खेल


साफ महिला च्याम्पियनसिपः नेपाललाई रजतको इतिहासबाट माथि उठ्ने अवसर

अहिले नजिते कहिले सक्ने?
साफ महिला च्याम्पियनसिपः नेपाललाई रजतको इतिहासबाट माथि उठ्ने अवसर

लक्ष्मी जि.सी
असोज ३०, २०८१ बुधबार १९:५९, काठमाडौँ

नेपालले लगातार तेस्रोपटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दै छ। विसं २०७५ सालमा विराटनगरमा र २०७९ मा दशरथ रगंशालामा भएको साफ च्याम्पियसिप भएको थियो। २०८१ मा आइपुग्दा तेस्रोपटक साफ च्याम्पियनसिप आयोजना गर्ने मौका पाएको नेपाली टोली यसपालि उपाधिको खडेरी तोड्ने प्रयासमा छ। 

करिब २ साताको तयारीमा नेपाली टोली साफका लागि मैदान उत्रँदै छ। नेपालले पहिलो खेल शुक्रबार भुटानविरुद्ध खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।

भुटानविरुद्धको खेलमा टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित हुनेछिन्। व्यावसायिक लिगका लागि फ्रान्समा रहेकी साम्बा शनिबार आफ्नो क्लबको खेलपछि मात्र नेपाल फर्कने छिन्। टोलीकी अर्की फरवार्ड रेखा पौडेल भने मंगलबार स्वदेश फर्किएर टोलीसँगै प्रशिक्षणमा जुटेसकेकी छिन्। 

टोलीकी कप्तान तथा नियमित गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले आफूहरू उपाधिका लागि नै मैदान उत्रने बताएकी छिन्। 

एञ्जिालाले भनिन्, ‘छोटो समयको तयारी भए पनि महिला लिगका कारण अभ्यासमा केही सहयोग पुगेको छ। नेपाली टोली सन्तुलनमा रहेकाले उपाधिका लागि नै खेल्नेछौँ। 

अनुभवी खेलाडीको साथ रहेको नेपाली टोलीलाई राजेन्द्र तामाङले प्रशिक्षण दिइरहेका छन्। तामाङले गत फागुनदेखि टोली सम्हालिरहेका छन्। 

तामाङको प्रशिक्षणमा नै नेपालले गत फागुनमा वाफ महिला च्याम्पियनसिप खेलेको थियो। आमन्त्रित टोलीका रुपमा वाफ च्याम्पियनसिप खेलेको नेपालले त्यसको ८ महिनापछि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाएको हो। 

साफ च्याम्पियनसिपका लागि लेबनानमा सेडास कप खेल्ने तयारीमा रहेको नेपाली टोलीले भिसा र टिकटको प्रक्रिया अघि बढाएपछि प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो। 

प्रशिक्षक तामाङले साफको तयारीका लागि य्ुवा खेलाडीलाई समेट्दै प्रारम्भिक टोली घोषणा गरेका थिए। यद्यपि अन्तिममा भने उनले पुरानै अनुहारलाई प्राथमिकता दिँदै टोली बनाए। साफका लागि घोषित टोलीमा नयाँ अनुहारमा डिफेन्डर सजनी थोकर मात्र छिन्। 

आफ्नो रणनीतिअनुसार खेल्नका लागि लामो समय लाग्ने र नयाँ खेलाडीसँग तालमेल गर्न केही गाह्रो हुने भएकाले अनुभवी खेलाडीलाई नै प्राथमिकता दिएको प्रशिक्षक तामाङले बताए। पुराना खेलाडीले अनुभवका आधारमा पनि खेल्न सक्ने भएकाले आफ्नो प्राथमिकतामा परेको तामाङको भनाइ छ। 

साफ च्याम्पियनसिपको सातौँ संस्करणसम्म आइपुग्दा नेपालले पाँचपटक फाइनल खेलेको छ। यद्यपि, उपाधि जित्न भने सकेको छैन। 

अघिल्लो संस्करण बंगलादेशसँग ३–१ ले पराजित हुँदै नेपाल घरेलु मैदानमा नै उपविजेता बनेको हो। साफको इतिहासमा भारतलाई हराउन सके च्याम्पियन बन्न सकिन्छ भन्ने धेरैको आकलन अघिल्लो संस्करण आएर तोडिएको थियो। सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै नेपालले साफमा ऐतिहासिक जित निकालेको थियो। च्याम्पियनसिपकै ऐतिहासिक जितका साथ फाइनल खेलेको नेपाल बंगलादेशसँग भने स्तब्ध बन्न पुगेको थियो। र, बंगलादेश दक्षिण एसियामा नयाँ शक्तिका रूपमा उदाएको थियो। 

यसपालि नेपाल केही सहज समूहमा परेको छ। यद्यपि, सेमिफाइनलमा फेरि भारत र बंगलादेशमध्ये एकलाई प्रतिद्वन्द्वीका रूपमा पाउनेछ। त्यसैले नेपाललाई साफको उपाधिनजिक पुग्न त्यति सहज भने छैन। 

यद्यपि, घरेलु मैदानमा नेपाली टोलीले पहिला नै आत्मविश्वास गुमाइहाल्नुपर्ने अवस्था भने छैन। चोटका कारण टोलीबाहिर रहेका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बुले पुनरागमन गरेका छन्। त्यसैले पनि नेपाली टोली थप बलियो बनेको छ। 

चोटपछि पुनरागमन गरेकी अनुभवी खेलाडी रेनुका घरेलु मैदानमा दोस्रोपटक साफ खेल्दै छिन्। अघिल्लो संस्करण उनले चोटकै कारण गुमाएकी थिइन्।

उनी भन्छिन्, ‘विराटनगरपछि काठमाडौँमा खेल्न लागेकी हुँ। त्यहाँभन्दा यहाँ माहोल फरक हुने रहेछ।’

चोटका कारण रेनुकाले मुख्य दुई प्रतियोगिता गुमाइन्। उनी भन्छिन्, ‘हरेकपटक हामी जित्छौँ भन्छौँ र रजतमा नै चित्त बुझाउनुपर्ने हुन्छ। यसपटक टोली ब्यालेन्समा छ। त्यसैले जित्छौँ भन्ने लाग्छ।’ 

अर्की मिडफिल्डर सरु भन्छिन्, ‘आफ्नो ठाउँमा प्रतियोगिता हुन लागेको छ। त्यसैले उत्साहित छौँ। सबैको एउटै सपना छ, स्वर्ण पदक जित्ने। एउटै सपना बोकेर हिँडेका छौँ। त्यसैले आशा छ, यसपालि सफल हुनेछौँ।’ 

चोटका कारण वाफ खेल्ने टोलीबाट बाहिर रहेकी सरु उपाधि जित्नेमा ढुक्क छिन्। टोलीका मुख्य फरवार्डद्वय साम्बा र रेखासँग विदेशी लिगको अनुभव छ। रेखा र साम्बाको अनुभवसँगै सिनियर र जुनियर खेलाडीको सन्तुलनले उपाधि जित्नेमा सरु विश्वस्त भएकी हुन्।

साफको हरेक संस्करणमा नेपाललाई उपाधि दाबेदार टोलीको रूपमा हेरिन्छ। तर फाइनलनजिक पुगेर पनि हरेकपटक उपाधिबाट वञ्चित भएको छ। मुख्य खेलमा नेपालको डिफेन्सिभ लाइनमा समस्या देखिन्छ। खेलाडीबीच तालमेल नमिल्दा नेपालले गोल खाँदै आएको छ। गोल खाएपछि दबाब खेप्न नसक्ने महिला टोलीको मुख्य समस्या हो। यसपालि नेपालले त्यो समस्यालाई हटाउँदै उच्च मनोबलमा मैदानमा डटिरहन आवश्यक छ। 

त्यसका लागि भने खेलाडीले मात्र प्रयास गरेर पनि पुग्दैन। सम्बन्धित निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि अन्तर्राष्ट्रिय एक्पोजर दिन जरुरी छ। खेलाडीलाई धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलाउन सके र ग्रासरुटबाट नै खेलाडी उत्पादन गर्न सके महिला टोली सशक्त बन्नेछ।

महिला फुटबलमा अहिलेको पुस्तालाई स्वर्णिम पुस्ताको रूपमा लिइन्छ। त्यसैले खेल क्षेत्रको बुझाइ छ- अहिले साफ जित्न नसके कहिले जित्ने? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad