्।

‘टी–२० फर्म्याटमा राम्रो टिमले पनि प्रदर्शनका लागि संघर्ष गरिरहेका हुन्छन्,’ दास भन्छन्, ‘नेपालको तुलनामा इस्टर्न रिजनमा खेल्ने अरु टिम बलिया देखिदैँनन्। तर, ती कमजोर आक्नुपर्ने पनि होइनन्। हामीलाई मलेसिया, हङकङले हराइसकेको छ। अहिले उनीहरु केही कमजोर देखिएका होलान् तर त्यसमा हामी सजग हुनुपर्छ।’

यसै फेब्रुअरीको सुरुवातमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग कीर्तिपुर मैदानमा २–२ वटा खेल खेलेको थियो। ओमानसँग दुवै खेल गुमाएपनि नेपालले अमेरिकाविरुद्धको दुवै खेल जितेको थियो।

फेब्रुअरी १२ मा उक्त शृंखला सकिएलगत्तै नेपालले टोली घोषणा गर्दै एक हप्ता त्रिवि मैदानमा बन्द प्रशिक्षणसहित प्रतियोगिताको तयारी गरेको हो।

कप्तान ज्ञानेन्द्र मल्ल टोलीको तयारीबाट सन्तुष्ट छन्। सिंगापुर उड्नुअघि उनले उपाधि उचाल्ने लक्ष्य सुनाए।

‘तयारी राम्रो भयो। लगातार क्रिकेट खेलिरहेका थियौं। खेलाडीहरु तयार छन्,’ ज्ञानेन्द्र भन्छन्, ‘हाम्रो उदेश्य कप जित्ने हो। त्यहाँबाट छनोट हुने र एसिया कपमा खेल्ने लक्ष्यसहित हामी सिंगापुर जादैछौं।’

यसपटक टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, अनुभवी ब्याट्सम्यान शरद भेषवाकर र वसन्त रेग्मी छैनन्। कप्तान ज्ञानेन्द्र, पूर्व कप्तान पारस खड्का र विकेटकिपर विनोद भण्डारी बाहेक सबै खेलाडी युवा छन्।

87628382_3231826436880923_5984322205763239936_o.jpg

स्पिनर भुवन कार्की, पवन सर्राफ र सन्दीप जोराले टोलीमा पुनरागमन गरेका छन् भने तीव्र गतिका बलर किशोर महतोले पहिलो पटक टोलीमा स्थान पाएका छन्।

कप्तान ज्ञानेन्द्र मल्लले भविष्यलाई हेरेर नयाँ खेलाडीलाई बढीभन्दा बढी मौका दिएको बताए। ‘नयाँ खेलाडी क्षमता भएरै आएका हुन्। अहिले क्रिकेट संक्रमणकालीन आवस्थामा छ। हामीले २०२२ सम्मलाई तयार हुनुपर्छ। त्यसैले धेरै खेलाडीलाई अवसर दिनुपर्छ,’ ज्ञानेन्द्रले भने।

सन्दीप लामिछाने यस प्रतियोगितामा सबैको नजरमा हुनेछन्। नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपले यसै महिना कीर्तिपुरमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका क्रममा अमेरिकाविरुद्ध करिअरकै उत्कृष्ट ६ विकेट लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad